
दमक नगरपालीका वडा नम्बर १ का भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई आज धनिपुर्जाको निस्सा वितरण गरिएको छ । स्थानिय नवदुर्गा मन्दिरमा आज एक कार्यक्रमको आयोजना गरी दमक नगर प्रमुख राम थापा र उप प्रमुख रेगिना भट्टराईले वडा भित्र रहेका भुमिहिनहरुलाई धनिपुर्जाको निस्सा वितरण गर्नु भएको हो ।
दमक वडा नम्बर १ का वडा अध्यक्ष हरि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा भुमिहिनहरुलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले आफुहरु निर्वाचित भएर आए देखीनै पहिलो प्रथमिकतामा राखेर भुमिहिनलाई धनिपुर्जा उपलब्ध गराउने काममा लागेको बताउनु भयो । निर्वाचन ताका गरेको वाचा अनुसार द्रुत गतिमा काम गर्दा अहिले निस्सा वितरण गरिएको र अब केहिदिनमै धनिपुर्जा समेत उपलब्ध गराईने उहाँले बताउनु भयो । अघिल्ला जनप्रतिनिधिले यसमा कुनै काम नगरेकाले केहि समय लागेको भन्दै नगर प्रमुख थापाले अब द्रुत गतिमा काम हुने बताउनु भयो । त्यसैगरी नगर उप प्रमुख भट्टराईले भुमिहिनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफुहरु लागि परेको बताउनु भयो । प्राबिधिक कामले केहि ढिलाई भए पनि आगामी संघिय निर्वाचन अघिनै धनिपुर्जा उपलब्ध गराउने गरी आफुहरुले काम गरिरहेको उहाँले बताउनु भयो । कार्यक्रममा र राष्ट्रिय भुमि आयोग झापा जिल्ला अध्यक्ष तिलक सिंह पाण्डेले प्राप्त निवेदनका आधारमा आयोगले छानविन गरेर चाँडै धनिपुर्जा वितरण कार्यमा लाग्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा राजनैतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका दमक नगर सभापती प्रकास प्रसाईंले आयोगको काम अघि बढाउन राजनैतिक दलहरुको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो । दमकबाट भुमिहिन समस्या सदाका लागी अन्त्य गर्ने गरी नगरपालीकाले काम गर्नु पर्ने उहाँले बताउनु भयो । वडा भित्र हाल सम्म दर्ता रहेका ८४७ भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई धनिपुर्जाको निस्सा वितरण गरिएको वडाअध्यक्ष न्यौपानेले बताउनु भयो ।