पहिचान राजनीतिका अफ्ठ्यारा र चुनौतिहरु

 लिम्बुवान न्युज
                       

  • नन्द कन्दङवा

काठमाडौं, २८ असार । पहिचानको राजनीति बुझ्नु अघि पहिचान के हो भनेर बुझ्न आवश्यक हुन्छ । पहिचान भनेको प्रत्येक समुदायलाई चिनाउने तिनको भाषा, संस्कृति, रिती थिति, जीवन पद्धति, सामाजिक–सांस्कृतिक–आर्थिक तथा राजनीतिक मुल्य मान्यताका साथै प्रणालीको संरक्षण, सम्बर्धन र प्रवर्दन हो ।

त्यसैले पहिचानको राजनीति भनेको राष्ट्र र राष्ट्रियताकोरुपमा रहेका प्रत्येक समुदायलाई चिनाउने तिनको भाषा, संस्कृति, रिती थिति, जीवन पद्धति, सामाजिक–सांस्कृतिक–आर्थिक तथा राजनीतिक मुल्य मान्यताका साथै प्रणालीलाई संरक्षण र प्रवर्दनमा आच पुर्याउने, अवरोध गर्ने अनि तिनलाई नामेट पार्ने उपनिवेशीकरण, राष्ट्र राज्य (एकल राष्ट्र अर्थात एकल जातिय राज्य) निर्माण गर्ने राष्ट्रवादको मण्डलेकरण र असमानी, अन्यायी, पक्षपाती विभेदकारी, अतिक्रमणकारी सोच, बिचार र त्यहि अनुसार शासन, सत्ता, शासन व्यवस्था र शासन सत्ता निर्माण गर्ने बिरुद्धको राजनीति हो ।

त्यसैले पहिचानको राजनीतिले उपनिवेशवादको बिरोध गर्दछ । मण्डले राष्ट्रवादको बिरोध गर्दछ । एकल नश्लीय चिन्तन, सोच तथा बिचारको बिरोध गर्दछ । समाजमा रहेका विभिन्न उत्पीडित समुदायमाथी हुने र हुदै आएको अन्याय, अत्याचार, उत्पीडन, असमानता तथा विभेदको बिरोध गर्दछ ।
उपनिवेशकारी राज्य शासन, सत्ता, व्यवस्था र उपनिवेशकारी लोकतन्त्रको बिरोध गर्दछ । त्यसैले पहिचानको राजनीति भनेको उपनिवेश तथा अन्याय, अत्याचार, उत्पीडन, असमानता र विभेदबाट मुक्ति पाउने नेपाल भित्र रहेका राष्ट्र र राष्ट्रियताको जगेर्ना, मान्यता र सोही अनुसारको राज्य संरचना, शासन व्यवस्था, शासन र राज्य सत्ता निर्माण गर्ने कुरा हो ।

पहिचानको राजनीतिले बहुलराष्ट्रिय समाज र सबैलाई समानता दिने समाजवादको गन्तव्य समात्छ ।

यसो भन्नुको अर्थ यसले बहुलराष्ट्रिय समाजवादको गन्तव्य समात्छ । यसको मतलव यस राजनीतिले राज्य शासन व्यवस्था, राज्य संरचना, शासन, लोकतन्त्र र राज्य सत्ता स्थापनाको मोडल पनि त्यहि बहुलराष्ट्रियता र समाजवादकै आधारमा आवाज उठाउछ, बनाउछ र बदल्ने काम गर्छ ।

पहिचानको राजनीतिले उपनिवेशबाट मुक्ति, ब्राह्मणवादी एकल जातिय राज्य निर्माण र बर्चस्पबाट मुक्ति र सबै खाले विभेद, असमानता, अन्याय तथा उत्पीडनबाट जनतालाई मुक्ति दिन्छ ।

पहिचान राजनीतिका आफ्ठ्याराहरु

सन १७६० को दशकदेखि आजसम्म नेपालमा पहिचानले हार्दै आईरहेको छ भने उपनिवेशकारी, मण्डले राष्ट्रवादी, बर्णाश्रमवादी, ब्राह्मणवादी तथा अन्याय, असमानता, विभेदकारी र उत्पीडनकारीले जित्तै आईरहेका छन र शासन गरिआएका छन ।

ईतिहासको यति लामो अन्तरालमा त्यहि अनुसार जित्नेहरुको मुल्य मान्यता र संस्कृति स्थापित भई अरुमाथी लादिएकोछ । त्यहि अनुसार मानिसहरुको दिमाग बनेको छ ।

धेरै मानिसहरु त्यहि अनुसार सोच्ने र बिचार निर्माण गर्ने गर्दछन । त्यहि अनुसारको राज्य शासन सत्ता, शासन व्यवस्था तथा राज्य संरचना निर्माण गरिएको छ र अभ्यास भईआएको छ ।

