सहकारी यात्रा र सुदुर सम्झनाहरू

 लिम्बुवान न्युज
                       

यात्रा संस्मरण

  • सेसेहाङ चाेङबाङ
ज्यान विसन्चो हुदाहुदै यात्रामा निस्कनु पर्ने भो । खै यात्राहरु त रहरले गरिने हो । यात्रामा निस्किन पाउँदा प्रसस्तै खुसी, हर्ष र उमंग हुनुपर्ने तर बाध्यताले गरे जस्तो स्वास्थ समस्याले बनाइ दियो । हुन त यात्रा पुर्वनिर्धारित नै थियो । तर रुघाखोकी र ज्वोरोले ३ दिन अघि देखि लगातार सताई रहन्दा यात्रा अन्योल ग्रस्त थियो मेरो लागि । स्वीस सरकार अन्तर्गत सहज प्रोजेक्टले शीत भण्डारहरुको दीर्घकालीन संचालन कार्यक्रमको लागि आफ्नो रोजाई कियाचु कृषि सहकारी संस्था अन्तर्गत संचालित मेयङलुङ शीत भण्डारलाई पारेको थियो ।
त्यसै प्रोजेक्ट अन्तर्गत पहिलो अध्ययन अवलोकन भ्रमण तालिका निर्माण गरेर कियाचु कृषि सहकारी संस्थाका अध्यक्ष टंकमाया लिम्बुको नेतृत्वमा निवर्तमान अध्यक्ष तेजमान कन्दङवा, उपाध्यक्ष सुविन्द्र थेगुवा, सदस्यहरु मंगला नेपाली, कुमारी हुक्पा चोङबाङ, सेसेहाङ हुक्पा चोङबाङ, जोनि खापुङ, मंजुल कुमार लिम्बु, सहजका प्रतिनिधि कृष्ण ढुंगाना र प्राविधिक सहयोगी मोहन श्रेष्ठको भ्रमण टोलि बैठक द्वारा निर्धारण गरिएको थियो । तर उपाध्यक्ष सुविन्द्र जीको स्वास्थ्य समस्याले उहाले भ्रमण क्यान्सिल गर्नुभएको थियो । त्यही अनुसार अन्य शीत भण्डारहरुको संचालन र बजारीकरणको अवस्था कस्तो रहेको छ? र ती शीत भण्डारहरु संग कसरी व्यवसायीक सम्बन्ध स्थापित गर्न सकिन्छ भन्ने समन्वयकारी र परिणाममुखी भुमिका निर्वाह गरेर फर्कनु थियो । यो टोलि बाहेक गाडी चालक मान ब भुजेल पनि हाम्रो यात्राको बैशाखी बन्नुभएको थियो । उहाको ड्राइभले हाम्रो यात्रा सफल पार्नुपर्ने थियो । सायद वैशाखी विना अपांगको सवार जस्तो यात्रा हुने थियो उहाँ विना । २०८० भाद्र २९ गते विहान करिब पौने सात बजे मेयङलुङ बसपार्क बाट हाम्रो यात्रा सुरु भो ! जिरिखिम्ती बाट मंगला जि जोडिनु भयो । त्यहा बाट यात्रा सुरु भए पछि हाम्रो सल्लाह अनुसार घण्टेमा खाना खाने भैयो । करिब दस बजे हामी घण्टे पुगेर खाना खाइयो । खाना खाईसकेर हाम्रो यात्रा अघि बढ्यो । बाटोमा प्रसंग बस महिला र पुरुष बिचको दरारहरुको बारेमा कुरा आयो । हुन पनि हाम्रो सहकारी संस्थामा महिला अधिकार कर्मिहरुको उपस्थिति बाक्लो छ । राज्यले दिएको अधिकारका कुराहरु आए । तेजमान कन्दङवाले कुरा झिक्नु भो जिस्किन्दै भन्नू भो हाम्रो कियाचु कृषि सहकारीमा त पुरुषहरुको संख्यामा ३३ प्रतिशत पुर्याउनु पर्ने देखिन्छ । हुन पनि हाम्रो संस्थाको संचालक समितिमा महिलाहरुको संख्या धेरै छ । यो हुनु धेरै राम्रो पक्ष हो । यस्तै यस्तै कुरा माझ “नाहेन” को कुरा निस्कियो । लिम्बुनीहरुमा सरै नाहेन छ है मैले भने । नाहेन भनेको आँखीडाही हो । ईष्र्या हो । क्रोध हो । हाम्रो लिम्बू समुदायमा नाहेन नलागोस भनेर पुजा समेत गर्ने चलन छ । तर मेरो कुरामा स्वभाविक महिलाहरुले असमती जनाए । यसरी गफ गर्दा गर्दै हामी करिब १२ बजे धरान पुग्यौ । त्यहा हाम्रो टिमका मंजुल लिम्बू कृष्ण ढुंगाना र मोहन श्रेष्ठ जोडिनु भयो । त्यसपछि कृषि बजार व्यवस्थापन समिति धरानका अध्यक्ष पर्शुराम कटुवाल ज्यु संग हाम्रो भ्रमण अवलोकन अध्ययनको बारेमा निक्कै समय छलफल गरियो । त्यहाको शीत भण्डारको बारेमा बुझ्ने काम भयो । प्राय व्यापारीहरुले अधिक प्रयोग गर्ने शीत भण्डार मज्जाले चलिरहेको पाइयो । बजार नजिक बिक्री भइनसकेको समान केही दिन राखेर खपत भइहाल्ने गरेको पाइयो । हुन त धरान जतिको जनसंख्या भएको बजारमा धेरै समानको खपत हुने नै भयो । उत्पादित वस्तुको खपत हुन उपभोक्ताको जरुर हो ।
पहाडी इलाकामा जनसंख्या घट्दो छ । यसले उपभोक्तामा पनि ह्रास ल्याइरहेकोछ । सबै काम सकेर अन्तिममा मेयङलुङ शीत भण्डारलाई बजारीकरणको लागि धरान शीत भण्डारले प्राबिधिक सहयोग गर्ने, व्यापारीहरु संगको सम्पर्क र समन्वय गर्ने निस्कर्षका साथ हाम्रो टोलि त्यहा बाट इटहरी झर्यौ । भानुचोक, तिनकुने, तरहरा हुँदै इटहरी स्थित गोर्खा डिपार्टमेन्ट किचनको बैठक कक्षमा जम्मा भएर हामी संग सहजका प्रतिनिधि कृष्ण ढुंगानाले केही अधारभुत बिषयहरुमा छलफल गराउनु भयो । त्यसपछि हामी नाङलो अर्गानिक मार्टमा हाम्रो महिला सदस्यहरुले उत्पादन गर्नुभएको सुन्तलाको बोक्राको सुठो पुर्याउन गयौ । त्यस पसलमा विभिन्न जडिबुटीहरु बाट उत्पादित समानहरु रहेछन । सिस्नो, च्याउ, गुन्द्रुक, खोर्सानी, हर्रो बर्रो आदि समान । केही समय अवलोकन गरेर पुनः हामी त्यहाबाट पुर्व बिर्तामोड प्रस्थान गर्यौ । इटहरी बाट गछिया, बिराट चोक,बेलबारी,बाहुन्ने हुदै पथरी शनिश्चरेको सेल्फी रोडमा एक छिन फोटो खिच्न भ्याइयो । यो सेल्फी रोड मलाई चाहिँ थाहा थिएन । धरान बाट पुर्व पश्चिम जहिल्यै गरिन्थ्यो तर यो सेल्फी रोडको याद थिएन । सायद वास्ता नगरेर पनि हुन सक्छ । सबैले उक्त ठाउँ अवलोकन गरिसके पछि यात्रालाई अघि बढायौ । हामीलाई सजिलो के पनि थियो भने गाडी रिजर्भ थियो । त्यसैले ठाउठाउमा गाडी रोक्दै जानलाई कुनै अफ्ठ्यारो थिएन । मंगलबारे, उर्लाबारी हुदै दमक पुग्यौ । दमकमा खाजा खाने सल्लाह भो । हाम्रो भोक पनि निक्कै लागिसकेको थियो । बिहान खाना खाए देखि ठोस जिच केही खाएको थिएनौ । मंजुल, मोहन लगायत ३ जना मोहन सरको नीजी गाडीमा हुनुहुन्थ्यो । उहाहरुलाई पर्खियौ । खाजाघरमा गएर खाजा अडर गर्यौ । आफ्नो आफ्नो रोजाइ अनुसारको खाजा अर्डर गरियो । म र मंगला मिसले पुरी तरकारी अरु सबैले आलु परौटा अर्डर गर्नुभो । खाजा खाइसके पछि मैले टिसु पेपरको बट्टा देखाएर यो ल्याइदिनुहोस न नानी भनेर त्यहाको काम गर्ने बैनिलाई भने । यहि शव्दलाई तेजमान सरले यो ल्यादिनु भनेको के भनेको भनेर ठट्टा गर्नु भो? यसले सबैको हासो बन्यो । चिया खाइसके पछि विल पेमेन्ट गरेर हामी त्यहा बाट पनि हिड्यौ । झिल्लीले केर्खा, दुधे, माइ लगायतका बाटाहरुमा हाम्रो रमाइलो गफहरु गर्दै भोलिपल्टको योजनामा बिराटनगर नबसौ है इटहरीमा आएर बसौ भने मैले ! किन? भनेर सोध्नु भो अरुले । हैट भुसुनाले मार्छ टोकेर मैले भने । जोनि बैनिले कहाँ भुसुना पाइन्छ हो बिराटनगरमा त्यहा त मच्छड मात्र पाउछ भनिन । कुमारी फुपू मुटु फुट्ने गरि हास्नु भो । बेलुकी ६ बजे बिर्तामोड स्थित होटल मुनटावर इनमा गएर रातको बास बसियो । सबै जना पहाडको चिसोमा बस्न बानी परेको मान्छेहरु तराईको गर्मीले उकुसमुकुस बनाउने । एक छिन लाइन गएर फेन नचल्दा सम्ममा त सास नै रोकिएला झै गर्ने गर्मी । खाना खाइसके पछि वेलुकी दिनभरीको समिक्षा बैठक बसेर सुतियो । भोलिपल्ट भाद्र ३० गते बिहान ६ बजे उठेर शारीरिक सरसफाइ गरी चिया पिइसके पछि हामी हाम्रो नियमित अध्ययन अवलोकनमा निस्कियौ । सबैभन्दा पहिला हाम्रो तालिका अनुसार विर्तामोड कृषि बजारमा रहेको कोल्ड स्टोर अध्ययन गर्नु थियो । हामी त्यसतर्फ हानियौ । अत्यधिक ठूलो क्षेत्रफलमा रहेको यो बजार नेपालको कृषि बजारहरु मध्ये एघारौं नम्बरमा पर्दोरहेछ । हामी जादा बजार तातिरहेको थियो । लाग्थ्यो कुनै जमानामा गाउघरहरुमा लाग्ने मेलाहरु जस्तै मान्छेको घुइँचो । व्यापारीहरु आफ्नो समान बेच्नमा व्यस्त थिए भने ग्राहकहरु पनि समान किन्नमा हतारो गरिरहेका थिए । बजार व्यवस्थापन समितिको कार्यालय नियाल्दै गएर त्यहाको अध्यक्ष कमल प्रसाद पौडेल संग भेट गरियो । चिनजान गरियो । अनि हाम्रो भ्रमणको उदेश्य अनुसार कुराका डोरोहरु बाट्न थाल्नुभो हाम्रा टोलि प्रमुखहरुले । त्यहाको अध्यक्ष मार्फत धेरै कुराको जानकारी प्राप्त भयो । नेपालमा कृषि बजारहरुको समस्या । स्थानीय उत्पादनले धान्न नसक्ने बजार छ । किन कि उत्पादनमा नेपाल धेरै पछि छ ।
यहाँ सरकारले समेत उत्पादन नीति निर्माण गरेको छैन । त्यसैले विदेशी सामाग्रीहरुको उपभोक्ता बन्नु परिरहेको छ नेपालीहरु । करिब एक घण्टा जति छलफल गरेर अध्यक्ष ज्युहरुले नै कोल्ड स्टोरको भ्रमण गराउनु भयो । कोल्ड स्टोर राम्रै संचालनमा आएको रहेछ । व्यापारीहरुले कोल्ड स्टोरका च्याम्बरहरु भाडामा लिएर समानहरु स्टक गरेका रहेछन । बिजुली खपतमा अत्यधिक बिल आएको बुझियो । यसमा हाम्रो प्राबिधिक विज्ञ मोहन सरले केही सुझाव दिनु भो । र अन्त्यमा यो कोल्ड स्टोर र यसका संचालकहरुले हामीलाई व्यापारीक सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो । हामी खुशी हुँदै उहाहरु संग विदाइको हातहरु हल्लायौ । त्यसपछि हाम्रो तालिका अनुसार विर्तामोडकै रोयल कोल्ड स्टोरको अवलोकन गर्ने थियो । त्यहा बाट सिधै त्यतातिर हानियौ । यस कोल्ड स्टोरमा यहाको संचालकलाई फोन सम्पर्क गर्दा पनि उठाइरहनु भएको थिएन । त्यसैले कोल्ड स्टोरमै भेटिन्छ कि भन्ने थियो । तर त्यहा पनि हुनुहुन्थ्यो । अन्योलताको बिच केही कुराहरू बुझ्ने कोसिस गरियो त्यहाका काम गर्ने मित्रहरू संग । यो कोल्ड स्टोर एमोनिया ग्यास प्लान्ट बाट संचालनमा रहेको पाइयो । अहिले एमोनिया ग्यास नेपाल सरकारले प्रतिबन्ध गरेको ग्यास हो । तर यो प्रतिबन्ध हुनुभन्दा पहिला नै बनेको रहेछ । यो ग्यास खतनाक हुन्छ भन्ने मैले पनि बुझेको थिइन । यहाबाट बुझियो । अट्टो सिस्टम बाट चल्ने कोल्ड स्टोरहरु भन्दा फरक पाइयो