सेसेहाङ चाेङबाङ, सुन्दरहरैचा ।
माेरङ, २६ वैशाख । किरात याक्याथुङ चुम्लुङकाे २६औ राष्ट्रिय चुम्लुङ मोरङको सुन्दरहरैचा नगरपालिकास्थित चुम्लुङ हिममा सुरु भएको छ । २६ र २७ गते दुइ दिनसम्म संचालन हुने यो चुम्लुङ बार्षिक रूपमा नियमित हुने गरेकाे छ । लिम्बू/याक्थुङहरुको साझा तथा सर्वोच्च संस्था कियाचु लिम्बू जातिको हक हित र अधिकारको निम्ति स्थापना भएको संस्था हो ।
लिम्बूहरुको भाषा, लिपि, धर्म संस्कार, संस्कृति र माटोको निम्ति हाल सम्म निरन्तर संघर्ष गरिरहेको छ । पछिल्लो समय लिम्बुवान स्वायत्तता हाम्रो प्रतिबद्धता भन्ने नारा सहित कोशी नाम खारेजी र नो केवलकारको आन्दोलनलाई कियाचुले नेतृत्व गरिरहेको छ ।
सम्पूर्ण राष्ट्रिय चुम्लुङ सदस्य तथा १३ जिल्लाका अध्यक्ष र सचिबहरु प्रतिनिधित्व रहने प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न हुन लागेको उद्घाटन कार्यक्रम लिम्बुवान आन्दोलनका अग्रणी नेता चन्द्रप्रसाद योङयाले पानसमा बत्ती बालेर साथै (के)च्याब्रुङ बजाएर उद्घाटन गर्नुभयाे ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि योङयाले लिम्बुहरु राजनीतिक रूपमा पहिले नै शक्तिसाली थियाैं तर हामी अरुको कुरा सुनेर होइ-होइमा लागेपछि पछि परेको मात्र होइन समाप्त नै हुन खोजेको बताउनु भयाे । लिम्बुवान एउटा ऐतिहासिक भुमि हो । यसलाई शाह वंशले सम्झौता गरेर लालमोहर गरिदिए पछि नेपालमा विलय भएको हो । त्यसैले यसको दर्विलो ऐतिहासिकता रहेको प्रष्ट पार्नु भयाे ।
हामीले समृद्ध राष्ट्र निर्माण गर्न अहिलेको शासन सत्तालाई उल्टाउनु पर्छ र यसको लागि सबै जनता सचेत र एकीकृत हुन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा लिम्बु विद्यार्थी मञ्चका महासचिव प्रदीप नेयोङ, कियाचु युकेका निवर्तमान महासचिव जुरेन्द्र खजुम, कियाचुका संघीय सल्लाहकार चन्द्रमाया लिम्बू, मुक्कुम्लुङ संयुक्त संघर्ष समिति संयोजक श्री लिङखिम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा महिला गृहणी भएर पनि कियाचुको हरेक गतिविधि तथा आन्दोलनहरुमा सक्रिय सहभागीता गरेकोमा चन्द्रमाय माबो सुनसरी र बुद्धमाया सङमी इलामलाइ सम्मान-पत्रबाट सम्मान गरिएको थियो ।
राष्ट्रिय चुम्लुङ भोलि सम्म संचालन हुने र विभिन्न नीति तथा कार्यक्रम पारित गर्ने आयोजक संस्थाले जनाइएको छ । उद्घाटन कार्यक्रम किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम संचालन महासचिव निरन्ती तुम्बापाेले गरेकि थिइन् ।