
पाँचथर। फालेलुङ गाउँपालिकाको लगानीमा निर्मित बृतचित्र (डकुमेन्ट्रि) मा फालेलुङ–३, मच्छेबुङमा रहेको याक्थुङ (लिम्बू) जाति, थेगिमहाङ अन्तरगत केरुङ थारीहरुको माङ्गेन्ना लुङ्धुङ्यक खिबेलुङ (पस्तकेलुङ्)को इतिहासलाई बङ्ग्याउने काम भएको भन्दै केरुङ चोत्लुङ सङ्जुम्भोले आपत्ति जनाएको छ ।
सङ्जुम्भोको केन्द्रीय कार्य समिति र पाँचथर जिल्ला कार्य समितिले मंगलबार फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी गलत इतिहासलाई सच्याउन माग गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाद्वारा बिनियोजित बजेटबाट लोकल सन्देश नामक कम्पनीले निर्माण गरेको गाउँपालिकाको वृतचित्र (डकुमेन्ट्रि)मा केरुङ थरीहरुको माङ्गेन्नायकबारे आधारहीन सामाग्री समावेश गरिएको सङ्जुम्भोको भनाई छ ।
‘डकुमेन्ट्रि बनाउनुभन्दा अगाडि स्थानीय लोकसंस्कृति, परम्परा, इतिहास र मूल्य–मान्यतालाई गम्भिर अध्ययन गरेर मात्र अगाडि बढ्नुपर्नेमा मनोगत र एकाङ्गी, जातीय विद्धेश फैलाउने काम भएको छ’ सङ्जुम्भोले जारी गरेको विज्ञप्तीमा भनिएको छ । पत्रकार सम्मेलनमा सङ्जुम्भोका केन्द्रीय सचिव सुरेन शिशिर केरुङले वृतचित्रका गलत सामाग्रीहरुलाई अविलम्ब हटाउन माग गरे ।
त्यस्तै सङ्जुम्भोले सोबारे विस्तृत अध्ययन गर्न मधुराज केरुङको संयोजकत्वमा सात सदस्सीय कार्यदल समेत गठन गरेको छ । कार्यदल संयोजक केरुङका अनुसार थेगिमहाङ अन्तरगतका जबेगु, हाङसरुम्बा, केरुङ र थक्लिहाङमध्ये केरुङहरुको पुर्खा हाङ्नोयेम खिबेलुङमा गई बसेकाले केरुङ थरीहरुले उक्त स्थानलाई आफ्नो माङ्गेन्ना लुङ्धुङयकको रुपमा पुज्ने र पुकार्ने गर्दछन् ।
वृतचित्रमा खिबेलुङबारे त्रेतायुगका भगवान भीमसेनले किताबको भारी बोकेर पहाडको उकालो चढ्दैगर्दा आफ्नी बहिनी सतीदेवीलाई खोलाले बगाएको खबर पाई पुस्तकको भारी बिसाएर डौडिएको र सो क्षेत्रमा पुस्तक आकृतिको ठूलो ढुङ्गा रहेको र त्यसलाई पुस्तके ढुङ्गा भनिएको प्रशंग छ ।
विज्ञप्तिः
