दशैंमा २० हजार नेपाली भित्रीए, टिकासम्म २५ हजार नाघ्ने अनुमान

 लिम्बुवान न्युज
                       

काठमाडौं /  पछिल्लाे तथ्यांक हेर्दा दशैंकाे मुखमा करिब २० हजार नेपाली स्वदेश फर्किएका छन् । लकडाउनपछि विदेशबाट फर्किएका नेपालीको संख्या १५ दिन अघिसम्म ९४ हजार मात्रै थियो । आइतबारसम्म यस्तो संख्या एक लाख १४ हजार १८ पुगेको हाे । दशैंको टीकाको दिनसम्म स्वदेश फर्किने नेपालीहरुको संख्या २५ हजार नाघ्ने अनुमान गरिएकाे छ ।

करिब एक लाख नेपाली प्रमुख श्रम गन्तब्यबाटै फर्किएका हुन् । खाडी मुलुकहरु, मलेसियासहित  माल्दिभ्स, जापान, कोरिया, टर्की लगायतका देशबाट फर्किने अधिकांश श्रमिकहरु नै हुन् ।  धेरैजसोले अाफ्नाे रोजगारी गुमाएर अाएका छन् ।

सामान्य अवस्थामा प्रमुख श्रम गन्तव्य मुलुकमा कार्यरत धेरै नेपालीहरु दशैंमा घर आइपुग्न चाहन्थे । अहिले फर्किनेमा अधिकांश रोजगारी गुमाएर फर्किएका श्रमिकहरु रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव बताउँछन् ।

कोरोनाको महामारीले उत्पन्न असहज अवस्थाका कारण आधिकांश श्रमिकले दशैंमा घर विदामा आउने योजना बनाएनन् । त्यसमाथि नियमित उडान संख्या घटेकाले टिकट सजिलै नपाइने र नेपालमा पनि लगातार महामारी बढेकाले धेरै श्रमिकले विदेशमै दशैं मान्ने निर्णय गरेका हुन् ।

लकडाउनका कारण भिसा सकिएर विदेशमा अलपत्र परेका नेपालीहरु दशैं मान्न घर आइपुग्न पाए हुन्थ्यो भन्ने सोचमा भएपनि कतिले सस्तो टिकट पाउन सकेका छैनन् ।

सरकारले मलेसियासहित खाडीका सबै गन्तव्यमा नियमित उडान खोलिसकेको छ । दैनिक कोटा हटाएर नियमित उडान खोलेपछि अलपत्र परेका धेरै नेपाली फर्किसकेका छन् ।

नियमित उडान खुलेपछि घर फर्किन इच्छुकहरुले टिकट काटेका छन् । अहिले समस्यामा परेकाहरुलाई स्वदेश फर्किन दूतावासमा प्राथमिकताको सूचीमा पर्न रोइकराइ गर्नुपर्ने अवस्था छैन ।

सरकारले भदौ १६ गतेबाट शर्तसहित नियमित अन्तर्राष्ट्रिय हवाई उडान खोलेको थियो । त्यतिबेलैदेखि ७२ घण्टाको पीसीआर परीक्षण गरेर आएमा सीधै घर जान पाइने नियम ल्याइएको छ ।

पीसीआर नगरेका यात्रु बोकेको विमानमा आए होटलमा ७ दिन क्वारिन्टन बसेर घरमा १४ दिन होम क्वारिन्टिन बस्नुपर्ने नियम छ ।

मलेसियामा कोरोना संक्रमण नियन्त्रणमा आउने चरणमा रहेकाले कतिपय पहिले नेपाल फर्किन चाहेपनि अब नफर्किने निर्णय गरिसकेका छन् । भिसा थपेर बस्न चाहेमा कम्पनीले पनि सहजीकरण गरेका छन् ।
अहिले नियमित भए पनि नेपालबाट फर्किने श्रमिकहरु नभएकाले स्वदेश आउने हवाई भाडा विगतकोभन्दा महँगो तिर्नुपर्ने अवस्था भने छ । विदेशका चालु हालतका कम्पनीले सकेसम्म श्रमिकलाई भिसा थपेर बस्न प्रोत्साहन गरेका छन् ।

नेपालमा महामारी बढ्दो अवस्थामा देखिएकाले विदेशमा भिसा नसकिएका र अन्य समस्यामा नपरेकाहरु यो वर्ष दशैं लक्षित गरेर घर आउने आएको देखिँदैन ।

