कविता : दशैं शुभकामना

 लिम्बुवान न्युज
                       

  •  सेसेहाङ् फियाक

हाम्रो लिम्बुवानमा जन्मेपछि
आजकै दिन मौलोनेर उभिएर
मान्सिरी पढ्दै मार काटेर पनि
दशैंको शुभकामना बाँढें ।
सुभाको आदेशमा
गाउँ घर घुमीघुमी दुर्गा भवानी जप्दै
जाँड, पानी, मासु, तरकारी
मागी खाँदै पनि
शुभकामना बाँढे ।
दिनहरू वित्दै आउँदा
ससुरालीमा घ्याम्पा घ्याम्पा
रक्सी र हक्तबाको नाममा राँगा र सुँगुर
कोसेली लगिदिएर पनि
अनि आफूले थापी खाएर पनि
शुभकामना बाँढे।
अनि घरगाउँमा
खसी, राँगा, सुँगुर
हजारौै मारिखाएर पनि दशैंको
शुभकामना बाँढे।
दशैंको बेलि पाहुना जाँदा दिनमा
दश ठाउँ मेजमान खाएर
दिनमा दश चोटि पाहुनालाई मेजमान ख्वाएर
रात दिन धान नाच्दै पालाम गाएर पनि
दशैंको शुभकामना बाँढे।
तर
ती कुरा अब सबै अतीत भए
ती कुरा सबै विगत भए
ती कुरा अब मेरा लागि पुराना भए
किनकि,
अहिले दशैं मेरो हो कि होईन भनेर
आन्दोलन मच्चिएको छ मेरो मानस पटलमा
दशैं मनाउन खसी किन्न जाँदा बजारमा
यो चाड हिन्दूको मात्र भन्ने हल्ला सुन्छु
चिउरा कुटाउन मिलमा जान्छु, त्यहाँ
असुर राक्षसलाई मारेर खुसीमा मनाको भन्ने सुन्छु
असुर भनेको म जस्ता थेप्चेको पुर्खारे भन्छन्
अनि दशैं त चुच्चेहरूको मात्र रे पनि भन्छन्
हल्लै हल्ला सुन्छु
बेतुकको हल्ला
म त छुवाछुत बिनाको मुन्धुमी दर्शनको मान्छे
म त हत्या हिंशा नजान्ने मुन्धुमी दर्शनको मान्छे
चुच्चे थेप्चेको बर्गिय नगर्ने मुन्धुमी सन्तान
अनि राक्षस र देवताको युद्धको कथा नजान्ने मान्छे
दशैंले
मेरो चित्तै बुझाउँदैन र नि
अब त निधारभरि केवल आदर्शको टीका थापेर
शुभकामना बाँड्दिन कि भन्छु
किनकि
दशैंले मलाई हत्या हिंसा विनाको शिक्षा नै दिएन
दशैंमा खसी काट्ने, राँगा मार्ने, सुँगुर मार्ने र
पेट फुल्लिने गरि खाने मात्र सिकाए
लाखौं जीवजन्तुको बलिपूजा र हत्या मात्र सिकाए
म कसरी अबलम्वन गरूँ र
शुभकामना बाँडुँ ।
अझ यसपाली त झन्
विश्व महामारी कोरोनाले
मेरा सबै खुशीहरू छिनालेको बेला
मेरै करको पैसा दशैं भत्ता थापिखाने
नेताहरूको अनुहार सम्झँदा जुत्तै जुत्ताले
गाला गालामा हानुँ जस्तो भईराबेला
राज्यले जनतालाई कुनै राहत आहत केही
नदिएर आआफ्ना झुप्रोमा रोईरहेको बेला
दशैंको के शुभकामना बाँड्नु र रु
विगत एक वर्षदेखि
मेरो राज्यले दिन दिनै रोगले
मान्छे संक्रमित भएर मरिरहेको खबर
अनि
रोग, भोक र शोक रोक्न नसकिएको खबर बाहेक
केही पनि दिन नसकेको समयबिचमा आएको दशैं
म जस्ता लाखौं जनतालाई दशा बनेको छ ।
म जस्ता लाखौं जनतालाई अभिशाप बनेको छ ।
म जस्ता लाखौं जनतालाई निल्न न ओकल्न भाको छ ।
दशैं भनौं या तिहार भनौं
सत्ता र भत्ताका घोडाहरूलाई मात्र मज्जा छ
सत्ता र भत्ताका नोकरहरूलाई मात्र गजब छ
किनकि
ढुकुटी रित्याएर पेट भर्ने उनीहरूलाई मात्र मस्ति छ
देश रित्तो बनाएर पनि सम्मान उनीहरू कै छ
जनता त
म जस्तै झुप्रोमा रात दिन रोएर बस्ने त हो नि
जनता त सडकभरि अभावमा भौतारिन्दै हिड्ने त हो नि
दशैं आए पनि तिहार आए पनि
जनताहरूको रोदनको र विरहको आवाज नसुन्ने
मेरो मुलुक र भूमिमा उभेर
खोइ कसरी
दशैंको शुभकामना बाढुँ?

(हाम्राे दमकबाट)

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...