कविता
चिच्याइरहेको छ मेरो अस्तित्व
आफ्नो पोटिला स्तनहरू माथि वर्जित
निर्दयी बुटहरू सामना गर्दै
म मुकदर्शक उभिएको छु – बुख्याँचा ।
बलात्कृत हुन्छ हरेक साँझ
गर्जाउँछ चिच्याहट मेघ नसहेर पीडाहरू
विवश ! डुबेर आँसुमा
सुम्पन्छ आफ्नै कुमारीत्व,
यी दर्दनाक श्रब्य–दृष्यहरूले
पगाल्दैन ढुङ्गा मन
छुँदैन अन्धो आँखा र बहिरो कान
किन कि म ह्याङ् भइसकेको छु भाइरसले ।
आफ्नै आँखा सामु
फाँसीको तक्तामा तुर्लुङ्ग झुन्ड्याइएको
बलात्करणले बेहोस
मेरो अस्तित्वको साँछी वक्न नसकेर
आज मृत्योल्लासमा
मानौं एउटा पिक्निक् स्पोट झैं
र्यापर भएर ब्रेकडान्स गरिरहेछु ।
न चढाउन सक्छु श्रद्धाको एक थुङ्गा फूल
अस्तित्वको पार्थिव शरीर माथि
न चढाउन सक्छु समवेदनाको एक चिम्टी मट्टी
अस्तित्वको चिहान माथि
बित्थामा मलामीको माला भित्र उनिएर
“म“ भन्नुको निरर्थकता वीच बाँचेको छु ।
अर्को शताब्दीको एउटा मिथक म
डाइनोसर कि त सोक्पा जस्तै
अब
यसरी अलापिन्दै छु म
अनाकन्टार मानव जङ्गल भित्र
आफैंले आफैंलाई कहिल्यै पाउने छैन
उत्खनन गरेर भेट्ने छैन मेरो जरा
कुनै मानवशास्त्रीले,
मेरो सातो हंस पत्ता लगाउने छैन
काँसे थालमा लडाएर अक्षता कुनै फेदाङमाले
म जुनसुकै सुकेको थाँक्रा र मक्किएको रूखमा पनि विलोपिन सक्छु
जुनसुकै यामको शीतमा पनि विलीन सक्छु
किन कि
इतिहासको कठघरामा उभिएर
वक्ने कुनै मेरो बयानै छैन
भविष्यको इजलासमा उभिएर
देखाउने कुनै मेरो नजरै छैन
यसरी म स्वयं संलग्न छु
आफ्नै अस्तित्व हत्या प्रकरणमा ।
दमक, झापा
Related