महागुरु फाल्गुनन्दको उदय र देन

 लिम्बुवान न्युज
                       

  • डीबी आङ्बुङ लिम्बू
पूर्वी नेपाललाई पश्चिमेले पल्लो किरात भन्दछन् । यसको अर्थ वल्लो र माझ किरात पनि छन् । पल्लो किरातलाई लिम्बुवान पनि भनिन्छ । लिम्बुवानका ताप्लिजोङ, पाँचथर र इलाम जिल्लाहरू भौतिक रुपले पनि प्राकृतिक सौन्दर्यका रानी हुन् । भौतिकमात्र होइन आध्यात्मिक हिसाबले पनि यी भूमि मानवीय चेतनाका खानी हुन् । यी भूभागमा विभिन्न विभूतिहरू जन्मिए । अझ, किरात लिम्बू सभ्यताको सृष्टि र विकास पनि यही सेरोफेरोबाट भयो । लिम्बू जातिको मौखिक शास्त्र मुन्धुमले यही भूमिको सभ्यता र इतिहास कहन्छ । लिम्बू मातृभाषामा यहाँका हिमालपर्वत, डाँडाकाँडा, खोलानाला, वनजंगल, जीवजन्तु र चराचर जगत बोल्दछन् ।
मानवीय विकास र शोषणसँगै सोही प्रकृति र मानव जीवनलाई बुझ्ने विभिन्न धारणाहरू हावी हुँदै आए । यही धारणाले विभिन्न धार्मिक, सांस्कृतिक तथा राजनीतिक मत र पन्थहरू सिर्जना गर्दै लग्यो । पहिलेको सावायेत्हाङ पाङ्भे अर्थात् आठराजवंशको गाउँलाई पछि किरात भूमि याक्थुङ लाजे ‘लिम्बुवान’को नामले चिनिन थाल्यो । उहिले ढालफाँड गरेर अहिलेका लिम्बूजाति तथा आदिवासीमात्र रहेको सो ठाउँमा पछि सबै जातजातिहरू बस्न आए । समय, परिस्थिति र मानवीय स्वार्थले मिलेर बसेका विभिन्न जातजातिहरू बीचमा केही द्वन्द्वहरू सुरु भए । यहाँ मिलेर बसेको समाजलाई त्यहाँका शासकहरूले विभिन्न स्वार्थमा भजाउन थाले । आ–आफै बीचमा पनि विभिन्न स्वार्थ र शक्तिका खेलहरू भए । यस्तो अवस्थालाई सबै मान्छेले सही अर्थले बुझ्ने कुरा भएन । ज-जसले आफ्नो व्यावहारिक चेतनाले देश, काल, जाति र समाजका समस्याहरू बुझे उनीहरूमा समाधानका केही विकल्पहरू पनि आउन थाल्यो । तिनीहरु नै कालान्तरमा महान व्यक्तित्व भए । सामाजिक, धार्मिक तथा राजनीति नेतृत्व भए । लिम्बुवानमा यस्ता सोधुङ्गेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरिजङ्गा (हाङ्) र फाल्गुनन्द लगायतका नामहरू आइरहन्छन् । यिनीहरू र यिनका पदचापहरू किरात लिम्बू समाजका पथप्रदर्शक मार्गदर्शनहरू हुन् । अरु सबै जातजातिमा पनि यस्ता मार्गदर्शक अग्रजहरू छन् । फरक यति हो, कतिका ज्ञात त अझै कति अज्ञात छन् ।
                                 लेखकः डि बि आङ्बुङ