यसको संरचनाहरु । यहाँ पनि व्यापारीहरुले भाडामा लिएर संचालन गर्दारहेछन । बाकी केही छलफल गर्न सकिएन प्रमुख नहुदा । एतिन्जेलमा करिब सवा दस बजिसकेको थियो । हामी त्यहा बाट सिधै होटल तर्फ लाग्यौ । होटल पुगेर खाना खाए पछि पुन हतार हतार सामान झोलामा प्याक गरेर करिब पौने बाह्र बजे त्यस होटल बाट हाम्रो तालिका अनुसार दमक तर्फ वेग मार्यौ । अघिल्लो दिन त्यही बाटो विर्तामोड लागेको पुनः त्यही बाटो भएर हामी फर्किरहेका छौ । आजको यात्रा बिराटनगर सम्म पुगेर इटहरी फर्किने हाम्रो योजना छ । कुमारी, मंजुलहरु मोहन सरको गाडीमा हुनुहुन्छ । उहाहरु हामिभन्दा पहिला हिडिसक्नु भएको छ । करिब एक घण्टा १५ मिनेटमा हामी दमक पुग्यौ । दमक पुगेर सिधै शान्ति कोल्ड स्टोर गयौ । त्यहा पनि कर्मचारीहरु मात्र हुनुहुन्थ्यो । संचालकहरु बाहिर निस्कनु भएको रहेछ । फोन सम्पर्क गरेर मेनेजर खेम काफ्ले सरलाई बोलायौ । आधा घण्टा पछि उहाँ आउनुभयो । चिनजान गरियो । उहाँ बाट धेरै नै कुरा जान्ने मौका मिल्यो । यो शीत भण्डार पनि एमोनिया ग्यास बाट नै संचालन भएको रहेछ । दुइहजार मेट्रीकटन क्षमता भएको यो शीत भण्डारमा स्याउ, नास्पाती, आलु, दाल जस्ता बस्तुहरुको भण्डारण गरिएको पाइयो । यो शीत भण्डारलाई पनि व्यापारीहरुले भाडामा प्रयोग गर्दारहेछन । यदि भण्डार भरिएन भने कहिले काहीँ संचालक आफैले पनि बस्तु खरिद गरेर त्यहा भण्डारण गर्ने गर्दारहेछन भन्ने बुझियो । खेम काफ्ले सर संग लामो छलफल पछि उहाले हाम्रो शीत भण्डार संग यसपाली किवी फलमा व्यापार गरौ । हामी त्यसको मार्केटको व्यवस्थापन गर्छौ भनेर भन्नुभयो । त्यसपछि हामीले पनि उहाको मौखिक प्रस्तावमा मौखिक नै सहमति जनाएर त्यहा बाट छुट्टियौ । अबको हाम्रो यात्रा बिराटनगर सम्मको थियो । गाडीले आफ्नो टायरहरु गुडाउन सुरु गरिसकेको थियो । बाटामा अनगिन्ती मनहरु खेलाउदै घरीघरी टिम भित्रका सदस्यहरु संग संवाद गर्दै बिराटचोक बाट ओरालो बिराटनगर हानियौ । हुन त बिराटनगरमा हाम्रो अवलोकन गर्ने शीत भण्डारको प्रमुख संग भेट हुन सक्दैन भनेर थाहा भैसकेको थियो । यसको वातावरण कृष्ण ढुंगानाले मिलाउनु भएको थियो । उहाले नभ्याउने संकेत गरिसक्नुभएको थियो । तथापि हामी शीत भण्डार हेरेर फर्किन्ने निचोडका साथ बिराटनगर गइरहेका छौ । बिराटनगर पुगेर सिधै रामजानकी शीत भण्डार प्रस्थान गर्यौ । त्यहा सामान्य अवलोकन गर्ने मौका मिल्यो । स्टोर किपर सुमन खड्का संग चिनजान भयो । उहाले सबै स्टोरहरु देखाउनु भयो । २०५७ सालमा स्थापना भएको यो शीत भण्डार पनि एमोनिया ग्यास प्लान्ट बाट नै संचालनमा आएको रहेछ । यो भण्डारमा विशेष गरेर स्याउ, सखर, मकै, तित्तिरी, चना, मटर आदि खाद्य वस्तुहरुको भण्डारण गरिएको पाइयो । करिब पाँच हजार मेट्रीकटन क्षमताको यो स्टोरको एउटा व्लक बार्षिक पन्ध्र लाख सम्ममा भाडामा लगाइएको पाइयो । बाकी व्यापारीक सम्बन्धको बिषयमा कुरा हुन सकेन । किनकी त्यहा प्रमुख संग भेट हुन सकेको थिएन । त्यहा बाट हामी लिभिङ केयर बिराटनगरमा रहेको अफिस तर्फ लाग्यौ । तेजमान र मंजुल सरहरु त्यो कम्पनीको सदस्य भएकोले त्यहा पुग्नुपर्ने पनि थियो र मार्केटिङको बारेमा केही बुझ्नु पनि थियो । हामी लिभिङ केयरको अफिस पुग्यौ । यतिखेर सम्ममा भोकले डाँडा काट्न लागिसकेको थियो हामी सबैलाई । त्यस कम्पनीका प्रमुख तेज प्रसाद पोख्रेल संग साक्षत्कार भयो । उहाले वस्तुको ब्राण्डिङ, मार्केटिङको बारेमा धेरै कुरा वेलिविस्तार लाउनुभो । माडेहरु संगको प्रतिस्पर्धाका सुखदुःखका कथाहरू सुनाउनु भयो । केही क्षण लाइन गएकोले गर्दा सबैलाई अत्यधिक गर्मी भएको पीरको मैले महसुस राम्ररी गरिरहेको थिए । लिभिङ केयरले खास भर्खरै नौनी घिउको ब्राण्डिङ गरेर उत्पादित समान बजारमा पठाइसकेको रहेछ । र फलफूलको ब्राण्डिङ सुरु गरेपछि हाम्रो सहकारी संग सम्बन्ध स्थापित गरेर संगै व्यापार गर्ने कुराहरूमा बुझाइ राख्नेगरी बसाइलाई अन्त्य गरियो । त्यसपछि नजिकै खाजा खान जाने सल्लाह भयो । पोख्रेल सरलाइ पनि नास्ता खान जान आग्रह गर्यौ । उहाँ संगै मामा मम खाजाघरमा गएर नास्ता अडर गर्यौ । आ-आफ्नो इच्छा अनुसार कसैले मम कसैले चिकेन चाउमिन कसैले फ्राइ मम अडर गरेर नास्ता खाइयो । हामीले नास्ता गरिन्जेलमा सुर्यले पश्चिमी निलो आकाशमा गोधुली किरणहरु छर्न थालिसकेको थियो । अब हामी इटहरी पुगेर त्यसदिनको बास बस्नुपर्ने थियो । हामी त्यहाबाट पोख्रेल सरसंग बिदा माग्दै उत्तर तर्फ लाग्यौ । अँध्यारो सुरु भैसकेको थियो । तथापि निर्दयी सहरका सडक बत्तिहरुले सडक पुरै उज्यालो