यल्लो कमेडी मञ्चनमा कदम

,   लिम्बुवान न्युज
                       

  • कमन देवान

बाहिरी आवरण फुसले छाएको र ब्लकको पर्खालले घेरिएको सानो (कम्तिमा पनि नाटक मञ्चनको लागि त सकस नै) भुइँघर । भित्री संरचना केही थान कुर्सीहरु दर्शकको लागि र कुर्सी भन्दाअघि केही चकटी पनि दर्शककै लागि राखिएका छन् । अँध्यारो चिर्न हेभी पावरका भर्चुअल लाईटहरु आ–आफ्नो पालीमा बल्छन् र निभ्छन्, फेरि बल्छन् र निभ्छन् आवश्यकता अनुसार । लाइटहरु बाँसका डाँडाभाटामा दुःखले झुण्ड्याएको छ । कथमकदाचित बाहिरी प्रकाश नछिरोस् भनेर खुबै मेहनतका साथ कालो कपडाले भित्री संरचनालाई ढाकिएको छ ।

कदम थिएटरका कलाकारहरु यतिबेला आफैले छानेर बुनेका कथा भन्न हेरक दिन दिउँसो १ बजे र साँझ ४ः३० बजे भेटिन्छन् यो साँघुरो फुच्चे नाटकघरको मञ्चमा । अघिल्ला नाटकहरुमा जस्तो यस पटकको नाटकमा दर्शक खँचाखँच छैनन्, तर कलाकारहरुले सुनाउने कथा, प्रस्तुति शैली र मौलिक संगीत भने बेजोड छ ।


ढोले साइँलाको कथा भन्दै याङसाङ मुकारुङ ।

यो सानो घरको पश्चिम अर्थात दिपेनी खोला पारी २५ सय जना मानिस आँट्ने दमक सभागृह (कुनै समय फाल्गुनन्द सभागृहका नाउँमा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको) ठडिइसकेकको छ । कदम थिएटर कार्य समितिको असक्षमताले हो वा विकासको लागि बजेट बिनियोजन गर्ने अख्तियारी पाएको स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको बेवास्ताका कारण हो, दुई वर्षदेखि बनाउन थाएिको सेउपाखा बहुसाँस्कृतिक नाटकघर निर्माणको आधार संरचना तयार हुने बाहेक अरु प्रगति भएको छैन ।

तथापि नाटकघर निर्माणमा लागेको बिरामले नाटक गर्ने स्थानीय कलाकारहरुको जोश, जाँगर भने मार्न सकेको छैन । त्यसैले सानो र साँघुरो घरमा नाटक यल्लो कमेडी मञ्चन भइरहेको छ । यल्लो कमेडीको नेपाली अर्थ हुन्छ ‘पीत–हाँस्य’ ।

१५ दिनअघि दमक आएका शिल्पी थिएटरका घिमिरे युवराजले नाटकभित्रको फरक विधा कथा वाचन शैली बारे कार्याशाला चलाए । शिल्पी थिएटरको सहकार्यमा कदमका कलाकारले कार्यशालाबाट सीप मात्रै सिकेनन्, यहि साँघुरो घरमा गरिएको कार्यशालाबाट जन्मियो यल्लो कमेडी र तयार भयो, दर्शकका लागि ।


नाटकको एक दृश्यमा सिजन दाहाल ।

‘पीत–हाँस्य’ नाटकको एउटा यस्तो रूप हो, जहाँ कलाकार आफैले भोगेका, सुनेका र नजिकका मानिसले भोगेका कथालाई अभिनयमार्फत भन्छन् । यसलाई सरलीकरण गर्दै नाटकका निर्देशकसमेत रहेका घिमिरे युवाराज भन्छन् –‘यो रूपमा कलाकारले आफैंलाई व्यंग्य गर्छन्, आफूले सुनाउन चाहेको कथा रोचक ढंगमा प्रस्तुत गर्छन्  ।’

