काठमाडौं, १३ जेठ । आज बिहीबार संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाई हुँदैछ ।
सर्वोच्च अदालतजे जनाए अनुसार आज अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ लागेको हो । ११ वटा संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका रिटहरुको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।
प्रधानमन्त्री केपी ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट दर्ता भएका छन् ।
दोस्रो पल्ट गरिएको संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै र संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पल्ट संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।