बनाईरहेको थियो । हामीले बिराटनगर छोडेर दुहबी खनार हुदै इटहरी आइपुग्यौ । इटहरीमा मोहन सरहरुले होटल त्रियुगा बुकिङ गरिदिनुभएको रहेछ । कतै अलमल नगरी होटलमा गएर बसियो । त्यो रात अघिल्लो रातको साथीहरू सबै भएनौ । मोहन सर यात्रालाई बिट मार्ने भनेर धरान लाग्नु भयो भने हाम्रो गाडी ड्राइभर घर नजिकै भएकोले घरमै बास बस्न जानुभो । तेस्रो दिनको बिहान भाद्र ३१ गते गुरुजी पौने छ बजे आइपुग्नु भएछ । आजको हाम्रो यात्रा काठमाडौ सम्मको रहेकोछ । सबेरै महिलाहरु उठेर तामझाम गरिरहेका थिए । मलाई अचम्म लागेको चाहिँ अघिल्लो दिन हामी छिटो उठेका थियौ तर आज महिलाहरुको बेलैमा तामझाम भएको देख्दा साच्चै भिन्न अनुभुती भइरहेको छ । हुन त देश प्रदेशमा पुरुष भन्दा महिला स्वाभिमानी हुन्छन । इमानदारीताको क्षेत्रमा त भन्नै पर्दैन । महिलाहरुले नेतृत्व गरेको संस्था स्वभावैले विस्वास्वनीय लाग्छ । हामी सबै उठेर तयार भैसके पछि गाडीले यात्राको आफ्नो टायरहरु अघि बढाउन थाल्यो । लाग्छ मानव जिन्दगीको उमेरहरु पनि गाडीले आफ्नो टायर अघि बढाए जस्तै त बिस्तारै बिस्तारै नौडाँडा कटिसकेको होला नि? हामी इटहरीको कान्छी चोक बाट काठमाडौ जाने बाटो पछ्याउन थाल्यौं । जति गाडी अघि बढ्छ उत्ति मेरो कल्पनामा हजारौं सपनाहरू खेल्न थाल्छन । स्वभावैले एउटा कृषि सहकारीको व्यावसायिक यात्रा भएकोले त्यहाको माटो, हावा, पानीको बारेमा मनहरु भौतारिने नै भए । इटहरी देखि चतरा नपुगिन्जेलको बिच बाटोमा भएका सयौ बिगा जमिनमा रोपिएका धानहरु लहलहाउदो देखेर मन फुरुङ्ग हुन्छ । कोही पाक्न लागेका धान त कोहि पोटिन्दै गरेका भने कोहि हुर्कन्दै गरेका धानहरु । पाक्न लागेका धान देख्दा लाग्थ्यो गाउघरहरुमा नुवागी गर्ने समय आएछ । उहिले नुवागी गरेर भुटेको चामल खाएको सम्झनाले झल्झल्ती सम्झाइरहेको छ । अर्को नेपालको जुनसुकै ठाउँमा धान खेतीमा ह्रास आएकोछ । पहाडमा मान्छेहरु खेती गर्न छोडे भने तराईमा प्लटिङले खेतीयोग्य जमिन सकिसकेको छ । यस्तै यस्तै मनहरुमा कुरा खेल्दाखेल्दै चतरा पुगिएछ । त्यहा पुग्दा १२ बर्ष अघिको सम्झनाले फेरि सतायो । १२ बर्ष अघि पहिचान, लिम्बुवान, न्याय र मुक्तिको लागि चतरा देखि कोशीको तिरैतिर हुँदै संखुवा खोलाको दोभान सम्म ५ दिने पैदल मार्चपास गरेका थियौ । मुक्तिको यात्रा कहाँ सजिलो थियो र त्यतिखेर । जुन आज फेरि आलो सम्झना दिलायो त्यो ठाउले । कोशी पुल तरेपछी वेलटार हुँदै रामपुर पुगियो । रामपुर ठोक्सिला भनेको कता हो भनेर अध्यक्ष टंक माया भाउजुले कुरा झिक्नु भो । जुन उहिले रेडियो नेपालको फोनिङ कार्यक्रममा सारै सुनिने ठाउँ भनेर सम्झिनु भो । यसरी कुरा गर्दागर्दै चौडण्डी नगरपालिकाको बसाहा भन्ने ठाउमा बिहान ८ बजे चिया नास्ताको लागि गाडी रोकियो । हामीले बिहानै केही खाएका थिएनौ । चना, अण्डा र चिया अडर गरेर खाइयो सबैले । त्यसपछि पुन यात्रालाई निरन्तरता दिने काम भो । गाइघाट, कटाहरी सम्मको तराई भाग भिमान देखि चुरे पहाड सिन्धुली माडी हुँदै चियाबारी पुगेर बिहानको खाना खान गाडीले विश्राम लियो । सबैले एकै किसिमको खाना अडर गरियो । खाना खाइसकेपछी विल पेमेन्ट गरेर यात्रालाई गतिवान बनाइयो । सिन्धुली उकालो विपि राजमार्ग जापान सरकारको सहयोगमा बनेको बाटो अत्यन्तै सुन्दर लाग्ने । यो बाटोको चौडा सानो भए पनि एकदमै उत्कृष्ट बाटो लाग्ने । उकालो काटिसकेपछी सिन्धुली गढी आयो । सिन्धुली गडी घुमेर जाने सल्लाह भए बमोजिम गढीमा गइयो । सिन्धुली गढी एउटा ऐतिहासिक गढ रहेछ । त्यहा शासन गर्नको निम्ति एक राजा नै बस्दा हुन कि जस्तो टुडिखेल, सानो गढी, ठूलो गढी, दरबार, न्यायालय सबैको भग्नाबशेष देखिने । तर सिन्धुली गढीको इतिहास पढ्दा इष्ट इण्डिया कम्पनीका कप्तान किनलकले २४०० बन्दुकधारी अंग्रेज फौजहरु लिएर १८२४ आश्विन १५ गते काठमाडौ छिर्नखोज्दा गोर्खाली फौजले हमला गरेर २४०० मध्ये १६०० अंग्रेज सेनालाई मारेको युद्ध गढिको रूपमा बुझियो । त्यतिखेर गोर्खाली सेनाहरु बंशु गुरुङ र काजी श्रीहर्ष पन्तले ढुङग्रेबास तर्फको नेतृत्व गर्नुभएको थियो भने काजि वंशराज पाण्डे र खजान्ची बिरभद्र उपाध्यायको फौजले पौवागढी तर्फ नेतृत्व गर्नुभएको पाइयो । संग्रहालय लगायत सबै अवलोकन पछि फोटो सेसन गरेर त्यहाबाट फर्कियौ र गन्तव्य स्थल तर्फ अघि बढ्यौ । खुर्कोट ओरालो बाटो खुर्कोट पुगेर मुलकोट आउनुभन्दा अघिको एउटा भञ्ज्याङमा गाडीलाई गुरु जिले बिसाउनुभो । किनकी हामी सबै गाडी भित्र निदाए पछि गुरुजीलाई पनि हाइ चल्न थालेछ । हुन त भञ्ज्याङहरु युगौ देखि कसैको पर्खाइमा आफ्नो