राजधानी बाहिर पीत हाँस्य पहिलो पटक कदम थिएटरमा मञ्चन गरिएको थिएटरका कला निर्देशक सिजन दाहालको दावी छ  । उनी आफैले परिवारको खुशी खोज्न १४ वर्षअघि विदेश (खाडी मुलुक गएका बुबाले १४ वर्षपछि घर फर्कँदा आफ्नै छोरोलाई नचिनेको कथा रोचक र मार्मिक शैलीमा प्रस्तुत गरेका छन् ।

फागुन २१ गतेसम्म मञ्चन हुने नाटक यल्लो कमेडीमा यसअघि ६ वटा नाटकमा अभियन गरेका याङसाङ मुकारुङ गाउँघरमा धामी बाजेहरुले कसरी गाउँलेलाई मुर्गा बनाउँछन् भन्ने कथा भन्न मञ्चमा उफिन्छन् – ढङ्ढङ् ढङ्ढङ् ढङ्ढङ्, ठ्याङ्ठ्याङ ठ्याङ्ठ्याङ ठ्याङ्ठ्याङ .. गर्दै गाउँकै नामुद ढोले साइँलाका रूपमा ।


सागर खाती कामी साइकल कुदाएको अभिनय गर्दै ।

सागर खाती कामी मञ्चमा खुट्टाको गलत उपचारले भोग्नु परेको सास्तीलाई जीवन्त प्रस्तुती दिन्छन् । उनको कथा झापाको धुलाबारीदेखि पश्चिम बंगालको बिनागुढी हुँदै हातखुट्टाको हड्डी सम्बन्धि प्रख्यात उपचार केन्द्र महेशपुरमा आएर पूरा हुन्छ ।

त्यस्तै सुमित्रा पेहिमले बाल्यकालको रमाइलो र घरमा मोःमो बनाएर खाँदाको घटनालाई यल्लो कमेडीमार्फत दर्शकसमक्ष प्रस्तुत गरेकी छिन् । असहज समयमा उनी आमालाई सम्झन्छिन् र पालो दिन्छिन् सिजनलाई अर्को प्रस्तुतिका लागि ।

यल्लो कमेडीमा यी चार कलाकारका अतिरिक्त दीपक खरेल, मनिक शंकर, र पासाङ चोमु शेर्पा, रश्मी उप्रेती, नवीन रिजाल र सदीक्षा अधिकारीले कथावाचक कलाकारहरुलाई हरतरहले सहयोग गरेका छन् ।


कलाकार सुमित्रा पेहिम । अभिनय गर्दै ।

चार जना कलाकारले सरदर १०–१० मिनेटमा आफ्नो कथा सुनाउँछन् भने एउटा कथाबाट अर्को कथामा दर्शकलाई जोड्न कलाकारहरुले बीचबीचमा निक्कै पुराना गीतहरु गाउँछन् । सबै कथामा बाल्यकालका भोगाइहरुलाई नै विषय बनाइएको छ । नाटक हेर्न जाने दर्शकलाई कुनै कथाले हँसाउँछन्, कुनै कथाले भावुक बनाउँछन् ।

पूर्व पश्चिम राजमार्गको दमक चोक खण्डबाट करिब २२ मिटर दक्षिण दमक ९ स्थित कदम थिएटरको सेउपाखा बहुसाँस्कृतिक नाटकघरसम्म पुगेर दमक र वरपरका नाटकप्रेमी दर्शकले ३ सय र विद्यार्थी सहुलियतमा १ सय ५० रूपैयाँ तिरेर नाटक हेर्न सक्छन् र १ घण्टाको समय भरपूर मनोरञ्जन लिन सक्छन् ।

कदमको सेउपाखा बहुसाँस्कृतिक नाटकघर पुग्न गुगल म्यापको सहायता लिनै पर्दैन । दमक चोक र सगरमाथा पेट्रल पम्प दक्षिणको बरगाछी चोकको बीचमा दक्षिणतिर जाने जति सबै ठूला बाटाहरु प्रयोग गरेर सहजै पुगिन्छ । (हरप्रहर अनलाइनबाट)

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;