
दमक, १९ असार । इलाम जिल्लास्थित माङसेबुङ गाउँपालिकाले विद्यार्थी प्रोत्साहन तथा सम्मान कार्यक्रम गरेको छ ।
सोमबार एक कार्यक्रम गरी माङसेबुङ गाउँपालिका भित्रका विद्यावारिधि (PHD) गर्दै गरेका माङसेबुङ २ निवासि मनोज कुमार लिम्बु र गोविन्द लिम्बु दुई जनालाई जनही २ लाख ५० हजार सहित सम्मान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष हेमन्त राईले विद्यावारिधी गरिरहेका दुईलाई सम्मान पत्र र चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा पालिकाका उपाध्यक्ष विनोद नेम्बाङ र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार चौहानको पनि उपस्थिति रहेको थियो ।
यसरी नै यस बर्षको एसईईमा उत्कृष्ट छात्र–छात्रा विद्यार्थीहरु, कक्षा ८ का उत्कृष्ट छात्र–छात्रा र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोल्ड मेडल ल्याउने गरी जम्मा १४ जना विद्यार्थीहरुलाई नगद ५ हजार सहित सम्मान गरिएको पालिकाका प्रवक्ता सुसन राईले बताए ।
तस्वीरः सुसन राइ