नेपालको इतिहासमा किरात शासनकाल भएको तर सबै बाहिर नआएको वा नल्याइएको जस्तै पल्लो किरात लिम्बुवानको इतिहास पनि मधुरो छ । जे छ मौखिक मुन्धुम र कथा कहानीहरूमा छन् । अझ, पल्लो किरातको लिम्बुवानको इतिहास र मुन्धुमलाई स्वदेशी शासकहरूले नष्ट गर्न मात्र खोजे । धन्न केही विदेशी शासक बिएच् हज्शन जस्ताले आफ्नो स्वार्थकै लागि सही, बेलयाततिर लगेर राखे । किरात इतिहासकार इमानसिंह चेम्जोङले व्यक्तिगत दुःख, सङ्घर्ष र त्यागले एक हदसम्म किरात मुन्धुम, इतिहास, भाषा र साहित्यलाई लेखी छाडेर गुन लाए । यसले सिङ्गो किरात जाति तथा नेपाली इतिहास र साहित्यमा अतुलनीय योगदान पुग्यो ।
नेपालको भौगोलिक एकीकरण हुनअघि यहाँका विभिन्न राष्ट्र र राष्ट्रियताहरू हुर्कंदै थिए । तत्कालीन समय र परिस्थिति अनुरुप आफ्नै बुँता, मौलिक शैली तथा पहिचानमा हुर्किरहेका थिए । ती राष्ट्र र राष्ट्रियताहरूलाई आफ्नै धार र पहिचानमा हुर्कन दिइएन । अनेक जालझेल र षडयन्त्रका बाबजुत उनीहरूको भूमिलाई भौगोलिक रुपमा कब्जा गरियो । मानवीय संस्कृति, धर्म र भाषामाथि दमन गरियो ।
नेपालको इतिहासमा यो क्रम शाहहुँदै निरङ्कुश राणा शासनसम्म आईपुग्दा पल्लो किरात लिम्बुवानका लिम्बू नेतृत्वहरूलाई सुब्बा बनाइयो । सुब्बाहरू शाह र राणा शासकका स्थानीय प्रतिनिधिका रुपमा रुपान्तरित भए । उही शाह तथा राणा शासकहरूद्वारा पहिलो र दोस्रो विश्व युद्धमा लड्न र मर्नका लागि ब्रिटिश-गोर्खा सेनाका रुपमा विदेशमा बेचिए । स्वदेशमै भएका लिम्बूहरूलाई सुब्बा बनाएर कज्याउन थालियो । एकापसमै भिडाउँदै ‘फुटाऊ र राज गर’ को नीति अनुरुप शासन र शोषण गर्न थालियो । पहिलो र दोस्रो विश्वयुद्धमा लड्न र मर्नका लागि जबर्जस्ति पठाइएका जनजातिहरूले त्यतिखेर धन त के तन बचाएर ल्याउन नै अहोभाग्य थियो । बाँकी रहेकाहरू मुङ्लान, भटाङ, सिक्किम र आसाम गएर आनासुकी कमाई परिवारको गुजारा गर्दथे । ठीक त्यसैबेला, लिम्बुवान भूमिमा शासकले पठाएका विभिन्न जात जातिहरूलाई आफ्नो किपट जमिन दिँदै रस्ती रसाउनु र बस्ती बसाउनु पर्ने सरकारी नीति आयो । आफू र आफ्नो परिवारलाई बचाउन तथा समाज चलाउनकै लागि किपटीया सुब्बाहरूले आफ्नो जमिन बन्धकी राख्नु पर्ने भयो । विस्तारै, त्यही जग्गा बन्धकी राख्दै घर–परिवार, विवाह–बर्खन्त, रीतभात र राजनीति समेत चलाउनु पर्ने भयो । यहीबेला, सुब्बाको सभाङ्गी प्रभावले समाजमा अनेकन ढर्रा र विकृतिहरू पनि मौलाउँदै गए । विशेषतः खानपान र घर व्यमवहार सञ्चालन तथा विभिन्न कार्जेहरू चलाई र चाडबाड मनाइमा अति नै खर्चालु कार्यकलापहरू हुन थाले । यसमा विश्व बजारको पुँजीवादी तथा नवउदारवादी प्रभाव त छँदै थियो ।
