अपाङ्गता भएकालाई आगामी निर्वाचनमा सहभागी गराउने प्रतिवद्धता

 लिम्बुवान न्युज
                       


बिर्तामोड, भदौं ३० । अपाङ्गता भएका व्यक्तिहरुकोे राजनीतिक अधिकार सुनिश्चित गर्दै निर्वाचनमा उनीहरुको सहभागिताका लागि झापाका राजनीतिक दलसहित सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।
मंसिर ४ मा हुने निर्वाचनबाट प्रतिनिधि तथा प्रदेशसभामा अपाङगता भएकाहरुको सहभागिताका लागि दलका प्रमुख तथा प्रतिनिधिहरुले सो प्रतिवद्धता जनाएका हुन् । नेत्रहीन युवा संघ नेपालको आयोजना तथा संवाद समूह झापाको सहकार्यमा बिर्तामोडमा बिहीबार सम्पन्न कार्यक्रममा दलहरु प्रमुख तथा सरोकारवालाले समावेशी सिद्धान्तअन्तर्गत अपाङ्गता भएकाहरुको सहभागिता महत्वपूर्ण रहेको बताए ।
उनीहरुले आगामी निर्वाचनमा झापा जिल्लामा अपाङ्गतामैत्री संरचना निर्माणमा समेत प्रतिवद्धता जनाएका छन् । मतदानमा अपाङ्गता भएकाहरुको पूर्ण सहभागिताका लागि मतदान स्थल तथा केन्द्रहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिइयो । कार्यक्रममा नेत्रहीन युवा संघ नेपालका जिल्ला अध्यक्ष दिलकुमार राजवंशीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरुको निर्वाचनमा सहभागिता सम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचनमा सहभागी हुँदा विगतमा देखिएका समस्याहरु, अपाङ्गता भएकाहरुका लागि निर्वाचन प्रक्रियामा गर्नेपर्ने सुधारका पक्षहरुलगायत विषय राखेका थिए ।


कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले अपाङगता भएकाहरुबारे संविधानमा भएको व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले प्रतिनिधिसभा र प्रदेशसभामा अपाङगता भएकाहरुको सहभागिताबारे राजनीतिक दलहरुलाई निरन्तर दबाब दिनुपर्ने बताए । उनले मतदान केन्द्रहरु अपाङ्गतामैत्री बनाउने प्रयास गर्ने बताए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले संसदमा अपाङ्गता भएकाहरुको प्रतिनिधित्वबारे स्पष्ट कानुनी व्यवस्था भएपनि अपांगता भएकाहरु राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्न नसक्नु दुखद् भएको बताए । उनले आगामी निर्वाचनमा अधिकतम् मतदानस्थल अपांगतामैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईले अगामी निर्वाचनमा अपांगता भएकाहरुलाई पनि समेट्ने विषयमा छलफल अघि बढाउने धारणा राखे । उनले कांग्रेसको विधानमै अपांगता भएकाहरुलाई पनि समेट्नुपर्ने भन्ने व्यवस्था रहेकाले विधानअनुसार अपांगता भएकाहरुको माग सम्बोधन गर्ने बताए । नेकपा एमालेका सचिवालय सदस्य देवराज कार्कीले अपांगता भएकालाई छुटाएर निर्वाचनमा जाँदा समावेशी सिद्धान्त विपरित हुने बताए । उनले एमालेले समावेशी सिद्धान्तलाई पूर्ण पालना गर्दै अपांगता भएकाहरुको प्रतिनिधित्व आगामी निर्वाचनमा गराउनेबारे पार्टीभित्र छलफल चलाउने प्रतिवद्धता व्यक्त गरे ।
राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले अपांगताबारे अब बहस मात्र नभई व्यवहारिक पाटोमा ध्यान दिनुपर्ने बताए । उनले आगामी निर्वाचनमा मतदानस्थलहरुमा सहजै पुगेर जिल्लाका सबै अपांगता भएकाहरुले मतदान गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अनुतसिंह राजवंशीले उम्मेदवार छनोट गर्ने समयमा अपांगता भएका व्यक्तिहरुलाई पनि आगामी निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने भन्ने कुराको उठान सही समयमा भएको बताए । उनले अपांगतामैत्री निर्वाचन प्रणालीबारे आफूले पटकपटक कुरा उठाएको र आगामी दिनमा पनि त्यसका लागि पहल गर्ने बताए ।
कार्यक्रममा नेत्रहीन युवा संघ नेपालले आगामी निर्वाचनमा अपाङ्गता भएकाहरुको उम्मेदवारी सुनिश्चितता तथा अपांगता भएकाहरुको सवालहरु समेटिएको ज्ञापन पत्र समेत जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई बुझाएका छन् । कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला सहसचिव अर्जुन कुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष उमेश खरेल, उद्योग वाणिज्य संघ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, अधिवक्ता कविता बास्तोला, सारदा रिजाल, नारी कल्याण समाज झापाकी अध्यक्ष प्रेमा भट्टराईलगायतले आगामी निर्वाचनबाट अपांगता भएकाहरुको पनि राजनीतिक सहभागीता हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले विगतमा अपांगतामैत्री मतदानस्थल नहुँदा अपांगता भएकाहरु मतदानस्थलसम्म पुगेर मतदान नगरी फर्किनुपर्ने अवस्था रहेकोमा आगामी निर्वाचनमा त्यस्तो हुन नहुने बताएका थिए ।

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...