लिम्बुवानखबर । प्रदेश २ सरकारले ९ वटा दमकल (अग्नि नियन्त्रक) किनेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ९ वटा दमकल (अग्नि नियन्त्रक) खरिद गरेको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाका अनुसार एउटा दमकलको मूल्य झण्डै ५३ लाख रुपैयाँ पर्न गएको बताए । खरिद गरेको दमकलहरु प्रदेशको आठ जिल्ला प्रशासन कार्यालयलाई एक–एक वटाका दरले प्रदान गर्ने र बाँकी एउटा प्रदेश प्रहरी कार्यालयलाई उपलब्ध गराउने प्रवक्ता कुसवाहाले बताएका छन् ।
चालु आर्थिक बर्षको बजेटमा दमकल खरिदका निम्ति बजेट निकासा भई खरिद गरिएको दमकल बिहीबार अस्थायी राजधानी जनकपुरधाम आइपुगेको मन्त्रालयले जनाएको छ । यद्यपि कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री खरिद गर्नुपर्नेमा बारुण यन्त्र खरिद गरेकोमा प्रदेश सरकारको जनस्तरबाट आलोचला हुन थालेको छ ।
प्रदेश सरकारले यसअघि ५ वटा बस किनेको थियो । तर ति बसहरु किनेको आठ महिना पुग्दा समेत सन्चालन आएको छैन ।