यसरी, एकातिर राजनैतिक तथा प्रशासनिक रुपमा लिम्बू नेतृत्वहरू सुब्बा सुभाङ्गीमा खुम्चेर राणा तथा शाह शासकहरूको पञ्जा र नियन्त्रणमा पर्दै जानु । अर्कोतिर, अधिकार र स्रोत साधनरहित धाक र रवाफहरू चाहिँ कायमै बढ्दै जानुजस्ता प्रवृत्तिको विकास भयो । फलस्वरुप, तत्कालीन अवस्थामा लिम्बुवानको राजनीति तथा किरात लिम्बू समुदायको अवस्था नाजुक हुँदै गयो । त्यसबखत, त्यस्तो अवस्थाबाट बेलैमा बच्न केही सचेत नेतृत्वहरूले विशेष पहल नगरेका पनि होइन । तर, राजनीतिक हिसाबले त्यस्तो प्रतिरोधका कार्यकलापहरू गर्न सकिने अवस्था थिएन । हो, उन्नाइसौं शताब्दीको त्यही जर्जर अवस्थाले पल्लो किरात लिम्बुवानमा एक सामाजिक नेतृत्व तथा समाजसुधारक व्यक्तित्व महागुरु फाल्गुनन्दको उदय गरायो ।
मुन्धुममा महागुरु तथा मुइगुम् अङ्सी:
त्यसो त किरात याक्थुङ मुन्धुम शास्त्रमा यस्ता समाजसुधारक गुरुहरूको आवश्यक पर्ने वा उदय हुने आफ्नै विशिष्ट परम्परा पनि छ । जसलाई मुइगुम् अङ्सी मुन्धुम् पाचाथिम् भनिन्छ । यो येहाङ मुन्धुम् अन्तर्गत आउँदछ । मुन्धुम अनुसार यस्ता आठमार्ग (येत्छाम्थिम्) वा कर्म छन् । ती मार्ग वा कर्महरू फेदाङ्मा (गृहस्थीकर्म), साम्बा (कलाकर्म), येबा (मनोविज्ञान), येमा (युमा/महिला विशेष), साम्मुन्धुम् येप्मुन्धुम(अध्यात्म), सिदापाङ्दा (औषधोपचार), तुम्म्याङ/सुहाङ्मा (न्यायिक) र मुइगुम अङ्सि (ध्यानसाधना तथा दर्शन) हुन् । मुन्धुम अनुसार किरात लिम्बू जातिमा यी कर्मकर्ता द्रष्टाहरू विभिन्न कुल र वंशमा आइरहन्छन् । यिनीहरू आउने निश्चित बाटो, वंश र समय हुन्छ । कति त लिम्बूबाहेक अरु जातिमा पनि आउन सक्छन् । तर, त्यसलाई चिन्न र जान्न आवश्यक हुन्छ । र, आउने वातावरण पनि बनाउन सक्नु पर्दछ ।
मुन्धुम अनुसार मानवीय पुर्खा मुजिङ्ना खेयङ्ना (महिला), उनका छोरा सावा युङ्पुङ्गेम्बा, र बुहारी तेत्लारा लाहादङ्नाका सन्तान सावायेत्हाङ तथा पेगिफाङ्हाङहरू हुन् । उनै पुर्खाहरू यस कर्म र ज्ञानका मूलस्रोत मुहानहरू हुन् । तिनैका सन्तानहरू सोधुङ्गेन लेप्मुहाङ, कान्देनहाङ, साम्बःङ्हाङ येत्इङ्हाङ, माबोहाङ, सिरिजङ्गा (हाङ)हरू मुहिगुम् अङ्सी हुन् । यिनै मुन्धुमी धारका सर्वस्वीकार्य एक अन्तिम अङ्सी महागुरु फाल्गुनन्द हुन् । उहाँपछि धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’(लारुम्बा), गुरु देवबहादुर तुम्बापो (हात्तीलेदा) र ओमनन्द (राई) लगायतले सो विरासतको निरन्तरता दिइरहेको मानिन्छ ।