अस्तित्व सक्ने प्रेम पागल जस्तो एकोहोरो स्थिर हुने हो । जुन पृथ्वीको संरचना नबिग्रुन्जे भञ्ज्याङहरु रहिरन्छन । भञ्ज्याङको चिसो हावा संगै चिसो डिउ अनि सरिफा किनेर खायौं । त्यसपछि पुनः आफ्नो गन्तव्य पछ्याउन थाल्यौं । सुनकोशीको किनारै किनार हुँदै भकुण्डे वेसि धुलिखेल आइपुगियो । त्यहा पनि शीत भण्डार हेर्दै जाने हाम्रो सल्लाह थियो तर हामीले त्यहाको शीत भण्डार पत्ता लगाउन नसके पछि फर्किन्दा हेर्ने सल्लाह बमोजिम बाटो लागियो । धुलिखेल काटेपछि बनेपा साँगा हुँदै उपत्यका प्रवेश गरियो । उपत्यका प्रवेश गर्दा ६ बजिसकेको थियो । ट्राफिक जामले हाम्रो गाडीलाई धेरै अलमल गराईरहेको थियो । नयाँ बानेश्वर हुदै माइतीघर मण्डला पुगेर भद्रकाली तर्फ लाग्न मंजुल र तेजमान सरले चालकलाई अनुरोध गर्दै हुनुहुन्थ्यो तर टंकमाया भाउजुले तेता होइन एता हो बाटो भनेर थापाथली तिर बाटो मोडिदिनु भयो । उपत्यकाको वान वे बाटो फेरि पुरै घुम्नुपर्ने भयो । तेजमान सर कम्ता मात्र रिसाउनुभएको होइन । हामी हासी मात्र रह्यौ । हुन त उपत्यकाको बाटो हामीलाई थाहा पनि छैन । कुनै ठाउँ बाटो भुल्दै करिब ९ बजेतिर हामी सुन्धारा स्थित एभरेस्ट होटल अघि नै टंकमाया भाउजुले अनलाइन बुकिङ गरिसक्नुभएकोले त्यहा गएर बास बसियो । यात्राको चौथो दिन असोज १ गते विहान उठेर आज बिश्वकर्मा पुजा फलामको मालिक विश्वकर्मालाई पुज्नु पर्छ । हाम्रो गाडीलाई पनि पुजा गरौ गुरुजी भनेर अनुरोध गरियो । तर सुतक परेको हुनाले चालकले पुजा गर्न नमिल्ने कुरा गर्नु भयो । आजै हिन्दु नारीहरुको हरितालिका व्रत पनि परेको थियो । सरकारी अफिस महिलाहरुको लागि विदा थियो । यो अन्योलता बिच हामीले के गर्ने भनेर छलफल चलायौ । त्यतिकैमा हाम्रो सहकारी संस्थाका सचिब कृष्ण चोङबाङ पनि जोडिनु भो । उहाँ संग पनि छलफल गर्यौ । हुन त मन्त्रालयका मन्त्रीहरुलाई पनि भेट्ने हाम्रो तालिका थियो । सहरी बिकास मन्त्रालयका मन्त्री हाम्रै जिल्लाको सीता गुरुङ विदेश भ्रमणमा रहेको हुनाले भेट्न सकिने अवस्था थिएन । भुमी व्यवस्था तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठ ज्युलाई भेट्नको लागि उहाको स्वकीय सचीव रमेश बिकलाई फोन मैले लगाए तर मन्त्री ज्युको आजै उपत्यका बाहिर निस्कने कार्यक्रमले गर्दा भेट गर्न नसक्ने अवस्था बन्यो । त्यसपछि हामी रैथाने बजार हेर्ने भनी रुम चाबी लगाएर बाहिर निस्कियौ । खाना पनि बाहिर नै खाने भइयो । रैथाने बजार बन्द भएको कारण हेर्न सकिएन । त्यसपछि हामी नयाबानेश्वर स्थित थकाली होटलमा बिहानको खाना खायौ । नजिकै गाडी पार्किङ स्थल पनि भएकोले गर्दा हामीलाई सजिलो पनि भयो । खाना खाइसकेपछी एक छिन हसौली ठट्यौली गफहरु गरेर करिब सवा एघार बजे त्यहा बाट हिड्यौ । मंगला मिसको निजी कामले चाइना दूतावास पठाओ मार्फत जानुभो । हामी कृष्ण चोङबाङलाई उहाको काम विशेषले गर्दा बागमती किनार छेउ छोडेर हामी पुल्चोक स्थित राष्ट्रिय सहकारी महासंघको कार्यालयमा हानियौ । राष्ट्रिय सहकारी महासंघमा त्यहाको डिएम बाबूल खनाल संग भेट गरियो । उहाँ ३२ बर्षदेखी सहकारी अभियानमा हुनुहुदो रहेछ । हामी महासंघमा आवद्धताको प्रक्रिया बुझ्न गएका थियौ । तर यो प्रक्रिया जिल्ला संघमै हुदोरहेछ । जिल्ला सहकारी संघ तेह्रथुम त्यति सक्रिय देखिन्दैन त्यो चासो महासंघले पनि व्यक्त गरेको पाइयो । खनाल सरले सहकारीको बारेमा धेरै बिषयहरु बुझाउनु भयो । र अन्त्यमा साना किसान लघुवित्त संग हामीलाई जोड्ने काम गरिदिनु भयो । त्यस पछि हामी छुट्टियौ । र दोस्रो तलाको कार्यालय बाट सहकारी सम्बन्धि पुस्तकहरु किनेर फर्कियौ । त्यहा हामिले बुझेर या नबुझेर भ्याट विलको बारेमा निक्कै छलफल गरियो । महिलाहरु एक धुर लाग्ने हामी पुरुषहरुलाई त बोल्न नै नदिने गरि जिद्दी पन खोजिहाल्ने महिलाहरु । त्यसपछि सहकारी बोर्डमा निस्कने हाम्रो योजना त्यहा हाकिम नभएकोले गर्दा सफल हुन सकेन । त्यहाबाट हामी युवा तथा साना व्यवसायी स्वरोजगार कोषको मुख्य कार्यालयमा निस्कियौ । उक्त कार्यालयका हाकिम कार्यकारी निर्देशक विश्वमन अधिकारी ज्यु संग साक्षत्कार गरियो । कोषको ॠण हाम्रो सहकारीले पनि चलाएको हुदा त्यसको चुक्ता प्रक्रिया बारे हामिले बुझ्नु थियो । र हाकिम सावले चाडो चुक्ता गर्न सुझाव दिनुभयो । यसपछी हामी विदा भएर राष्ट्रिय कृषि अनुसन्धान तथा विकास केन्द्र खुमलटार तर्फ हानियौ । त्यहा विभिन्न बीउ विजन र नर्सरी सम्बन्धि साथै माटो परिक्षण, किट विज्ञान जस्ता बिषयहरुको बारेमा अनुसन्धान हुदोरहेछ ।
No description available.
