
काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले चुमेका छन् । टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका किरणले उपाधिसँगै नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन् ।
खुदुनाबारी झापाको भूटानी शिविरमा जन्मिएर अमेरिका पुर्नवासित भएका गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिएका थिए । उनेले भने–‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’

अमेरिकाबाट भ्वाइसकै लागि भनेर नेपाल आएका किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठ महिनादेखि नेपालमा छन् । ‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग गायनसम्बन्धी तालिम लिएका थिए ।
झापाको खुदुनाबारी शिविरमा रहेकै बेला सन् २००५ मा पहिलो बाल गीत रेकर्ड गराएका किरणले ‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि चर्चामा आएका थिए । किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमा पनि स्वर दिइसकेका छन् । उनले यसअघि इमेज एफएम, कालिका एफएम लगायतका चर्चित अवार्डहरू समेत हात पारिसकेका थिए ।
चार प्रतिस्पर्धीहरु टीम प्रमोदबाट विजेता गजमेर, टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला राई फाइनलिस्ट भएका थिए । यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् ।
एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आ–आफ्ना प्रस्तुतिहरु दिएका थिए ।
टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल उचालेका छन् । गत दोस्रो सिजनको टाइटल पनि टिम प्रमोदबाटै राम लिम्बुले चुमेका थिए ।
यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको थियो ।
(फाइल तस्वीर)