कुनै पनि बिषय या बस्तुलाई हेर्ने दृष्ट्रिकोण पनि त्यहि अनुसार बनेको छ ।त्यसैले, पहिचानको राजनीतिले उपनिवेशकारी मण्डले राष्ट्रवाद र अन्याय, असमानता, विभेदी उत्पीडनकारी बर्णाश्रमवादी ब्राह्मणवादीहरुले लामो समयमा खडा गरेको राजनैतिकरुपका शासन प्रशासन संरचना र दिमागमा भएको मनोवैज्ञानिक संरचनालाई हटाएर आमुल परिवर्तन गर्नु पर्ने अवस्था छ । यसको लागी सामान्य सुधार तथा संसोधनले हुने स्थिति छैन ।

यो त्यति सजिलो छैन । अन्य दलहरुले बर्तमान संविधानको खाका भित्र चलखेल गर्ने जस्तो पहिचानको राजनीिितलाई सजिलो छैन । त्यसैले यसका अफ्ठ्याराहरु प्रशस्त छन ।

यस राजनीतिले अहिलेसम्म भएको नेपाल नामको घरलाई नभत्काई पुरै नविकरण (Renovation) गर्नु पर्ने हुन्छ । यो भयंकर अफ्ठ्यारो काम तथा बाटो हो । त्यसो गर्न यस राजनीतिले जटिल (Complex) खालको कार्यदिशा, रणनीति र कार्यनीति अंगिकार गर्नु पर्ने हुन्छ ।

पहिचानको राजनीतिका चुनौतिहरु

विश्व राजनीतिमा प्रत्यक्ष या अप्रत्यक्षरुपमा, खुलेर स्पष्टरुपमा या बाहिरी आवरणले ढाकेर पहिचानको राजनीति बिरुद्ध अन्य विभिन्न खाले राजनीति धार छुट्टिदै गईरहेको स्थिति छ ।

विभिन्न देशमा यो विभिन्न्ररुपमा अभिव्यक्त भईआएको छ । नेपालको सन्दर्भमा पहिचानको राजनीति एकातिर र उपनिवेशलाई मलजल गर्ने अन्य विभिन्न बिचार तथा सिद्धान्त बाहक राजनीति अर्कोतिर भएर दुई धारमा छट्टिरहेको अवस्था छ ।

अहिलेसम्म देखिएका बर्चस्पशाली राजनीतिक दलहरु नेपालका जनसमुदायमाथी उपनिवेश कायम गर्ने दलहरुकोरुपमा देखिएका छन । तिनीहरुबाट आम जनतालाई छुटाउन ठुलै चुनौति छ ।

अहिलेसम्म पहिचानलाई स्पष्टरुपमा अभिव्यक्त गर्न सकिएको थिएन भन्दा बढी हुदैन होला ।

त्यसमाथी पहिचानको राजनीति भनेको के हो भन्ने आम जनसमुदायले बुझिरहेको अवस्था थिएन ।

पहिचानलाई जातिय र साम्प्रदायिक राजनीतिकोरुपमा बुझ्ने र बुझाउने काम विभिन्न व्यक्ति तथा राजनीतिक दलहरुले गरिरहेको अवस्था रहेको थियो र छ ।

अहिले पनि त्यसको प्रभाव रहिरहेको अवस्थामा आम जनसमुदायलाई पहिचानको राजनीतिलाई स्पष्ट गर्न चुनौति रहेको छ ।

पहिचान र पहिचानको राजनीति गर्ने व्यक्ति तथा राजनीतिक दलहरु यो बेलासम्म बिभाजित अवस्थामा रहेका छन ।

एकातिर बिचार र सिद्धान्त पहिचान बिरोधी भएका राजनीतिक दलका समर्थक, सदस्य तथा कार्यकर्ताहरु पनि पहिचानको पक्षधर रहेको बताईरहेको अवस्था थियो र अझै पनि रहिरहेको अवस्था छ भने अर्कोतिर पहिचानको राजनीति गर्ने व्यक्ति तथा दलहरु पनि पहिचानको राजनीतिको गलत बुझाईबाट आफ्नो व्यक्तिगत तथा दलगत स्वार्थका कारण परस्परमा नमिलिरहेको र अलग अलगरुपमा चलिरहेको अवस्था रहेको छ ।

एउटै बिचार, सिद्धान्त तथा एउटै गन्तव्य, लक्ष र उदेश्य प्राप्त गर्न काम गरिरहेका समुह तथा मानिसहरुले भिन्न भिन्न झुण्ड बनाउनु भनेको व्यक्ति तथा समुहगत स्वार्थ भन्दा अरु केही हुदैन ।

त्यसैले, यतिखेर पहिचानको राजनीति गर्ने सबै शक्ति तथा मानिसहरुलाई एक ठाउमा ल्याउनु ठुलै चुनौति छ ।

अगाडीको बाटो

अबको पहिचानको राजनीतिले (१) विभिन्न राजनीतिक दलहरुमा रहेको पहिचान पक्षधरहरुलार्य एकताबद्ध र एकजुट बनाएर लैजानु पर्दछ ।

(२) यस पहिचानको राजनीतिले पहिचानको नाममा गोलबन्द भएका विभिन्न दल तथा दलका मानिसहरुलाई पहिचानको एउटै झण्डामुनी गोलबन्द गर्नु पर्दछ ।

(३) यस राजनीतिका जस्ता सुकै अफ्ठयारा र चुनौतिहरुलाई सामना गरेर जानु पर्दछ ।

(साझा चासाे डटकमबाट साभार)

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;