लिम्बुवानखबर, ११ जेठ । पूर्वसभामुखहरुले प्रधानमन्त्रीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भन्दै इतिहासकै ठूलो अपराध भएको बताएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरुले प्रधानमन्त्री ओली इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री भएको पनि टिप्पणी गरेका छन् । आज सभामुखले नयाँ बानेश्वरमा बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरुले “जनताको प्रतिनिधिसभालाई पटकपटक आक्रमण गर्नु जनताको अवमूल्यन गर्नु हो” बताएका छन् ।
छलफलका क्रममा उनीहरुले सर्वोच्च अदालतको आदेशको अवमूल्यन गर्दै दोश्रो पटक प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक कदम भएको बताएका छन् । कोरोना महामारी रोक्न सरकारले अन्य दलहरूसँग समन्वय गर्नुपर्ने बेलामा चुनाव घोषणा गरेर पौंठेजोरी खोज्नु अलोकतान्त्रिक भएको टिप्पणी उनीहरुले गरेका छन् ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटा, पूर्व सभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी रहेका छन् भने एमाले संसादीय दलका उपनेता सुवास नेम्वाङ भने सहभागी छैनन् । पूर्व सभामुख तारानाथ रानाभाट र दमननाथ ढुंगाना जुम माध्यमबाट बैठकमा सहभागी भएका थिए ।
प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेर चुनाव घोषणा गरेपछि आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारेमा पूर्वसभामुखहरुसँग धारणा लिन सभामुख सापकोटाले परामर्श गरेको सभामुखको सचिवालय स्रोतले जनाएको छ ।