माङसेबुङ, २१ मंसिर । फाकफोकथुम इलामका दिनेश योङहाङले मातृभाषा गायन प्रतियोगिता ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि जितेका छन् ।
इलामको माङसेबुङमा मंगलबार वृहत सांस्कृतिक कार्यक्रमसँगै भएको फिनालेमा इलाम माई नगरपालिकाका शान्ता फियाक, मोरङ लेटाङ नगरपालिका वारङगीका हरिचन्द्र लिम्बू र पान्थर मिक्लाजुङ गाउँपालिका सारङडाँडाका उपेन्द्र आङदेम्बे लिम्बूलाई पछि पार्दै योङहाङले ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि हात पारेका हुन् ।
उपाधिसँगै योङहाङले नगद पुरस्कार ४० हजारको साथमा ट्रफी, एउटा गिटार र प्रमाण पत्र प्राप्त गरेका छन् । उप बिजेता बनेका तीन फाइनलिष्टहरुले जनही नगद १० हजारको साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।
किरात धर्मगुरू लिङदेन आत्मानन्द ‘सेइङ’ज्यूकाे ७० औं शुभजन्मोत्सव तथा गुरूआमा साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोहमा आयोजित वृहत सांस्कृतिक कार्यक्रमको अवसरमा आयोजना गरिएको मातृभाषा गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ को उत्कृष्ट आठ(सेमिफाइनलिष्ट) को लाईभ प्रस्तुतिको आधारमा सोमबार उत्कृष्ट चार प्रतियोगी फिनालेका लागि छनोट गरिएको थियो ।
यसैगरि मंगलबार फिनालेमा उत्कृष्ट चार प्रतियोगीहरुले गरेको प्रस्तुतिको आधारमा निर्णायकहरुले विजेता छानेको थियो ।
माङसेबुङ इक्ला गायन प्रतियोगिताको टप चार फाइनालिस्टमा स्थान सुरक्षित गर्न सफल प्रतियोगिहरु दिनेश योङहाङ फाकफोकथुम इलाम, शान्ता फियाक माई नगरपालिका इलाम, हरी चन्द्र लिम्बू लेटाङ मोरङ, उपेन्द्र आङदेम्बे मिक्लाजुङ साराङडाँडा पान्थरका रहेका थिए ।
प्रतियोगिताको निर्णायकहरुमा गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, गायिका दीलमती चेम्जोङ, गायक तथा संगीतकार आइन्द्र नेम्बाङ रहेका थिए ।
प्रतियोगि सहभागीहरुलाई अनलाइन अडिसनबाट छनौट गरिएको थियो ।
Related