
माङसेबुङ/ इलामको माङसेबुङमा आइतबारदेखि पत्रकारितामा फिचर लेखन तालिमको प्रारम्भ गरिएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि माङसेबुङ गाउँपालिका वडा नं ५ का वडाध्यक्ष नरेन्द्रकुमार राईले दीप प्रज्जलन गरि तालिमको प्रारम्भ गर्नुभएको हो ।
५ दिने पत्रकारितामा फिचर लेखन तालिममा सहजकर्ता सञ्चारकर्मीद्वय आङबुहाङ अबोध अविरल र कमन देवान रहनुभएको आयोजकले जनाएको छ ।

सो तालिममा माङसेबुङ गाउँपालिकाको हरेक वडाबाट १ जनाको दरले प्रशिक्षार्थी सहभागिता गराउन वडाहरुलाई परिपत्र गरिए पनि प्रतिकूल मौसमका कारण सबै वडाबाट सहभागिता हुन नसकेको उद्घाटन कार्यक्रमका अध्यक्ष ज्ञानु केदेमले बताए । उनले भने, ” सोमबार विहान पनि केही वडाबाट प्रशिक्षार्थी थपिने कुरा भइरहेको छ ।”
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष राई, अतिथि समाजसेवी धड्कन सङबाङफे लगायतले शुभकामना मन्तव्य राखेका थिए । माङसेबुङ पब्लिकेसन्स एण्ड मिडिया प्रा.लि. द्वारा प्रकाशित माङसेबुङ मासिकका कार्यकारी सम्पादक ज्ञानु केदेमको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य प्रमुख सम्वाददाता सङसेमी माङयुङले राखेका थिए । भने कार्यक्रम सञ्चालन सह सम्पादक काकीराम लाओतीले गरेको थियो ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित ५ दिने तालिम माङसेबुङ पब्लिकेसन्स एण्ड मिडिया प्रा.लि. ले आयोजना गरेको हो । श्री सरस्वती मा.वि. मा आइतबार शुरु भइ आगामी असार १६ गतेसम्म सञ्चालित फिचर लेखन तालिममा १८ जनाले प्रशिक्षण लिइरहेका छन् ।