यहाँको सर प्रगुन सैंजु संग भेटघाट गरियो । उहाले काली ज्याम्बिरको बारेमा कुरा सुनाउनु भयो । यो ज्याम्बिरमा औषधिय गुण हुने हुदा औषधि कम्पनीहरुले धेरै खोज्ने गरेको पाइन्छ । र तेह्रथुममा यसको सम्भावना छ भने सहयोग गर्न तत्पर रहेको कुरा जानकारी गराउनु भयो । यसको खेती गर्न सके निक्कै सम्भावना रहेको बुझियो । हुन त यो ज्याम्बिर हाम्रो तिर पाखा भरी बेवारिसे अवस्थामा छ । यहाँ बाट इङ्वा खापुङ हुक्पा चोङबाङ बोजु पनि जोडिनु भयो । उहालाई पनि लिएर त्यहाबाट साना किसान लघुवित्त संस्थाको कार्यालय बरबरमहल तर्फ लाग्यौ । संस्थाको सिओ शिवराम कोइराला र डेपुटी सिओ डा. नबराज सिम्खडा सरहरु संग भेटेर चिनजान गरियो । सिम्खडा सरलाई त अघि नै सहकारी महासंघ बाट बाबूल खनाल सरले फोन गरेर भेट्नको लागि खबर गर्नुभएको थियो । तेह्रथुमको भनेपछि उहाहरु पर्खेर बस्नुभा रहेछ । आफ्नो मिटिङ समेत छोडेर समय मिलाउनु भएको रहेछ । हामीले धेरै कुरा बुझ्नु थियो संस्थाको बारेमा । सहकारी आवद्धताको बारेमा तर ठिक उल्टो हामीले बुझ्नु भन्दा धेरै हाम्रो बारेमा बुझ्न खोज्नुभो उहाहरुले । सामान्यतया यस लघुवित्तमा आवद्ध हुन ३७५ जना सेयर सदस्य भएको हुनुपर्ने रहेछ सहकारीमा त्यस्तै ५० लाख कुल पुजी भएको हुनुपर्ने रहेछ । यति भए पछि ६० प्रतिशत लगानी उसले गर्नेरहेछ । हाम्रो सहकारीको सदस्य संख्या नपुग्ने हुनाले यस संस्थासंग तत्काल आवद्ध हुन सकिएन । बाकी दिनमा मापदण्ड पूरा गरिसके पछि आवद्ध हुने प्रतिबद्धताका साथ छुट्टियौ । बाहिर निस्कन्दा मंजुल जि बिरामी भएर सारै पार्ला झै हुनुभएको थियो । टिमले बोकेको औषधि दिएपछि त्यहाबाट हामी समशितोष्ण वागवानी केन्द्र किर्तिपुर प्रस्थान गर्यौ । विच बाटोमा मंगला मिसले आफ्नो काम सकेपछि फेरि हामी संग जोडिनुभो उक्त केन्द्रमा वरिष्ठ वागवानी अधिकृत पदम प्रसाद अधिकारी संग भेटघाट गरियो । त्यहा विभिन्न बोटविरुवाहरुको नर्सरी गर्ने कार्य हुदोरहेछ । विशेष गरेर जापानीज नास्पाती, जापानीज हलुवा वेद, जुनार, एबोकार्डो, चुच्चे ओखर, दाँते ओखर, पहेँलो किवी आदि फलफूलहरुको नर्सरी गरेको पाइयो । बगान पनि हेरियो । बोटबिरुवामा प्रत्येक फललाई कत्ती समय राख्ने भनेर बोटैमा र्यापिङ गरेर राखेको पाइयो । सबै बोटबिरुवाहरुलाई काटछट गरेर मिलाएर राखेको पाइयो । अरु क्षेत्र भन्दा धेरै व्यवस्थित नर्सरी भएको भेटियो । त्यहाको अवलोकन सकिएपछि जापानीज नास्पातिको बिरुवा ल्याउने भनेर अधिकारी सर संग सल्लाह गर्दा बिरुवा सिद्दिएकोले ल्याउन सकिएन कुनै दिन कोहिलाइ सम्पर्क गरे पठाइदिने वचन दिनुभयो हामीलाई । पत्राचारको लागि कार्यालयको इमेल दिनुभयो । त्यसपछि हामी सिधै किरात याक्थुङ चुम्लुङको संघीय कार्यालय ललितपुर मोडियौ । कियाचु कृषि सहकारी चुम्लुङको उदेश्य पूरा गर्नलाई चुम्लुङ तेह्रथुमकै पहलमा स्थापना भएको बिषयगत संस्था हो ।
त्यसैले यो टिम काठमाडौ सम्म पुग्दा कसो चुम्लुङ ननिस्कनु र? त्यसैले त्यहा पनि सवार भइयो । चुम्लुङ अफिस पुग्दा साढे पाँच बजिसकेको थियो । त्यहा चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन महासचिव निरन्ती तुम्बापो कोषाध्यक्ष अमर तुम्याङहाङ लिम्बू संग नया साथीहरू साक्षत्कार गरिसके पछि त्यहा बाट पनि छुट्टियौ । हामीलाई भोक लागिसकेको थियो त्यसैले खाजा खान भनी नखिपोट स्थित होटल चौतारीमा इङवा बोजुले लानु भयो । त्यहा खाजा चाउमिन, मम र थुक्पा अडर गरेर खाइसके पछि हामी छुटिनु पर्ने भो । इङवा बोजु सातदोबाटो रहनुहुने भो भने मंगला मिस फेरि भक्तपुर आफन्तकोमा जानुहुने भो उहालाई पठाओ नै बोलाएर पठाइसके पछि इङवा बोजुलाई सातदोबाटो छोडियो । हामी सरासर आफ्नो होटलमा आएर एकछिन बजार घुमी पुन होटल प्रवेश गरि खाना खाइसके पछि आराम गर्यौ । यात्राको पाचौ दिन असोज २ गते अब भने हाम्रो काठमाडौ बसाइलाई बिट मार्दै लिम्बुवान फर्किनु पर्ने समय आयो । तर हाम्रो अध्ययन अवलोकन भ्रमणको चाहिँ बिट मरेको छैन । अझै २ वटा शीत भण्डारको अवलोकन गर्न बाकी छ । विहान करिब ७ बजे सम्ममा सबै उठिसकेका थियौ । तेजमान सरलाइ पनि अलि विसन्चो भए झै गर्न थाल्यो । मैले काठमाडौ सम्म जादा मुक्साम लाओतीको सम्पादनमा रहेको हाम्रो गजलहरुको संग्रह याक्थुङ गजल भाग १ पुस्तक लिनुलाई अघिल्लो दिन देखि कोसिस गरिरहेको थिए । तर आज बिहान निशेष आङ्देम्बे सरले पठाओ मार्फत हात लगाइदिनु भयो । हामी ८ बजे होटलबाट विदा भयौ । गाडीमा समानहरु लोड गर्न थाल्यौं । सबै गाडी चढे पछि बिस्तारै गाडी अघि बढ्न थाल्यो । त्यति नै खेर होटलका भाइहरुले गाडी रोक्नुभो । जोनि बैनिको नागरिकता र केही समान छुटेछ । ल्याइदि सके पछि गाडी अघि बढ्न थाल्यो । बिस्तारै बिस्तारै काठमाडौ लाई छोड्न थाल्यौ । कोटेश्वर पुगेपछि मंजुल जि ओर्लनु भो उहाँ त्यहा निस्किएर भरै माथी आउनुहुने भो । जति जति गाडी अघि बढ्छ उति नै हामिले टेकेका ठाउहरु छोडिन्दै गइरहेका छन । लाग्छ एउटा सुदुर सम्झना जस्तो मात्र रहने भो यो हाम्रो यात्रा । हुन पनि यात्रा न हो छोडिने भेटिने त स्वभाविक नै हो । मंगला मिसलाई गठ्ठाघरमा पर्खिनुपर्ने भयो । एकछिन पछि मिस आइपुग्नुभो त्यसपछि हामीले आफ्नो यात्रालाई अघि बढायौ । केही समय पछि भक्तपुरको जगदी स्थित भोटेकोसी शीत भण्डार पुग्यौ । करिब बिहानको ९ बजिसकेको थियो । त्यहा शीत भण्डारका व्यवस्थापक सरोज कुमार श्रेष्ठ संग भेटघाट भयो । उहाले शीत भण्डार बारे धेरै कुराहरु बताउनुभयो । यो शीत भण्डार भोटेकोसी कम्पनी ग्रुप द्वारा संचालन गरिएको रहेछ । यहाँ शीत भण्डार भाडामा प्रयोग नहुने रहेछ । सबै संचालकहरुले आफै समान जुटाएर भण्डारण गरेको पाइयो । यो शीत भण्डार एक हजार मेट्रीकटन