
इलाम, ४ भदौं। पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादको बाटोमा हिँडेकाले अब कम्युनिष्ट पार्टी पुर्नगठनको विकल्प नरहेको बताएका छन् । नेता खनालले बरिष्ठ नेता नेपालले पुनर्गठन गरेको नेकपा एकीकृत (समाजवादी) पार्टीमा आवद्ध भएर पार्टी पुनर्गठनमा लाग्न नेता कार्यकर्ताहरुलाई आह्वान गरका छन् ।
भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गराईरहेका नेता खनालले इलामे संचारकर्मीहरुसँगको अनलाइन संवादमा अलमलमा रहेका नेताहरुलाई पार्टी पुनर्गठनको क्रान्तिकारी बाटोमा हिँडेर नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईबाट अगाडि बढाउन आह्वान गरे ।
‘एमालेमा रहेका र तेस्रो धार बनाउन खोजेका सबै नेताहरुलाई बिना हिचकिचाहट क्रान्तिकारी, माक्सवादी, लेनिवादी कार्यदीशा र नीतिका आधारमा पार्टी पुनर्गठनको काममा लाग्न आह्वान गर्दछु’ खनालले भने, ‘सबैलाई एकताबद्ध गर्ने कामको जिम्मा पुनर्गठित पार्टीको रहनेछ ।’
नेता खनालले तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीको दक्षिणपन्थी अवसरवादका कारण कम्युनिष्ट आन्दोलन क्षतविक्षत भएको आरोप लगाए । ‘हामीले संविधान सभाबाट त्यति राम्रो संविधान बनायौं । केपी ओलीले च्यातचुत पारे । दुई तिहाई नजिकको बहुमत ल्यायौं त्यसलाई पनि सिध्याउने काम गरे । पार्टीका नेताहरुलाई कारवाही र अन्याय गर्ने काम नेतृत्वबाट भइरहयो’ खनालले भने, ‘त्यसैले यस्ता दक्षिणपन्थी बाटो त्यागरे पार्टी पुनर्गठनको क्रान्तिकारी पहलकदी लिन र पुनर्गठनतर्फ दृढतापूर्वक एकीकृत पार्टी निमार्णमा लाग्न अलमलमा रहेका सबैलाई आग्रह गर्दछु ।’
उनले पार्टी पुनर्गठनको बाटोमा अगाडि बढ्न वित्तिकै नयाँ अवसरको बाटो खुल्ने र फेरि नेपाली कम्युनिष्ट एकता हुने विश्वास व्यक्त गरे । नेता खनाले आफूसहित ८ जनाले २०३२ सालमा पार्टी पुनर्गठन गरेको स्मरण गर्दै नेतृत्वमा आएपछि ओलीले अख्तियार गरेको दक्षिणपन्थी अवसरवादका कारण अहिलेको स्थिती सिर्जना भएको बताए ।
भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गराईरहेका नेता खनालले आफ्नो मिर्गाला प्रत्यारोपण सफल भएको र करिब अबको १२ दिनभित्रमा नेपाल फर्किने पनि बताए ।
खनाललाई नेकपा एमालेको फुटपछि पुनृगठित नेकपा एकीकृत (समाजवादी) पार्टीको वरिष्ठ नेता प्रस्ताव गरिएको छ । खनाल नेकपा एमालेको महासचिव र अध्यक्ष समेत भइसकेका प्रभावशाली नेता हुन् । उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।
खनाल पक्षमा रहेका जिल्लाका कतिपय नेता कार्यकर्ताले उनको भूमिकापछि मात्र सार्वजनिक हुने बताउँदै आएका छन् । यसअघि नै पार्टीभित्र समानान्तर गतिविधि सुरु गरेको असन्तुष्ट पक्षका कतिपय नेता कार्यकर्ता कतै खुलेका छैनन् ।