३ विभागीयसहित ९ टोलीको सहभागिता, आयोजकले पहिलोपटक आफ्नै टिम उतार्ने
गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगितामा तीन विभागीय टोलीहरू— सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको महिला टिम सहभागी हुने निश्चित भइसकेको छ। यसबाहेक तीन विदेशी क्लब र नेपालका दुई शीर्ष डिभिजन क्लब गरी ९ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
यसपटक आयोजकले पहिलोपटक आफ्नै टिम मैदानमा उतार्ने तयारी गरेको छ। कोशी प्रदेशभित्र लुकेर रहेका प्रतिभाहरूलाई समेट्न जिल्ला-जिल्लाबाट खेलाडी छनोट गरी प्रतियोगिता हुनु १५ दिनअघिदेखि नै बन्द प्रशिक्षणमा राखिने अध्यक्ष थोप्राले बताए।
पुरस्कार राशिमा वृद्धि
दोस्रो संस्करणको पुरस्कार राशिमा गत वर्षको तुलनामा वृद्धि गरिएको छ। यस वर्षको विजेताले नगद ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। (पहिलो संस्करणको विजेताले १० लाख १० हजार र उपविजेताले ५ लाख रुपैयाँ पाएका थिए, जसको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो)।
विधागत पुरस्कारतर्फ:
- सर्वोत्कृष्ट खेलाडी: नगद १ लाख ५० हजार रुपैयाँ
- उत्कृष्ट विधा (गोलकिपर, मिडफिल्डर, डिफेन्डर, प्रशिक्षक र उच्च गोलकर्ता): जनही २५ हजार रुपैयाँ
- प्लेयर अफ द म्याच (प्रत्येक खेल): नगद १५ हजार रुपैयाँ
टिकटको १० रुपैयाँ सामाजिक कार्यमा, सुरक्षाका लागि चीनबाट प्यारापिट ल्याइयो
करिब १ करोड २५ लाख रुपैयाँ अनुमानित बजेट रहेको यस प्रतियोगिताको प्रत्येक टिकट बिक्रीबाट संकलित रकममध्ये १० रुपैयाँ आदिवासी नेत्रहीन संघ र अटिजम भएका बालबालिकाको अध्ययनका लागि सहयोग गरिने आयोजकले जनाएको छ।
पहिलो संस्करणमा दर्शकको अभूतपूर्व उपस्थिति (गेटमनी मात्रै ५८ लाख संकलन) भए पनि खेलाडी सुरक्षामा कमजोरी देखिएको स्वीकार्दै यसपटक आयोजकले विशेष संवेदनशीलता अपनाएको छ। दर्शक व्यवस्थापन र सुरक्षा चुस्त बनाउन चीनबाट ४ हजार क्षमताको आल्मुनियमको प्यारापिट ल्याइएको छ। गत वर्ष ७ हजार क्षमता रहेको रंगशालालाई यसपटक १२ हजार दर्शक क्षमताको बनाइनेछ भने प्रतियोगिताभर ९० हजार दर्शकले प्रत्यक्ष खेल अवलोकन गर्ने अपेक्षा राखिएको छ।