
किरात राई यायोक्खा झापाले आफ्नो ८औं जिल्ला अधिवेशनको अवसर पारेर ‘किरात राई यायोक्खा झापा नामक स्मारिका प्रकाशन गरेको छ ।
झापामा यायोक्खा स्थापना भएको ३० वर्ष पूरा भई ३१ वर्ष लागेको अवसरमा किराया झापाले जिल्लामा गरिएको गतिविधिसहित किरात राई जातिको मुन्दुम, संस्कार संस्कृति, मातृभाषा, यायोक्खा स्थापनाको इतिहासलगायत विभिन्न विषयवस्तु समावेश गरेर स्मारिका प्रकाशन गरेको हो ।

शनिबार यायोक्खा झापाको ८औं जिल्ला अधिवेशन उद्घाटनसत्रमा यायोक्खा केन्द्रीय उपाध्यक्ष जीवन हाताचो र यायोक्खा संस्थापक उपाध्यक्ष जितमान राईलगायतले संयुक्त रूपमा स्मारिकाको विमोचन गरेका थिए ।
स्मारिकामा समावेश भएका विषयहरुले भावी पुस्तालाई किरात राई समुदायको समग्र विषयमा जानकारी प्राप्त हुने भएकाले यो आफैमा ऐतिहासिक कार्य भएको किरात राई यायोक्खा झापाका निवर्तमान अध्यक्ष एवम् केन्द्रीय सदस्य इन्द्रमान चाम्लिङ राईले बताए ।
किरात राई यायोक्खा झापाको स्थापना र त्यसयताका संस्थागत गतिविधिलाई दस्तावेजीकरण गर्न स्मारिका प्रकाशन गरिएको स्मारिका प्रकाशन समितिका संयोजक सुसन राईले जानकारी दिए ।
६ लाख बढी लागतमा तयार गरिएको स्मारिका ३६० पृष्टको रहेको छ । दमक स्रष्टा प्रिन्टिङ प्रेसमा छापिएको स्मारिकाको सम्पादन कमन देवानले गरेका हुन् भने आवरणसहित सम्पूर्ण डिजाइन डम्बर तुम्बापोले गरेका हुन् ।
Related