प्रचण्डको प्रतिवेदन : ‘ओली प्रवृत्ति’ को व्याख्या (पूर्णपाठसहित)

 लिम्बुवान न्युज
                       

  • अनलाइन खबरबाट

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी, आन्दोलन र देशकै निम्ति ‘ओली प्रवृत्ति’ को व्यापक चिरफार आवश्यक रहेको बताएका छन् ।

शुक्रबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष प्रचण्डले ‘ओली प्रवृत्ति’लाई सैद्धान्तिकरण गर्दै त्यसको व्याख्यासमेत गरेका छन् । प्रचण्डले सचिवालयमा पेश गरेको लिखित प्रस्तावमा ‘ओली प्रवृत्ति’को व्याख्या गर्दै भनिएको छ, ‘वैचारिक-राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्दति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्वारा कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गर्नुभएको छ ।’

प्रचण्डको दस्तावेजमा अगाडि भनिएको छ, ‘उहाँमा विद्यमान यो प्रवृत्तिको व्यापक चिरफार पार्टी, आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ । यो कुनै व्यक्तिगत आग्रह-पूर्वाग्रहको कुरा होइन, अपितु पार्टी निर्माण र देश निर्माणको अनिवार्य शर्त हो ।’

प्रचण्डले अब पार्टीभित्र पदीय भागवण्डा गरेर मात्रै समस्या समाधान नहुने बताएका छन् । ‘गम्भीर र जटील समस्याहरुको सामना अब स-साना प्राविधिक जोडघटाउ वा पदीय भागवण्डाबाट गर्न असम्भव छ’ प्रचण्डको प्रस्तावमा भनिएको छ, ‘यसका निमित्त वैचारिक-राजनैतिक कार्यदिशा, संगठनात्मक विधि-पद्दति र कम्युनिष्ट आचरणका बारेमा गम्भीर समीक्षासहित समुचित निकास खोज्नु अनिवार्य छ ।’

यसका लागि अब केपी ओलीले ‘त्याग देखाउनुपर्ने’ निश्कर्षसहितको प्रस्ताव पेश गरेका छन् । प्रधानमन्त्री ओली पार्टी र सरकार सञ्चालनमा पूरै असफल भएको प्रचण्डको निश्कर्ष छ । ‘आज पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको छ’ प्रचण्डको प्रस्तावमा भनिएको छ, ‘वस्तुतः, अन्ततः र मुख्यतः पार्टी र सरकारको उपरोक्त स्थितिका लागि पार्टी र सरकार दुबैको मुख्य नेतृत्वमा रहेका कमरेड केपी शर्मा ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेका छन् ।’

सचिवालय बैठकमा के के भयो ?

शुक्रबार अपरान्ह ४ बजेपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकमा सुरुमा प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलतर्फ लक्षित गर्दै ‘ल भन्नुस् केके भन् एजेण्डा ?’ भनेर विषयवस्तुमा प्रवेश गरेका थिए ।

अध्यक्ष ओलीको रुलिङपछि महासचिव पौडेलले स्थायी कमिटीको बैठकका निर्णयहरु कार्यान्वयन सम्बन्धमा…. यस्तै विषयहरु त हुन् भने । महासचिव बोल्दै गर्दा अर्का अध्यक्ष प्रचण्डले उनलाई ‘क्रस’ गरेर भने, म केही बोल्छु ।

प्रचण्डले पार्टीमा उत्पन्न संकटका बारेमा बताउँदै पाँचजना नेताले बैठकको माग गरेको, प्रधानमन्त्रीले पत्र लेखेको र आफूले पनि त्यसको जवाफमा पत्र लिएर आएको बैठकमा बताए । साथै उनले लिखित राजनीति प्रस्ताव पनि बैठकमा प्रस्तुत गरे ।

आफूले पेश गरेको प्रस्तावमाथि सबै सदस्यले छलफल गरेपछि स्थायी कमिटीमा जाऔं भन्ने प्रचण्डले प्रस्ताव गरे । प्रचण्डको भनाइमा साथ दिँदै बरिष्ठ नेता माधवकुमार नेपालले पनि स्थायी कमिटी बैठकमा जाऔं भने ।

तर, प्रधानमन्त्री ओलीले मलाई धेरै छलफल गर्नु छैन भन्दै सचिवालयमै छलफल नगरिएको विषय स्थायी कमिटीमा जान नमिल्ने बताए । अर्का नेता वामदेव गौतमले पनि सचिवालयमै छलफल गरौं भनेपछि मंसिर ३ गते दिउँसो १ बजे फेरि सचिवालय बैठक राख्ने र अध्यक्षका पत्र अनि प्रचण्डको लिखित प्रस्तावमाथि छलफल गर्ने सहमतिका साथ बैठक टुंगिएको एक नेताले अनलाइनखबरलाई बताए ।

शुक्रबारको बैठकमा लिखित कागजातहरु बाँडिएका कारण मौखिकरुपमा लामो छलफलै नभएको स्रोतले बतायो ।

प्रचण्डले औंल्याएका ‘ओली प्रवृत्ति’ का विशेषताहरु !

