पालिकाले विपन्न सबै दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

 लिम्बुवान न्युज
                       

झापा, २ फागुन । झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गतवर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै प्रभावकारी हुने निष्कर्ष निस्किएकाले यसवर्षदेखि दीर्घरोगी विपन्न परिवार छानीछानी बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।

स्वास्थ्य स्वयमसेविका परिचालन गरेर पालिकाका ३१८ त्यस्ता रोगीको पहिचान गरिएको छ । उनीहरुको परिवारका पाँचजनासम्मको स्वास्थ्य बीमा गरेर बीमा कार्डसमेत वितरण गरिएको उनको भनाइ थियो । दीर्घरोगी वडा नंं ४ का ७५ वर्षीय सागिर मियाँले आर्थिक अभावले विगतमा स्वास्थ्य बीमा गर्न नसकेकामा पालिकाले गरिदिएको बीमाले अब वर्षभर औषधि ल्याएर खान सहज भएको जानकारी दिए ।

पाँचजना परिवारको अभिभावक उहाँ उच्च रक्तचाप, मधुमेह र छालाको रोगले पीडित छन् । अर्काको घरमा दैनिक मजदूरी गर्दै आएका मियाँले यसअघि महिनामा रु पाँच सय बराबरको औषधि किनेर नियमित खानु परिरहेको थियो । सात वर्षदेखि मुटु र उच्च रक्तचापको बिरामी झापा गाउँपालिका–४ की ६६ वर्षीया सुन्दरवती गणेशले मासिक दुई हजार जति औषधि उपचारमा खर्च गर्दै आएकामा अब निःशुल्क हुने भएपछि खुसी भएकी छिन् ।

पालिकाले पठाएका स्वास्थ्य सेविकाले बिरामीको आर्थिक अवस्था, उपचार गराइरहेको अस्पतालको प्रतिवेदन र रोगको प्रकृति हेरेर स्वास्थ्य बीमा गराउने परिवारको छनोट गरेका पालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । “पालिकामा दीर्घरोगीको सङ्ख्या धेरै नै छ तर हामीले श्रमिक र विपन्न वर्गका परिवारलाई स्वास्थ्य बीमाका लागि छानेका छौं,” उनले भने –“आर्थिक हैसियत हुनेले आफै रकम तिरेर बीमा गर्न सकिहाल्छन र उपचार गराउन खर्च पनि गर्न सक्छन् ।”

विगत १६ वर्षदेखि मधुमेह र उच्च रक्तचापको औषधि नियमित सेवन गरिआएका वडा नं ६ का ५८ वर्षीय मनबहादुर विश्वकर्माले पनि आफ्नो पालिकाभित्रका रोगी र बुढापाकाको पहिचान गरेर स्वास्थ्य बीमा गरिदिएकोमा स्थानीय सरकारप्रति आभार प्रकट गरे । “गरिबले खानका लागि बिहान–बेलुका अन्न जुटाउनै मुस्किल हुन्छ, ओखती गर्ने औकात पुग्दैन,” उनले खुसी हुँदै भने –“हाम्रो पालिका भनेको हाम्रो सरकार हो । निःशुल्क बीमा गरेर अति राम्रो काम ग¥यो ।” मुटु, मधुमेह र उच्च रक्तचापको औषधिका लागि भद्रपुर वा बिर्तामोड धाउने खर्च अब जोगिएको विश्वकर्माले सुनाए । चालू आर्थिक वर्षमा पालिकाले बजेटमै उच्च रक्तचाप र मधुमेहका दीर्घरोगीलाई निःशुल्क औषधि खरिदका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट स्वास्थ्य बीमा गरिएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले पालिकाका सातै वडाबाट सूचना जारी गरेर स्वास्थ्यसेविकामार्फत रोगीको विवरण सङ्कलन गरिएकोे र सोही विवरणका आधारमा उनीहरुको बीमा गरेर बीमा कार्ड वितरण गरिएको जानकारी दिए ।

“औषधि खरिद गर्न यो बजेटले वार्षिक नभ्याउने भयो”, उनले भने, “बीमा गरिदियो भने सो रकमले पनि पुग्ने र बिमितहरुले रु एक लाखसम्मको औषधि उपचार गर्न पाउने हुँदा हामीले बीमा नै गरिदिएका हौँ ।” बिमितहरुको विवरण सङ्कलन गरेर मङ्सिरमै बीमा गरिदिएको हुँदा उनीहरुलाई आइतबार पालिका अध्यक्ष जयनारायण साहले कार्ड वितरण गरे ।

सो बीमा यही फागुन महिनादेखि लागू हुने उनको भनाइ थियो । बीमामार्फत वार्षिक औषधि र उपचारमा प्रति परिवार रु एक लाखसम्म खर्च हुनसक्ने उनले जानकारी दिए । वडा नंं ६ की ८२ वर्षीया तुलसा मिश्र र ६८ वर्षीय धनबहादुर कटुवालले यसवर्षको स्वास्थ्य बीमा पालिकाले गरिदिएकोमा खुसी व्यक्त गर्दै आगामी वर्षमा पनि निरन्तर नवीकरणको व्यवस्था गरिदिन पालिकालाई आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...