महागुरुको जीवनकाल र देन:
महागुरु फाल्गुनन्द उदाउने पारिवारिक क्षितिज भने एक्दमै साधारण लिम्बू परिवार थियो । उनी वि.सं. १९४२ साल कात्र्तिक २५ गते आइतबारका दिन लिम्बुवान इलामको चुक्चिनाम्बा भन्ने गाउँमा जन्एिका हुन् । सानो दुधेबालक हुँदै आफ्नो जन्मदिने आमाविहीन हुनुपर्यो । टुहुरा बालकले बाल्यकालमै असाध्यै दुःखले हुर्कनु पर्यो । यद्यपि, उनी विशेष पृथक स्वाभावका थिए । किशोरावस्थामा पुग्दा उनको बुबा र सानीआमा पनि अन्यत्र बसाइँ सरे । तर, फाल्गुनन्द गएनन् । उनी नजिकै आफन्तकामा रहे । उनले त्यही गाउँमै दुःख–सुख र बुनीबुँतो गर्दै जीवन गुजारा गर्न थाले ।
वि. सं. १९६० सालतिर छिमेकी देश उत्तरको तिब्बतमा दलाइ लामाको राज्य थियो । दक्षिणपट्टिको भारतमा ईष्ट इण्डिया कम्पनीका मालिक अङ्गे्रजको शासन थियो । आफ्नो देश नेपालमा निरङ्कुश राणा शासनको दबदबा थियो । यसैबेला, फाल्गुनन्द आफ्ना साथीभाइसँग तिब्बतमा हिउँ काटेर बाटो बनाउने कुल्ली कामगर्न गए । त्यहाँ उनी हिउँ पहिरोमा समेत परे । कति साथी गुमे । तर, फाल्गुनन्द भने संयोगले बाँचेर आए । फेरि उनी २२ वर्षको हुँदा वि. सं. १९६४ मा पारिवारिक परिबन्दले बर्मा पुगी करकापमा ब्रिटिश–गोर्खा फौजमा रिक्रुट समेत हुनुप¥यो । फौजी जीवनमा फाल्गुनन्दले अनेक दुःखकष्टका साथ नयाँ अनुभवहरू समेत सँगाल्ने अवसर पाए । गाउँबाटै आध्यात्मिक आचरण अपनाएका फाल्गुनन्दले फौजी पल्टनमा हुँदा पनि सेवा प्रार्थना गर्न छोडेनन् । लाहुरे भएको ८ वर्ष बित्दा नबित्दै पहिलो विश्वयुद्ध शुरुभयो । त्यतिखेर, उनी हवल्दार भइसकेका थिए । उनले अब बर्माको जंगलहुँदै युरोपसम्म लडाइँमा जानुप¥यो । यद्यपि, लाहुरे फाल्गुनन्दले आफ्नो अहिंसावादी मान्यता अनुसार बन्दुक बोकेर पनि कसैको ज्यान लिएनन् । उनको ज्यान पनि सुरक्षित रहयो । उनको मान्यता ती दुश्मन आफ्ना शत्रू थिएनन् । त्यसैले, उनीहरूलाई गोली हान्नु हुन्न । अरुलाई हिङ्सा नगरेपछि आफूलाई आफूमाथि पनि हिङ्सा नहुने कुरामा उनी विश्वस्त रहे । यसरी, प्रथम विश्वयुद्ध सकिएपछि पनि वि. सं. १९७५ मा नागाल्याण्डमा जानु पर्यो । त्यहाँ ६ महिना बसेर पल्टनमा फर्केपछि उनले लाहुरे जीवन नजिउने अठोट लिए । र, आफ्नो नाम काटेर स्वदेश नेपाल फर्किए ।