एमोनिया ग्यास बाट संचालन भएको पाइयो भने पचास टन चाहिँ स्वचालित सिस्टम बाट संचालन भएको पाइयो । यसको संचालन प्रक्रिया हाम्रो कोल्ड स्टोर संग मिल्दो जुल्दो रहेछ । जुन हामीले पनि अहिलेसम्म आफै समान स्टोर गरेर संचालन गरिरहेका छौ । यस शीत भण्डार संचालकहरुको जुम्लामा पाँच सय रोपनी जग्गामा स्याउ खेती रहेको भेटियो । यसले आफै व्यवसायिक बन्नुपर्छ भन्ने उदाहरण प्रस्तुत गर्दछ । हामीले व्यवसायीक पाटोलाई भर्खर बुझिरहेका छौ । स्याउ, किवि, नास्पाती लगायतका बस्तु भण्डारण गरिएको यस शीत भण्डारमा पनि विदेशी उत्पादन बाट उत्पादित बस्तु बढी जस्तो पाइयो । अन्त्यमा हाम्रो शीत भण्डार र भोटेकोसी शीत भण्डारले किवी र सुन्तलामा सहकार्य गरेर व्यापार गर्न सकिने मौखिक बुझाइका साथ हामीले बसाइलाइ अन्त्य गर्यौ । मंजुल जि पनि आइपुग्नुभयो । त्यहा बाट हामी उकालो लाग्न थाल्यौ । जति माथी माथी जान्छौ त्यति नै उपत्यका हाम्रो आखाको नानी बाट दुर-दुर बन्दै गइरहेको छ । साँगा कटेपछी उपत्यका हाम्रो आँखा बाट हरायो । हामी बनेपा पुग्यौ । एतिखेर ११ बजिसकेको थियो । बनेपा भिआईपी थकाली रेस्टुरेन्टमा खाना जोनि बैनिले अघि नै अर्डर गर्नुभएको थियो । खाना खाएर विल पेमेन्ट गरेपछि हामी त्यहाबाट निस्कियौ । बाहिर एक छिन टंकमाया भाउजूले किराना पसलमा टाइचिन चिउरा किन्नुभयो । यो चिउरा धेरै नै मीठो हुदोरहेछ । त्यसपछि हामी पनौती शीत भण्डार गुगलमा खोज्दै निस्कियौ । प्रविधिको जमाना युगले कोल्टे फेरेपछी विचित्रै हुदोरहेछ । हामी जहाँ जहाँ घुम्यौ । कसैलाई बाटो सोध्नुपरेन सबै गुगलको सहयोग मार्फत नै घुमियो । यस मानेमा गुगललाई धन्यवाद दिनैपर्छ । करिब ३० मिनेट गाडीमा सवार गर्दा मात्रै जगदम्बा शीत भण्डार पुगियो । जुन काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ९ मा पर्दोरहेछ । त्यहा पनि मुख्य संचालक भेटिनुभएन तर स्टोर किपर सन्तोष खड्का भेटिनु भयो । यस शीत भण्डारमा मुख्य गरि आलु मात्र भण्डारण गरिन्दो रहेछ । पाँच हजार मेट्रीकटन क्षमता भएको यस शीत भण्डारमा प्राय बीउ आलु ६ महिना बढी स्टोर गरेर राखिन्दो रहेछ । आलुको बारेमा मजाले बुझ्न सकियो यहाँ । आलुका पनि धेरै प्रजाती रहेछन । जात अनुसार तापक्रम पनि निर्धारण हुदोरहेछ । नत्र बिग्रीने सम्भावना बढी हुदोरहेछ । एमोनिया ग्यास बाट संचालन भएको यस शीत भण्डारमा गाउका किसानहरुले पनि भाडामा थोरै भएपनी आफ्नो समान राख्न सक्ने रहेछन । अन्य त व्यापारीहरुलाई भाडामा नै प्रयोग गर्न दिदारहेछन । सिन्धुपाल्चोक, मुडे, जलबिरे, नुवाकोट र रसुवा सम्मको आलुहरु यहाँ भण्डारण गरिएको पाइयो । यसरी अवलोकन गरिसके पछि उहाहरुले आलुको विउको लागि सम्झिनुहोस है भने अन्त्यमा फोटो सेसन गरेर बिदाइका हातहरु हल्लाउन थालियो । उहाहरुले नै मुख्य बाटो भेटिने अर्को बाटो देखाउनु भयो र त्यहा बाट हामी निस्कियौ । पनौती गाउँ बसेको ठाउँ रहेछ । एक किसिमले अनौठो पनि लाग्ने जहाँ पनौतिका खेतभरी धान पाक्न लागेको देखिन्थ्यो भने बारिहरुमा मकै भर्खर सुक्दै गरेको । कस्तो वातावरण भएको ठाउँ मलाई चाहिँ धेरै नै फरक दृश्य लागिरहेको थियो । केही समयको गतिपछी हामिले विपि राजमार्ग भेट्टायौ । अब चाहिँ हाम्रो अध्ययन अवलोकनको सम्पुर्ण कार्यको बिट मर्यो । एतिखेर हामी भकुण्डे बेसि प्रवेश गरिसकेका थियौ । जति जति गाडीले आफ्नो गति तिव्र बनाउदै जान्छ हाम्रो अध्ययनका स्रोतहरु भएको ठाउहरुलाई धेरै पछाडी छोडिराखियो जस्तो लाग्न थालेछ मलाई । यात्राका अनेकौ मोडहरु हुन्छन तर यो यात्रा मेरो र सम्पुर्ण टिमको लागि बेग्लै मोडको यात्रा लागिरहेको छ मलाइ । बाटो भरी आफ्नो आफ्नो तर्क पेश गर्दै फर्किरहेका छौ । खासगरी कुमारी फुपू र जोनि बैनिले मेरो कुरामा कन्ट्रोल गरिहाल्ने । जोनिलाई बैनी भन्थ्ये मैले तर यथार्थमा जोनि म भन्दा उमेरले दिदी थिइन । पहिला नै उमेर नछुट्याइ बैनी भनिएकोले बानी परिएछ । त्यो निरन्तर मुखमा झुन्डिरह्यो । भकुण्डे वेसि कटेर सुनकोसी नदि भेट्न दौडिरहेका छौ । सुनकोसी पुग्नुभन्दा माथी एउटा खोला थियो । त्यस खोलाको बगरहरुमा फुलेको कासलाई हावाले हल्लाउदा सिमलको भुवा झै देखिने दृश्यहरु कति मनोरम लाग्ने । हामी सुनकोसी आइपुगे छौ । तल सुनकोसी नदी बगिरहेको छ । एता आफ्नो मन अनाहकका सपनाहरू बुन्दै बगिरहेको छ । मुलकोट आइपुगेपछी कफी खानलाई गाडीलाई विश्राम गरायौ । कफी आफ्नो आफ्नो रोजाइमा अडर गरियो । साथमा अण्डा पनि अडर भो यो संगै अघि नै महिलाहरुले छोइला (पोलेको मासु) बोक्नुभएको रहेछ त्यो सबै एकैचोटि खाइयो । खाइसके पछि हामीले हाम्रो पाइला अघि बढायौ । सुनकोसी नदिको छालले सप्तकोसी भेट्न हतारो गरेझै हामिले पनि आफ्नो गतिलाई वेगवान बनायौ । विरक्तिन्दै खुर्कोट उकालो लाग्यौ । यतिखेर सम्ममा समयले पनि हामीलाई छोड्न थालिसकेको थियो । साढे पाँच बजे तिर हामीले सिन्धुली गढी काट्यौ । ओरालो बाटो गाडी हुइकिरहेको बेला जोनि बैनिलाई स्वासप्रस्वासमा समस्या ल्यायो । एकछिन गाडी रोकेर औसधि मुलो गरिसके पछि पुन अघि बढ्यौ । करिब पौने सात बजे तिर हामी सुन्धुली जिल्लाको सदमुकाम माडी कमलामाइ नगरपालिका पुग्यौ र अनमोल होटल बुकिङ गरि त्यही बास बसाइ भयो । आज यात्राको अन्तिम दिन यानिकी छैटौं दिन यात्रा भन्नू पनि कसरी, हामी सबै कामलाई बिट मारेर घर फर्कन्दै गरेको फिरन्ते न हौ । साल सम्बत र मितिले ठ्याक्कै नेपालमा विभेदकारी संविधान जारी भएको दिन परेछ । मोबाइलको स्क्रिन पल्टाउदा थाहा भयो असोज ३ कालो दिन भनेर पोष्टहरु मोबाइलका भित्ताभरी थिए । मैले पनि एकाबिहानै उक्त कुरा पोष्ट्याइ दिए ल जाओस भनेर । हामी सबै उठिसकेर चिया खायौ ।
No description available.
