यल्लो कमेडी मञ्चनमा कदम

 लिम्बुवान न्युज
                       

  • कमन देवान

बाहिरी आवरण फुसले छाएको र ब्लकको पर्खालले घेरिएको सानो (कम्तिमा पनि नाटक मञ्चनको लागि त सकस नै) भुइँघर । भित्री संरचना केही थान कुर्सीहरु दर्शकको लागि र कुर्सी भन्दाअघि केही चकटी पनि दर्शककै लागि राखिएका छन् । अँध्यारो चिर्न हेभी पावरका भर्चुअल लाईटहरु आ–आफ्नो पालीमा बल्छन् र निभ्छन्, फेरि बल्छन् र निभ्छन् आवश्यकता अनुसार । लाइटहरु बाँसका डाँडाभाटामा दुःखले झुण्ड्याएको छ । कथमकदाचित बाहिरी प्रकाश नछिरोस् भनेर खुबै मेहनतका साथ कालो कपडाले भित्री संरचनालाई ढाकिएको छ ।

कदम थिएटरका कलाकारहरु यतिबेला आफैले छानेर बुनेका कथा भन्न हेरक दिन दिउँसो १ बजे र साँझ ४ः३० बजे भेटिन्छन् यो साँघुरो फुच्चे नाटकघरको मञ्चमा । अघिल्ला नाटकहरुमा जस्तो यस पटकको नाटकमा दर्शक खँचाखँच छैनन्, तर कलाकारहरुले सुनाउने कथा, प्रस्तुति शैली र मौलिक संगीत भने बेजोड छ ।


ढोले साइँलाको कथा भन्दै याङसाङ मुकारुङ ।

यो सानो घरको पश्चिम अर्थात दिपेनी खोला पारी २५ सय जना मानिस आँट्ने दमक सभागृह (कुनै समय फाल्गुनन्द सभागृहका नाउँमा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको) ठडिइसकेकको छ । कदम थिएटर कार्य समितिको असक्षमताले हो वा विकासको लागि बजेट बिनियोजन गर्ने अख्तियारी पाएको स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको बेवास्ताका कारण हो, दुई वर्षदेखि बनाउन थाएिको सेउपाखा बहुसाँस्कृतिक नाटकघर निर्माणको आधार संरचना तयार हुने बाहेक अरु प्रगति भएको छैन ।

तथापि नाटकघर निर्माणमा लागेको बिरामले नाटक गर्ने स्थानीय कलाकारहरुको जोश, जाँगर भने मार्न सकेको छैन । त्यसैले सानो र साँघुरो घरमा नाटक यल्लो कमेडी मञ्चन भइरहेको छ । यल्लो कमेडीको नेपाली अर्थ हुन्छ ‘पीत–हाँस्य’ ।

१५ दिनअघि दमक आएका शिल्पी थिएटरका घिमिरे युवराजले नाटकभित्रको फरक विधा कथा वाचन शैली बारे कार्याशाला चलाए । शिल्पी थिएटरको सहकार्यमा कदमका कलाकारले कार्यशालाबाट सीप मात्रै सिकेनन्, यहि साँघुरो घरमा गरिएको कार्यशालाबाट जन्मियो यल्लो कमेडी र तयार भयो, दर्शकका लागि ।


नाटकको एक दृश्यमा सिजन दाहाल ।

‘पीत–हाँस्य’ नाटकको एउटा यस्तो रूप हो, जहाँ कलाकार आफैले भोगेका, सुनेका र नजिकका मानिसले भोगेका कथालाई अभिनयमार्फत भन्छन् । यसलाई सरलीकरण गर्दै नाटकका निर्देशकसमेत रहेका घिमिरे युवाराज भन्छन् –‘यो रूपमा कलाकारले आफैंलाई व्यंग्य गर्छन्, आफूले सुनाउन चाहेको कथा रोचक ढंगमा प्रस्तुत गर्छन्  ।’

