काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको अर्को एक कोरोनाविरुद्धको खोपलाई पनि आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ । चिनियाँ सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओले अनुमति प्रदान गरेको हो ।
चीनमै निर्मित अर्को सिनोफार्म खोपलाई यसअघि नै डब्ल्यूएचओले अनुमति दिएको थियो । डब्ल्यूएचओबाट अनुमति पाएको चीनको सिनोभ्याक कम्पनीको यो खोप १८ वर्ष माथिकालाई मात्र लगाउन मिल्ने सिफारिस गरिएको जनाइएकाेछ । यो खोप पनि दुई डोजनै लगाउनु पर्नेछ । पहिलो डोज लगाएको दुईदेखि चार सातापछि दोस्रो डोज लगाउनुपर्छ ।
यो खोपलाई दुई देखि आठडिग्री सेल्सियस तापक्रममा भण्डार मिल्ने भएको हुँदा घरको चलनचल्तीमा प्रयोग गरिने फ्रिजमा राख्न मिल्ने भएको हुँदा यो खोपलाई विहासोन्मुख देशहरुलाई सहज हुने डब्ल्यूएचओले जनाएको छ । कम तापक्रममा पनि खोप भण्डार गर्न मिल्ने भएको हुँदा सहज हुने विश्वास गरिएको हो ।
डब्ल्यूएचओले सिनोभ्याकले उत्पादन गरेको खोपले सुरक्षा, प्रभावकारिता तथा उत्पादनको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको जनाएको छ । यो खोप लगाएका मानिसहरुमा कोरोना संक्रमण भए अस्पतालमा भर्न हुनुपर्ने अवस्थालाई रोक्ने अध्ययनले देखाएको छ । यो खोप डब्ल्यूएचओले अनुमति दिनु अघि नै चीनका साथै ब्राजिल, चिली, मेक्सिको, इन्डोनेशिया, टर्की र थाइल्याण्ड लगायत देशहरुमा प्रयोग भइसकेको जनाइएको छ ।