यसरी गाउँको बुनीबुतो, तिब्बतको कुल्लीदेखि ब्रिटिश–गोर्खा फौजको लाहुरे सैनिक जीवनसम्म भोगेका फाल्गुनन्दले आफ्नो आध्यात्मिक तथा सामाजिक जागरणको मार्गलाई नै पछ्याउँदै नेपाल आए । वि. संं १९७८ सालमा फाल्गुनन्द आफ्नो जन्म गाउँ चुक्चिनाम्बा आए । उनले देश विदेशमा अनुभव र अनुभूति गरेका ज्ञानका आधारमा विभिन्न जनजागरण जगाउने तथा जनचेतना फैलाउने कार्यहरू गर्न थाले । शिक्षा र जनचेतनाको अभावले पछि परिरहेको आफ्नो समाज र समुदायलाई ब्यूँताउने सामाजिक संस्थाको रुपमा उनले धार्मिक मन्दिर माङ्हिमहरू स्थापना गर्नेतर्फ जोड दिए । साथै, लिम्बुवानका विभिन्न गाउँ गाउँमा डुली घुमेर समय र परिस्थिति अनुसार चल्न तथा विकृति र विसङ्गतिमा नरुमलिन आग्रह र आह्वान गर्दै हिँडे ।
निरङ्कुश जहानिया राणा शासनको दबदबा भएको उक्त समयमा फाल्गुनन्दलाई धार्मिक, सांस्कृतिक तथा भाषिक जनचेतना फैलाउने कार्यहरू गर्नसमेत सहज थिएन । राज्यले मानेको र भनेको धर्म, संस्कृति र भाषाबाहेक अरुको बारे जनचेतना जगाउने कार्यगर्न समेत बन्देज थियो । किरात लिम्बूहरूको आफ्नो धर्म संस्कार मान्ने र भाषा बोल्ने आफ्नै मौलिक मुन्धुम र संस्कार र भाषा लिपि थिए । यद्यपि, वहाँले त्यतिखेर प्रचलित जोसमनी पन्थ तथा हिन्दूधार्मिक संस्कारको शैलीमा कार्य गर्नुपर्ने बाध्यता थियो । मैले त राज्यको धर्म हिन्दू धर्मसंस्कार नै फैलाउने कार्य गरिरहेको छु भन्ने देखाउँदै किरात कर्म संस्कार, संस्कृति र मुन्धुमी ज्ञानका चेतनाहरू प्रचार प्रसार गर्नुप¥यो । यति गर्दागर्दै पनि फाल्गुनन्दलाई विभिन्न पोलझोसमा धनुकुटागौंडा देखि वि. सं. २०११ मा काठमाडौंसम्म झिकाई लगेर सोधपुछ र केरकार गर्ने कार्य भयो ।
यस्तो असहज परिस्थितिका बावजुत पनि महागुरु फाल्गुनन्दले विशेषतः किरातहरूको मौलिक धर्म, संस्कृति, भाषा र लिपिको संरक्षण र संवद्र्धनमा विशेष योगदान पु¥याए । त्यसका लागि वि.सं १९८८ साल बैशाख २४ गते पाँचथरको लबे्रकुटी माङ्हिम सिलौटीमा १० लिम्बुवान १७ थुमका सबै प्रतिनिधिहरूलाई बोलाएर विशेष सम्मेलन गरे । यस भेलाले एक मुचुल्का पारित गराई घोषणा ग¥यो । यसलाई वि.सं १९८८ सालको सत्यधर्म मुचुल्का रुपमा चिनिन्छ र मानिन्छ । यसमा विशेषतः मौलिक सैवापूजा गर्ने, मन्दिर (माङ्हिम) बनाई त्यसको हाताभित्र मातृभाषाको विद्यालय स्थापना गरी सञ्चालन गर्ने, सेवापूजा गर्दा जीवहत्या नगर्ने, छोरीचेलीको अनावश्यक सोतरीत नलिने, धुम्रपान र मद्यपान नगर्ने तथा तान बुनी स्वदेशी पोशाक मात्र लगाउने लगायतका बुँदाहरू रहेका छन् ।
