काठमाडौं, १३ पुष । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेता चयन आज हुने भएको छ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर २ः३० बजेदेखि ३ः३० बजेसम्म मतदान हुने जनाइएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादव गत मंसिर ४ को निर्वाचनमा पराजित भए भने संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरीबाट सांसदमा निर्वाचित भएका छन् ।
यद्यपि संसदीय दलको नेता को चयन हुन्छ भन्ने टुंगो नभएपछि लोकतान्त्रिक पद्दतीबाट दलको नेता चयन गर्ने सो पार्टीका नेताहरुले बताएका छन् । दलको नेताको रुपमा राईसँगै राजकिशोर यादवले पनि दाबी गरेको जसपा नेताहरुले बताएका छन् ।
प्रतिनिधिसभामा जसपाका १२ जना सांसद निर्वाचित भएका छन् ।