राजधानी बाहिर पीत हाँस्य पहिलो पटक कदम थिएटरमा मञ्चन गरिएको थिएटरका कला निर्देशक सिजन दाहालको दावी छ  । उनी आफैले परिवारको खुशी खोज्न १४ वर्षअघि विदेश (खाडी मुलुक गएका बुबाले १४ वर्षपछि घर फर्कँदा आफ्नै छोरोलाई नचिनेको कथा रोचक र मार्मिक शैलीमा प्रस्तुत गरेका छन् ।

फागुन २१ गतेसम्म मञ्चन हुने नाटक यल्लो कमेडीमा यसअघि ६ वटा नाटकमा अभियन गरेका याङसाङ मुकारुङ गाउँघरमा धामी बाजेहरुले कसरी गाउँलेलाई मुर्गा बनाउँछन् भन्ने कथा भन्न मञ्चमा उफिन्छन् – ढङ्ढङ् ढङ्ढङ् ढङ्ढङ्, ठ्याङ्ठ्याङ ठ्याङ्ठ्याङ ठ्याङ्ठ्याङ .. गर्दै गाउँकै नामुद ढोले साइँलाका रूपमा ।


सागर खाती कामी साइकल कुदाएको अभिनय गर्दै ।

सागर खाती कामी मञ्चमा खुट्टाको गलत उपचारले भोग्नु परेको सास्तीलाई जीवन्त प्रस्तुती दिन्छन् । उनको कथा झापाको धुलाबारीदेखि पश्चिम बंगालको बिनागुढी हुँदै हातखुट्टाको हड्डी सम्बन्धि प्रख्यात उपचार केन्द्र महेशपुरमा आएर पूरा हुन्छ ।

त्यस्तै सुमित्रा पेहिमले बाल्यकालको रमाइलो र घरमा मोःमो बनाएर खाँदाको घटनालाई यल्लो कमेडीमार्फत दर्शकसमक्ष प्रस्तुत गरेकी छिन् । असहज समयमा उनी आमालाई सम्झन्छिन् र पालो दिन्छिन् सिजनलाई अर्को प्रस्तुतिका लागि ।

यल्लो कमेडीमा यी चार कलाकारका अतिरिक्त दीपक खरेल, मनिक शंकर, र पासाङ चोमु शेर्पा, रश्मी उप्रेती, नवीन रिजाल र सदीक्षा अधिकारीले कथावाचक कलाकारहरुलाई हरतरहले सहयोग गरेका छन् ।


कलाकार सुमित्रा पेहिम । अभिनय गर्दै ।

चार जना कलाकारले सरदर १०–१० मिनेटमा आफ्नो कथा सुनाउँछन् भने एउटा कथाबाट अर्को कथामा दर्शकलाई जोड्न कलाकारहरुले बीचबीचमा निक्कै पुराना गीतहरु गाउँछन् । सबै कथामा बाल्यकालका भोगाइहरुलाई नै विषय बनाइएको छ । नाटक हेर्न जाने दर्शकलाई कुनै कथाले हँसाउँछन्, कुनै कथाले भावुक बनाउँछन् ।

पूर्व पश्चिम राजमार्गको दमक चोक खण्डबाट करिब २२ मिटर दक्षिण दमक ९ स्थित कदम थिएटरको सेउपाखा बहुसाँस्कृतिक नाटकघरसम्म पुगेर दमक र वरपरका नाटकप्रेमी दर्शकले ३ सय र विद्यार्थी सहुलियतमा १ सय ५० रूपैयाँ तिरेर नाटक हेर्न सक्छन् र १ घण्टाको समय भरपूर मनोरञ्जन लिन सक्छन् ।

कदमको सेउपाखा बहुसाँस्कृतिक नाटकघर पुग्न गुगल म्यापको सहायता लिनै पर्दैन । दमक चोक र सगरमाथा पेट्रल पम्प दक्षिणको बरगाछी चोकको बीचमा दक्षिणतिर जाने जति सबै ठूला बाटाहरु प्रयोग गरेर सहजै पुगिन्छ । (हरप्रहर अनलाइनबाट)

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...