प्रधानमन्त्री ओलीमा देखापरेको व्यवहार र विचारलाई ‘सैद्धान्तीकरण’ गर्ने प्रयास गर्दै प्रचण्डले उनको चरित्र चित्रण गरेका छन् । राजनीतिक प्रस्तावको मुख्य भाग नै केपी ओलीमाथि केन्दि्रत छ । र, ओलीमा देखापरेको प्रवृत्तिको चिरफारका देशका लागि आवश्यक रहेको प्रतिवेदनमा निश्कर्ष निकालिएको छ । प्रचण्डका अनुसार प्रधानमन्त्री ओलीले चारवटा क्षेत्रमा प्रहार गरिरहेका छन् :

  • पार्टी एकताका वैचारिक-राजनैतिक आधार र भावनामाथि प्रहार ।
  • संगठनात्मक, सिद्धान्त र विधि-पद्धतिमाथि प्रहार ।
  • सरकार सञ्चालनमा अनुत्तरदायी व्यवहार ।
  • स्थायी समितिको पछिल्लो बैठकका निर्णयहरुमाथि प्रहार ।

प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमा ‘क्वाइन’ गर्न खोजेको ‘ओली प्रवृत्ति’ का केही विवरण यस्ता छन्-

-कमरेड केपी शर्मा ओलीले न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ न समाजवाद उन्मुख जनताको जनवादको न कहिल्यै समाजवादी आर्थिक, राजनैतिक, सांस्कृतिक नीतिबारे चर्चा गर्नुहुन्छ, न सरकारका तर्फबाट समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नु भएको छ । व्यवहारतः उहाँले दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव-उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहनुभएको छ ।

– कमरेड केपी ओलीले पार्टी एकताको वैचारिक-राजनैतिक आधार र भावनालाई आत्मसात नगरेको मात्र होइन बरु त्यसका विरुद्ध आफ्ना क्रियाकलापहरु बढाइरहनुभएको छ ।

– कमरेड ओलीले संविधानको मर्म र भावनाअनुसार प्रदेशहरुलाई बलियो बनाउन पहल गर्नुको साटो सकेसम्म प्रदेशहरुको अधिकार कटौती गरी एकात्मक केन्द्रीकृत मान्यता अनुसार नै शासन चलाउन जोड गरिरहनु भयो । हालै कर्णाली प्रदेशका पार्टी पदाधिकारीहरुसँगको छलफलका क्रममा प्रदेशलाई संघीय सरकारको प्रशासनिक इकाइ मात्र रहेको तथा सबै प्रदेश र देशकै दल नेता आफू मात्र भएको व्याख्या गरेर उहाँले आफूलाई संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावना विपरित रहेको तथ्य प्रमाणित गरिरहनुभएको छ । पार्टी एकता र संविधानका आधारभूत वैचारिक राजनैतिक पक्षमाथि कमरेड केपी ओलीबाट निरन्तर प्रहार भएकै कारण आज पार्टी र सरकारमा गम्भीर संकट उत्पन्न भइरहेको छ ।

-कमरेड ओलीको सोच र कार्यशैली कम्युनिष्ट पार्टीको यो संगठनात्मक सिद्धान्त र मान्यताहरुको विल्कुल विपरीत रहेको छ । बहुमतको निर्णय म मान्दिन, मेरो निर्णय बहुमतले मान्नुपर्दछ भन्ने मान्यता नै कमरेड ओलीका संगठनात्मक मान्यता हुन् । स्पष्ट छ कि यसप्रकारको सोच र शैलीको कम्युनिष्ट पार्टीको सिद्धान्त श्रमजीवि वर्गको स्वार्थसँग कुनै सम्बन्ध छैन, बरु उपरोक्त सोच र शैलीको सिधा सम्बन्ध बुर्जुवा अराजकतावादी व्यक्तिवाद र सामन्ती निरंकुशतासँग रहेको हुन्छ ।

हेर्नुहोस् प्रचण्डको राजनीतिक प्रस्तावको पूर्णपाठ :

 

सम्बन्धित समाचार

लोक गायक एलपी जोशीको निधन

दमक, ११ असार । दमक निवासी लोकप्रिय लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । बिहीबार ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो । वि.सं. १९९३ सालमा धनकुटा बजारमा जन्मिएका...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना २२ जनाको मृत्यु

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार...

पूर्व मन्त्री किराती पहिचानवादी मोर्चामा आबद्धः तेस्रो जनआन्दोलनको चेतावनी

दमक, ८ साउन । पूर्वमन्त्री गोपाल किराती डा. महेन्द्र लावतीको पहिचानवादी मोर्चामा अबद्ध भएका छन् । सोमबार काठमाडौंस्थित रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुसहित नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा....

प्रधानमन्त्री केपी ओली सहित नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण

दमक, ३१ असार । नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । शितल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै उनीहरूले आ–आफूले पाएका मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्...