ललितपुर, १० असार । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामावलीप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघको विधान २०६४ अनुसार कार्यसमिति बैठकले स्वीकृत गरी महासंघ एसोसियट प्रदेश समिति समक्ष पठाएका सदस्य नामावलीमा हेरफेर गरी सार्वजनिक गरिएकोमा संघले असहमति प्रकट गरेको हो ।
अनलाइन पत्रकार संघको असार १ गते बसेको बैठकले ५१ जना सदस्यको नवीकरण, २३ जना नयाँ सदस्यको स्वीकृत, ७ जनाको स्थानान्तरण र एक जनालाई मानार्थ सदस्यको लागि एसोसियट प्रदेश समितिमार्फत महासंघको केन्द्रीय कार्यालयमा पठाएको विज्ञप्तिमा जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिले सार्बजनिक गरेको मतदाता नामावलीमा नयाँ सदस्य उल्लेख नभएको, कतिपय नवीकरण नगरेका भनी उल्लेख गरेर पठाएका सदस्यलाई महासंघले संघलाई जानकारी नगराई नवीकरण गर्नु अत्यन्त गैरजिम्मेवारी कार्य भएको उल्लेख गरेको छ । साथै संघले विधान अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरेर पत्रकारितामा क्रियाशील पत्रकारहरुलाई नयाँ सदस्यको स्वीकृति दिन केन्द्रिय निर्वाचन समिति समक्ष पुनः स्मरण गराउन यो विज्ञप्ति जारी गरेको संघले जनाएको छ ।
सिफारिस गरेका क्रियाशील पत्रकारलाई सदस्यता नदिने र संघलाई जानकारी नगराई मनोमानी ढंगले सदस्यता दिने निर्णय तत्काल सच्याउनपनि संघले माग गरेको छ ।
