
अशाेक चेम्जाेङ्
मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती बसाल्दै धान, कोदो, फापर, कागुनो लगायत अन्य अन्नबाली उत्पादन गर्न थाले । यद्यपि याक्थुङ लिम्बुहरुले कृषि कहिलेदेखि सुरु ग¥यो भन्ने निश्चित कालखण्ड उपलब्ध छैन, पुरातात्त्विक, मानवशास्त्रीय अध्ययनको आधारमा भने कम्तीमा ३ हजार वर्ष पहिलेदेखी पूर्वीय हिमालयन क्षेत्रमा कृषि परम्परा विकसित भएको मानिन्छ ।
याक्थुङ लिम्बु शास्त्र मुन्धुम अनुसार भूमि, पानी, बीउ, वन र अन्नलाई जीवनको आधार मानेको छ । यसरी याक्थुङ लिम्बू समुदाय प्रकृति बिना जिवनको कल्पना गर्नसम्म सक्दैन । कृषि आर्थिक क्रियाकलाप मात्रै होइन । धार्मिक, सांस्कृतिक र नैतिक दायित्व पनि मानेर आएको देखिन्छ । यिनै कारण खेती सुरु गर्दा सिसेक्पा तङ्नाम व्यापक मनाउने र नयाँ अन्न भित्र्याउदा चासोक तङ्नाम मनाउने परम्परा विकास भएको देखिन्छ ।
सिसेक्पा तङ्नाम (औचित्य)ः बीउसंग गरिएको प्रतिज्ञा (प्रार्थना)
याक्थुङ लिम्बू समुदायमा सिसेक्पा तङनाम (साउने सङ्क्रान्ति) लाई ’साक्नाःमा’ अर्थात अनिकाल खेदाउने सांस्कृतिक प्रदर्शनको रूपमा हेरिन्छ ।
समुदायमा यसको गहिरो सांस्कृतिक र आध्यात्मिक अर्थ रहेको छ ।
’साक्नाःमा’ को मूल उद्देश्य गाउँ, खेतबारी र समुदायबाट अनिकाल, रोगव्याधि, दुष्ट शक्ति, विपत्ति , नकारात्मक ऊर्जा प्रतीकात्मक रूपले लखेट्नु पनि हो । यो अनुष्ठानको माध्यम आउँदो खेतीको सुभारम्भ अघि भूमिको सम्मान, बीउको संरक्षण, वर्षाको कामना गर्दै सफल खेतीको प्रार्थना गरिन्छ । मानिस र पशुचौपायाको स्वस्थ, समुदायमा समृद्धि र सुख, शान्ति होस् भन्ने सामूहिक कामना गरिन्छ ।
मुन्धुमले मानिसहरुलाई प्रकृतिको मालिक नभएर, प्रकृतिको एक सदस्यको रूपमा व्यवहार गर्न सिकाउँछ।यसैले याक्थुङ लिम्बुहरु खेती सुरु गर्नु अगाडि माटो र प्रकृतिसँग अनुमति माग्ने सांस्कृतिक अभ्यास विकसित भएर गएको मानिन्छ ।
चासोक तङ्नामः अन्नप्रतिको कृतज्ञता (प्रकृतिलाई धन्यवाद)
अहिले पनि लिम्बू याक्थुङ समुदाय गाउँ घरमा कहिबाट बजार भरेर आउँदा मासु, केही खानेकुरा ल्याएर आउदा वा खाना खान अगाडि खोलाखोल्सी, देबि देउराली र भुतप्रेतको नाममा चडाएर खाने गर्छ। यसरी प्रकृति, अध्यात्म संसार र समाजलाई सर्बोपरी मान्दै आएको छ ।
जब धानको बाला पाक्छन् र अन्न भित्राइन्छ, अनि चासोक तङ्नाम मनाइन्छ । नयाँ अन्न पहिले तागेरा निङ्वाफुमाङ, प्रकृति र पुर्खालाई अर्पण गरिन्छ । तत्पश्चात मात्र परिवारले नयाँ अन्न ग्रहण गर्ने गर्छ । यसले अन्नलाई वस्तु रूपमा मात्र नभएर, जीवनदाता वरदानको महान रूपमा सम्मान गर्ने याक्थुङ दर्शन छ ।
धान नाँच (याःलाङ) को विकासक्रम
याक्थुङ लिम्बु समुदायको धान नाच (याःलाङ) कृषि सभ्यताको विकाससँग गहिरो गरेर जोडिएको सांस्कृतिक अभिव्यक्ति रुप हो । धान काट्ने, अन्न बाली भित्र्याउने र वर्षभरको परिश्रम सफल भएपछि , सामूहिक गरि भेला भई नृत्य र पालामको माध्यम देखि खुसी साटासाट गर्ने परम्परा बाट धान नाच विकसित भएको देखिन्छ ।
धान नाँचको विशेषताः–
सामूहिक नृत्य,पालाम (प्रश्न–उत्तर शैलीको गीत) गाउने ।
युवायुवती बीच परिचय, प्रेम, हास्य, दर्शन र जीवनको अनुभव पालमको माध्यम बाट आदान–प्रदान गरिन्छ । समुदायको एकता र सहकार्यलाई बलियो बनाइन्छ ।
अहिले धान नाचलाई मनोरञ्जनको दृस्ठिकोणले हेरिए पनि सफल कृषिको उत्सव, सामाजिक सम्बन्धको फैलावट र सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने सजिलो माध्यम पनि हो । याक्थुङ लिम्बू समुदायले कृषिलाई अत्यन्तै महत्व दिदै मानव जिवनको मुल जड, उत्सवको रुपमा लिएको देखिन्छ ।
मुन्धुम, कृषि र विज्ञानबाट ः–
अहिले आधुनिक विज्ञानले दिगो कृषि, जैविक विविधता संरक्षण र जलस्रोत व्यवस्थापनलाई जोड दिएकोछ ।
उहिले मुन्धुमले पनिः भुमि, माटोको सम्मान, पानीको संरक्षण, वनको रक्षा सामिप्यता, सामूहिक श्रम प्रणाली, अन्न प्रतिको सम्मान, जस्तो सिद्धान्तलाई मुल महत्व दिएको छ । यो अर्थमा याक्थुङ लिम्बु कृषि संस्कृति आजको दिनमा वातावरणीय चिन्तनसँग पनि मेल खान्छ ।
याक्थुङ लिम्बू समुदायको कृषि परम्परा, सिसेक्पा तङ्नाम, चासोक तङ्नाम र धान नाँच (याःलाङ) एउटै सांस्कृतिक चक्रका परस्पर गासिएको पक्षहरू हो ।
सिसेक्पा तङ्नाम भनेको खेतीको आरम्भ ।
चासोक तङ्नाम भनेको नयाँ अन्नप्रतिको कृतज्ञता ।
धान नाच (याःलाङ) भनेको सफल कृषि र सामुदायिक जीवनको उत्सवको रूपमा बुझिन्छ ।
याक्थुङ लिम्बू समुदायले मानी आएको परम्पराहरूले, याक्थुङ सभ्यताले हजारौँ वर्षदेखि प्रकृति, कृषि, कला र सामुदायिक जीवनलाई एकीकृत जीवनदर्शनका रूपमा विकास गरेको देखाउँछन् । हामिले हेर्दा सामन्य लाग्न सक्छ तर हजारौं शृजनशिल, ध्यानी, महान पुर्खाहरुले सम्मानित भएर बाच्न बनाएको सिद्धान्त दर्शनहरु हो । जुन आधुनिक युगमा पनि उत्तिकै महत्व राख्दछ ।