दमक/झापा जिल्लामा यहि जेठ १ देखि जारी निषेधाज्ञा निरन्तर भईरहेको छ तर कोरोना संक्रमण भने नियन्त्रणमा आइसकेको छैन । आज बसेको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले जेठ २१ गतेरातीसम्मको निषेज्ञाधामा पुनः थप गर्दै २१ गते राती १२ बजे देखि ३१ गते राती १२ बजेसम्म १० दिन थप गरेको छ ।
हप्तामा २ दिन आइतबार र बुधबार विहान ९ बजेसम्म पसल खोल्न दिने र निर्माण सामाग्रीलाई ओसारपसार गर्न दिने निर्णय गरेसँगै रोकथाम तथा नियन्त्रणमा आउने सम्भावना कम देखिएको छ । व्यवसायी मैत्री बनाउने जिल्ला प्रशासनको निर्णयसँगै संक्रमण फैलनसक्ने जनमानसमा त्रास छाएको छ । जेठ १ गते देखि जारीरहेकाे निषेधाज्ञा जिल्लामा यो चौथोपटक थप गरिएको हो ।
अझैपनि दमकसहित जिल्लाका अधिकांश पालिकामा सक्रिय संक्रमितको संख्या बढिरहेको छ । निषेधाज्ञाको निर्णय अलि खुकुलो बनाउँदै जाने प्रशासनको निर्णय कार्यान्वयनमा कमजोरी हुँदा कोरोना संक्रमण फैलिने त्रास जनमानसमा बढेको छ ।
आजको बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल पसलहरू खुलाउने निर्णय गरेको हो । तर माथि उल्लेखित तोकिएको समय र बारमा मात्र उक्त पसलहरु खोल्न पाइनेछ । अन्यथा सरकारको कोभिड सम्बन्धी जारी अध्यादेश अनुशार कारवाही हुने पनि जनाएको छ ।
यद्यपी सामानहरूको होम डेलिभरी सेवालाई यथावत् राखेर ठुला व्यवसायीलाई बजारमा सामानको आपूर्ति गर्न सहज बनाएको छ । यसले कोरोनाको जोखिम न्यूनिकरण नभई थप बढाउने देखिन्छ ।
विकास निर्माण कार्यलाई निरन्तरता दिन आयोजनासँग सहकार्य गरी निर्माण सामग्री बोक्ने सवारीसाधनलाई स्थानीय तहको सिफारिसमा सञ्चालन गर्न पाउने अनुमति दिईएको छ । योसँगै सडकमा ट्रिपर, ट्रयाक्टर, ट्रक, साना सवारी आदिको आवगमन झनै बढ्ने देखिन्छ । त्यसैगरी वित्तीय संस्था समेत हप्तामा तीन दिन खुलाउने निर्णय भएको छ । यसअघि सातामा दुई दिन मात्रै वित्तिय संस्था खोल्ने निर्णय प्रशासनले गरेको थियो । अब भने वित्तीय संस्थाहरुमा पनि मानिसहरुको आवतजावत बाकलिदै जाने देखिन्छ ।