दमक, २७ असार । पहिचानवादी पक्षले तेह्रथुम पुगेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
बुधबार बिहान तेह्रथुमको म्याङ्लुङस्थित जिरीखिम्ती बजारमा पहिचान पक्षधरका लाजेहाङ फोर्सका सदस्यहरूले कालो झण्डा प्रदर्शन गर्दै विरोध गरेका हुन्।
पहिचानका लागि यूवा साथै फोर्सका तेह्रथुम जिल्ला संयोजक धनेन्द्र सुब्बाले प्रदेशको नाम कोशी प्रदेश नामाकरणमा मुख्य भूमिकामा रहेका मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाउदै विरोध प्रदर्शन गरेको बताए ।
तत्कालीन अवस्थामा पहिचानवादीको विपक्षमा मुख्यमन्त्री कार्कीले पहिचान नामेट गरी कोशी नाम राखेको आरोप उनीहरूको छ । कार्की प्रदेशको पहिलोपटक मुख्यमन्त्री बनेको बेलामा प्रदेशसभाबाट प्रदेश १ को नाम कोशी नामाकरण भएको थियो ।
प्रदेश नामाकरणविरुद्धमा पहिचानवादीहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् । प्रदेश नामाकरणविरुद्ध आन्दोलनका क्रममा २०७९ चैत्र ५ गते घाइते भएका पदम लाजेहाङका चैत्र १० गते मृत्यु भएको थियो । सरकारले लाजेहाङ्लाई राष्ट्रिय सहीद घोषणा गरेको छ ।
मुख्यमन्त्री केदार कार्की रहँदा पहिचानवादी पक्षसँग दुई चरणमा वार्तासमेत भएको थियो । यद्यपी वार्तामा भएका सहमतिहरु हालसम्म पनि कार्यान्वयन नभएको, इलाम कारागारमा थुनामा रहेका आशिष साम्बा हालसम्म पनि रिहाई नभएको पहिचानवादी पक्षले जनाएको छ ।
Related