पाँच दिन सम्म शीत भण्डार तथा अन्य बजारहरु अवलोकन, अध्ययन भ्रमण गरेर टिप्पणी गरिएका बिषयहरुलाई सारंशमा मिलाउने काम सम्पन्न गरियो । यतिखेर सम्ममा बिहानको ९ बजि सकेको थियो । हाम्रो बिरामी संख्या झन बढिरहेको छ । कुमारी फुपूलाई पनि बिरामले च्यापे जस्तो देखिन थाल्यो । गाडी चालकले गाडी धुन लगेर ल्याउनु भयो । अब भने हामी त्यहाबाट पनि फर्कियौ । सिन्धुली माडीलाई किनारा लगाउदै हाम्रो गाडी अघि बढ्यो । गाडीको गतिले हाम्रो पुर्वका सुन्दर शहरहरु इटहरी धरान भेट्नलाई हतारो गरिरहेको छ । हामी साढे बाह्र बजे गाइघाट पुगेर धनवी थकाली भान्छाघरमा बिहानको खाना खायौ । जब हाम्रो काठमाडौ देखि प्रायः खाना खाने भान्छाघर थकाली नै रोजाइमा परिरहेको थियो । किनकी थकाली भान्छाघरमा अरु भन्दा परिकार अलि धेरै नै बन्दोरहेछ । मैले चाहिँ यो यात्रा भन्दा पहिले थकाली भान्छाघरमा खाना खाएको थिइन । यहाबाट पनि हामी पुर्व प्रस्थान गर्यौ । गाडीको गतिले सप्तकोशी नजीक पुर्याइसकेको थियो । मनमनै सुनकोशीको पानीको छाल पनि यहाँ आइपुग्यो होला ! अब त भेट भयो भनेर सम्झिए । सप्तकोशीको पुल तरेर अघि बढ्दै इटहरी गएर सन्तोष निङलेकु संग भेट गर्ने सल्लाह गरियो । किनकी शीत भण्डार व्यवस्थापन बारे उहाँको पनि केही सहयोग आवश्यकता थियो । सल्लाह अनुसार इटहरी तर्फ लागियो । इटहरी पुगेर अन्नपूर्ण होटलमा पसियो । सन्तोष सर आइपुग्नुभएको थिएन । हट लेमन अडर गरियो । सन्तोष सर आइपुग्नुभयो । के खाने भन्दा लस्सीको अडर भो । केही छलफल पछि त्यहाबाट पनि हामी छुट्टियौ । उकालो धरान पुगेर तेजमान, मंजुल सर र टंकमाया भाउजुहरुको केही व्यक्तिगत काम परेकोले रोकिनु पर्ने भो । हामी माछा भौडिमा गएर कुमारी फुपू र जोनि बैनिले नास्ता गर्नुभो । मैले सिद्रा किने । पहाडमा सिद्रा र लोकल टमाटरको अचार मीठो । तराईमा यसलाई घृणा गर्छन । सबै जम्मा भइसकेपछी पुन गाडीलाई अघि बढायौ । अब त घर भेट्न हामीलाई हतारोले छुन थालिसकेछ । समयले पनि हामी संग बिदा माग्न खोजिरहेको थियो । भेडेटार पुग्दा करिब साढे चार बज्न लागिसकेछ । अघिका कुराहरू बिर्सिन लागेको बेला घण्टे तल लेउती खोलाको बगरमा फुलेको काशको फुल देख्दा सुनकोशी भन्दा माथिको खोलाको बगरमा फुलेको काशको फुलको याद झल्झल्ती आइरह्यो । यो दृश्यले पुन मलाई पछाडी धकेल्यो । हामी मुलघाट तरेर ६ बज्न लाग्दा धनकुटा बजार पुग्यौ । त्यहा पनि तेजमान सरको केही सामान रिसिभ गर्नु पर्ने थियो । सामान रिसिभ गरेर हिले उकालो लागियो । बाटोमै रात परेकोले गर्दा बसन्तपुर खाना खाएर जाने सल्लाह अनुसार टंकमाया भाउजुले ताप्लेजुङ होटलमा खाना अडर गर्नुभो । सिधुवा उकालो भालुखोप पुग्नलाग्दा बाटो नदेखिने गरि हुस्सु लागेर आकाश बाट कुनै अमुक बस्तुले स्वागत गरे जस्तो पानी पर्न थाल्यो । बिस्तारै हामी साढे सात बजे बसन्तपुर पुग्यौ । खाना खाइसकेर मंजुल जि त्यही रहनुभो । हामी म्याङलुङ प्रस्थान गर्यौ । लसुने सुर्के हुँदै जिरिखिम्तिमा मंगला मिस रहनुभयो । हामी करिब सवा नौ बजे मेयङलुङ आइपुग्यौ । म बस पार्क ओर्लिए सबै टिम संग बिदा मागी हामी छुट्टियौ ।
६ दिने व्यवसायीक सहकारी यात्रामा निस्कन्दा बुझेको केही कुराहरू
१. हामी नेपालीहरु सबै परनिर्भर रहेछौ ।
२. नेपाली भुमि उर्वर भुमी भए पनि उत्पादनको क्षेत्रमा हाम्रो दिमाग सेट गर्न निक्कै समय लाग्ने रहेछ ।
३. बजारको सन्दर्भमा बिचौलियाको कारण साना किसानहरु मारमा परिरहेका छन ।
४. उत्पादित बस्तुलाई ग्रेडिङ, प्याकेजिङ र ब्राण्डिङ गर्नुपर्ने रहेछ ।
५. नेपालमा चलेका सबै शीत भण्डार र सुपर मार्केटहरु बिदेशी समानले भरिएका रहेछन । यानिकी स्वदेशी उत्पादनका समानहरु प्राय शुन्य जस्तै रहेछन ।
६. मिहिनेत गरे कृषिमा अत्यधिक सम्भावना रहेछ ।
७. हामीले सामुहिक कृषि व्यावसाय गर्नुपर्ने रहेछ । जसले नेपालको बजारमा भएको मागलाई पूरा गर्न सकिन्दो रहेछ । सानोतिनो उत्पादनले ठूलो मागलाई पुर्ती गर्न सकिन्दैन ।
यति भैसकेपछी अन्त्यमा हामीलाई हाम्रो यात्रामा सहज तरिकाबाट ड्राइभ गर्ने चालक अनि धरान देखि काठमाडौ सम्मको जुनजुन शीत भण्डार र बजार तथा कार्यालयमा अमुल्य समयका बाबजुद पनि भेट गर्न समय उपलब्ध गराउनुहुने प्रमुख तथा कर्मचारी ज्युहरुलाई धेरै धेरै धन्यवाद अनि सम्झना सहित
ए.. सारङगी मीठो धुनैले ।
घुमेर बुझ्ने उनैले ।
यात्राको कथा रचिएछ,
लेख्नलाई मसि सकिएछ ।
(लेखकः तेह्रथुम जिल्लामा सामाजिक अभियान्ताकाे रूपमा लाेकप्रिय यस न्यूज पाेर्टल लिम्बुवान खबर डटकमका सम्पादक हुन्)

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...