यसरी महागुरु फाल्गुनन्दले तत्कालीन राजनैतिक तथा सामाजिक परिवेशमा हराउन लागेको मौलिक धर्म, संस्कृति, भाषा, लिपि र साहित्यको संरक्षण र संवद्र्धनका लागि महत्वपूर्ण योगदान पुर्याए । साथै, किरात तथा लिम्बू राष्ट्र र राष्ट्रियतालाई जागाउन र मजबुत बनाउन विशेषतः किरात लिम्बू भाषा तथा लिपिको माध्यममार्फत् विशेष टेवा पुर्याए । वहाँका धार्मिक उपदेश र मुन्धुमशास्त्रहरू अहिले विश्व शान्ति र मानव एकताका लागि देश–विदेशसम्म फैलिइरहेको छ । यसैको प्रतिफल स्वरुप अहिले पनि लिम्बुवानमा किरात लिम्बू भाषा, साहित्य र लिपि बचेको छ । किरात तथा लिम्बुवानी राष्ट्र र राष्ट्रियताप्रतिको मोह जीवन्त छ । यसैको आधारमा अहिले पनि किरात तथा लिम्बुवान पहिचान जीवन्त छ । यस अभियानलाई अझ जीवन्तता र निरन्तरता दिन पहिचानको आन्दोलन पनि जारी छ ।
(सभारः गोरखापत्रमा २०७४ कार्तिक २५ मा प्रकाशित)

सम्बन्धित समाचार

किरात धर्मगुरू लिङ्देनकाे ७१औ जन्मोत्सव भव्यरूपले मनाइदै

दमक, १८ मंसिर । सदाकाे बर्ष झै याे बर्ष पनि किरात धर्मगुरू लिङ्देन आत्मानन्द सेइङज्यूको ७१ औ शुभजन्मोत्सव तथा साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह भव्य रूपले हुने भएकाे छ । धार्मिक पर्यटकीय तीर्थस्थल इलामको...

आत्मानन्द गोल्ड कप २०८१  फुटबल प्रतियोगिताकाे उपाधि दुधे युथ क्लबलाई

दमक, १७ मंसिर । इलामको माङसेबुङमा जारि अन्तरराष्ट्रिय आत्मानन्द गोल्ड कप २०८१  फुटबल प्रतियोगिताकाे उपाधि दुधे युथ क्लब, झापाले पहिलो पटक चुमेको छ । आज सोमबार माङसेबुङ–५ स्थित आत्मानन्द रंगशालामा  भएको फाइनल खेलमा तिजोक युवा...

भुपेन्द्र तुम्बाहाम्फे मुन्चइत प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक, १५ मंसिर । याक्थुङ मुन्चइत चोक सयङ् प्रदेश नं. १ ’लिम्बुवान किरात’ को प्रथम अधिवेशन सम्पन्न भएको छ । झापाको दमकस्थित गोर्खाडिपार्टमेन्ट स्टोरको सहभालमा शनिबार आयोजित कार्यक्रमले भुपेन्द्र तुम्बाहाम्फेको अध्यक्षतामा कार्य समिति बनेको हो...

लिम्बु कथामा आधारिक चलचित्र “सुगुप”लाई राष्ट्रिय चलचित्र पुरस्कार सहित दुई लाख नगदले सम्मान

ललितपुर, १२ मंसिर । लिम्बु कथामा आधारित चलचित्र “सुगुप” विशेष चलचित्र पुरस्कार २०६० (२०२४) ले सम्मानित भएको छ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको हस्तवाहुलीबाट नगद दुई लाख रुपैयाँ, सम्मानपत्र सहित पुरस्कृत भएको हो । चलचित्र...