
विराटनगर, १५ कार्तिक । प्रदेश १ मा नयाँ सरकार गठन गर्न विपक्षी पाँचदलीय गठबन्धनले दाबी पेस गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष गठबन्धनले सरकार गठन गर्न सोमबार दाबी पेस गरेको हो ।
प्रदेश प्रमुखले प्रस्ताव आह्वान गरेलगतै गठबन्धनका नेताहरूले प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेस गरेका हुन् । ५० जना सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरिएको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए ।
गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र कुमार राईलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को मुख्यमन्त्रीमा नियुक्त गर्न पाँच दलीय गठबन्धनले दावी प्रस्तुत गरेको छ ।
मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिए लगत्तै प्यासीले मंगलबार दिउँसो १ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
दावी पेश गर्ने पाँचदलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् ।