यात्रा सहज नहुने र विदेशबाट फर्किएकाहरुलाई समाजमा सहज रुपमा नलिइने अवस्थाका कारण पनि बाध्यात्मक बाहेकको अवस्थामा श्रमिकहरु कमै नेपाल उडिरहेको दूतावासका अधिकारीहरुको भनाइ छ ।

कोभिड–१९का कारण सबैभन्दा धेरै श्रमिक प्रभावित भएको मुलुक यूएई हो । यूएईमा करिब ५० हजार नेपाली स्वदेश फर्किन चाहनेको सूचीमा थिए । त्यसमध्ये १५ हजार नेपाली चार्टर्ड उडानबाट फर्किए । आइतबारसम्म त्यहाँबाट ३२ हजार ७९० सयभन्दा बढी नेपाली फर्किएका छन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इत्तिहाद एयरवेज, फ्लाइ दुबई र एयर अरेबियाले त्यहाँबाट नियमित उडान भरिरहेका छन् ।

यूएईस्थित दूतावासकी राजदूत रिता धिताल नियमित उडान सुरु भएपछि दशैंमा फर्किने श्रमिकलाई समस्या नरहेको बताउँछिन् । तर, नियमित उडानको टिकट अझै पनि विगतको तुलनामा महँगो भने छ । टिकट नपाएर अलपत्र परेर बस्नुपर्ने अवस्था अहिले यूएईमा छैन ।

मलेसियाबाट अहिले हप्तामा २३ वटा नियमित उडान भइरहेको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार समस्या भोगेर बसेका श्रमिकहरु नियमित उडानबाट फर्किने क्रम जारी छ ।

अहिले मलेसियाबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, मालिन्दो एयरलाइन्स र मलेसियन एयरले नियमित उडान भरिरहेका छन् । ‘नियमित उडान नखुल्दासम्म नाम टिपाउनुभएका करिब ९ हजार व्यक्ति फर्किन बाँकी हुनुहुन्थ्यो, अहिलेसम्म उहाँहरुमध्ये धेरै नेपाल पुगिसक्नुभयो,’ पाण्डेले भने । राजदूत पाण्डेका अनुसार मलेसियाबाट आइतबारसम्म १६ हजार २८४ नेपाली फर्किएका छन् ।

मलेसियामा कोरोना संक्रमण नियन्त्रणमा आउने चरणमा रहेकाले कतिपय पहिले नेपाल फर्किन चाहेपनि अब नफर्किने निर्णय गरिसकेका छन् । भिसा थपेर बस्न चाहेमा कम्पनीले पनि सहजीकरण गरेका छन् ।

कतारबाट चार्टर्ड उडान भइन्जेल करिब १० हजार नेपाली फर्किए । आइतबारसम्म त्यहाँबाट २० हजार २५७ जना श्रमिक नेपाल आएका छन् ।

कतार एयरवेज, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले उडान नियमित गरेका छन् । कतारबाट फर्किन सहज अवस्था बनेको राजदूत डा. नारदनाथ भारद्वाज बताउँछन् । आफूलाई पायक पर्ने उडान श्रमिकले नै रोज्दै फर्किरहेका छन् ।

यदि कोही श्रमिक टिकट काट्न नसकेर अलपत्र पर्ने अवस्था आएर नेपाली दूतावास, गैह्रआवासीय नेपाली संघ र त्यहाँका विभिन्न सामाजिक संघसंस्थाले बनाएको कोषको रकम उपयोग गरेर निःशुल्क फर्काइने भारद्वाजले बताए ।

सरकारले ल्याएको निःशुल्क उद्धारको निर्देशिकाको मापदण्डमा पर्नेलाई त्यसबाटै सेवा दिने सकिने उनको भनाइ छ । कतार सरकारले कोही विदेशी श्रमिक कामविहीन भए अर्को कम्पनीमा जान दिने नीति ल्याएकाले त्यसबाट नेपालीले पनि लाभ उठाउन सक्ने दूतावासले जनाएको छ ।

यसले गर्दा कतारमा कामविहीन भएका नेपालीहरु पनि अन्य कम्पनीमा जोडिन थालेको र यही बेला नियमित उडान खुलेकाले अवस्था सामान्य हुन थाल्ने राजदूत भारद्वाजको अनुमान छ ।

साउदी अरेबियाबाट चार्टर्डमार्फत १२ हजार नेपाली फर्किएका थिए । अहिलेसम्म फर्किनेको संख्या १६ हजार ६५१ पुगेको छ ।

साउदीबाट अझै १० हजार नेपाली फर्किनसक्ने अनुमान छ । केही श्रमिक त्यहाँ अवस्था सामान्य हुँदै गएकाले अब तत्कालै नफर्किने मानसिकतामा पुगेका छन् ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुत श्रमिकहरु आफैंले उपयुक्त दिनमा टिकट काटेर फर्किन सक्ने बनेकाले अवस्था समान्यीकरणतर्फ अघि बढेको बताउँछन् । त्यहाँ हिमालय एयरलाइन्सबाट सीमित उडान हुँदा अन्यत्रभन्दा अली बढी समस्या छ ।

त्यहाँबाट हिमालय एयरलाइन्सले मात्रै नेपालमा नियमित सीधा उडान भर्छ । हिमालय एयरलाइन्सलाई उडान संख्या बढाइदिन दूतावासले पहल गरिरहेको छ ।

कुवेतबाट चार्टर्ड उडानमार्फत करिब ६ हजार नेपाली फर्किएका थिए । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी जजिरा एयरलाइन्सले कुवेतबाट नियमित उडान थालेपछि अलपत्र श्रमिकसम्बन्धी समस्यासमान्यतर्फ उन्मुख भएको बताउँछन् ।

महामारी अघिसम्म कुवेतबाट सीधै नेपालमा उडान हुँदैनथ्यो । तर, कुवेतमा अलपत्र करिब ३ हजार नेपालीलाई त्यहाँको सरकारको खर्चमा चार्टर्ड गरेर नेपाल ल्याएपछि जजिरा एयरले हप्तामा ४ वटा नियमित उडान गर्ने गरी अनुमति पाएको छ ।

राजदूत भण्डारीका अनुसार नियमित उडान नखुल्दासम्म कुवेतमा नेपाल फर्किन नाम टिपाएकाहरुमध्ये करिब २ हजार जना मात्रै फर्किन बाँकी थियो । कुवेतबाट फर्किनका लागि करिब १० हजारले दूतावासमा नाम टिपाएकोमा ६ हजारभन्दा बढी श्रमिकलाई चार्टर्ड विमानबाट नेपाल ल्याइएको थियो । त्यहाँबाट आइतबारसम्म ९ हजार ७८२ नेपाली फर्किसकेका छन् ।

सम्बन्धित समाचार

‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि लागु हुने

ललितपुर, ७ असार । लामो प्रतीक्षापछि माध्यमिक तहको याक्थुङ (लिम्बू) भाषा अध्ययनका लागि तयार गरिएको ‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि पठनपाठनमा लागू हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रअन्तर्गत मातृभाषा विषय समितिमा प्रस्तुत...

लिम्बु पत्रकार संघ पान्थर अध्यक्षमा रजनी हाङसरूम्बा

दमक, ७ असार । लिम्बू पत्रकार संघ पान्थरकाे अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन्। शनिबार पान्थरकाे फेदेनमा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले हाङसरुम्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला समिति  चयन गरेको हो। उक्त अधिवेशनबाट उपाध्यक्षमा भूपेन योङहाङ, सचिवमा इवारा जेबगु, सहसचिवमा मनेन्द्र केरुङ आहुती र कोषाध्यक्षमा सुष्मा हाङसरुम्बा सर्वसम्मत चयन भएका छन्। यस्तैगरी सदस्यहरूमा इच्छा लिम्बु, तागेरा तावाहाङ, अशाेक लावती र पदम दुःखी सम्बाहाम्फे चयन भएकाे नव निर्वाचित अध्यक्ष हाङसरूम्बाले बताइन् । त्यस्तै प्रदेश महाधिवेशन...

मुक्कुमलुङमा १० हजार विरुवा रोपियो

फुङलिङ, २ असार । ताप्लेजुङस्थित धार्मिक पर्यटकीय स्थल तथा याक्थुङहरुको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङमा १० हजार विरुवा रोपिएको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको आयोजनामा सयौं संख्यामा उपस्थित...

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...