ललितपुर, १९ माघ । ताप्लेजुङबाट काठमाडौं आई बसेका र विभिन्न पेशा तथा व्यवसायमा आवद्ध रहेकाहरुले मुक्कुम्लुङ पाथीभरा सम्पदा संरक्षण संघर्ष समिति गठन गरेका छन् । पछिल्लो समय केवलकार निर्माण रोक्नको लागि अभियन्ताहरुले आन्दोलनजारी राखेका छन् ।
यहि १२ गते राज्यले बल प्रयोग गरेको र आन्दोलनकारीमाथि गोली चलाएको घट्ना यति वेला चर्चाको विषयमा रहेको छ । घाईतेहरुको काठमाडौंस्थित त्रि.वि. शिक्षण अस्पतालमा उपचार भैरहेको छ । आन्दोलन निरन्तर अगाडि बढेसँगै पहिचान र संस्कृति मेटाउन खोजेपछि उपत्यकामा ताप्लेजुङबाट आई बसेकाहरुले यो संघर्ष समिति गठन गरेको संचारकर्मी विश्व लिम्बुले जानकारी दिएका छन् ।
आज (शनिबार) सङ्घर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मुक्कुमलुङको महिमाबारे प्रकाश पार्दै सम्पदा मास्ने कार्य स्विकार्य नभएको चेतावनी दिएको हो । संघर्ष समिति काठमाडौंका संयोजक नेपाली सेनाका अवकाश प्राप्त उपरथी अनन्तबहादुर थेबेले पाथीभरा (मुक्कुम्लुङ) किराँत, हिन्दु र बौद्धमार्गीहरुको साझा धार्मिकस्थल रहेको बताएका छन् ।
उनले भने,‘अहिलेको द्धन्द्ध भनेको पाथीभरा मुक्कुमलुङमा केवलकार निर्माण गर्ने वा नगर्ने भन्ने विषयमा छ । खास मुद्दा पेचिलो र गहिरो छ । स्थानीय रैथाने आदिवासी जनजातिको संवेदना, परम्परादेखि सनातनदेखि मानिआएको आस्था र विश्वासको बीचमा केही लोभीपापी र स्वार्थहरुको द्रव्यपिशाचुको स्वार्थको द्धन्द्ध हो । पवित्र स्थानलाई मौलिक रुपमा राख्नुपर्छ । पवित्र रुपमा राख्नुपर्छ । सर्वसाधारण नागरिकलाई आवातजावातमा बाटोको पहुँच बनाउनुपर्छ । पाथीभरामा कवेलकार लगेपछि पवित्रतामा आँच पुग्छ भन्ने हो । कतिपय मान्छेले यो गलत काम भएकोप्रति बोल्न सकेका छैनन् । सरकारले बन्दुकको नालको त्रास देखाएर अनि राज्य सत्ताको दुरुपयोग गरेर त्रास देखाइएको छ । यो बोल्न सक्ने वा नसक्ने बीचको पनि द्वन्द्व हो।’
उनले मुन्धुममा नै मुक्कुलुङको चर्चा रहेको भन्दै यसको संरक्षण गर्नु सबैको दायित्व भएको सम्झाए । उनले भने,‘इतिहास जित्नेले लेख्नेछ। रचना गर्छ। हाम्रो देशको हकमा पनि त्यही नै भएको छ । २ सयवर्ष मुक्कुम्लुङमाथियो। सनातनकालदेखि थियो । मुन्धुममा मुक्कलुङको चर्चा र व्याख्या छ । अहिले सिलसिलेबार ढंगले आक्रामण हुनथालेको छ । अहिले समय परिवर्तन भएको छ । चन्द्रागिरीम ाधर्मलाई व्यवसायीकरण गरियो । पाथीभरा भनेको अनादिकालदेखि नै छ । चन्द्रागिरी र पाथीभरा तुलनागर्न नै मिल्दैन । पाथीभरामा अहिले केवलकारको कुरा पैसाको लागि आमा बेचे सरह हो । धर्मलाई व्यापारीकरण गर्ने कुरा हामीलाई सह्य छैन । किमार्थ मान्य छैन।’
उनले सरकारले जनताको चाहना विपरित परियोजना अघि बढाउन नहुनेतर्फ ध्यानाकार्षण गराए । उनले भने,‘पाथीभराजस्तो पवित्रस्थलमा सशस्त्र क्याम्प राखेको छ । बिनाशर्त त्यहाँबाट क्याम्प फिर्ता लिनुपर्छ । त्यहाँ विद्रोह, विरोध र आन्दोलन गरिरहेका नागरिक यो देशको स्वतन्त्र नागरिक हुन् । अहिलेको मितिबाट केवलकार निर्माण गर्ने कार्य रोक्नुपर्छ । जनताको हित विपरित कार्य हो । विकास भनेको नै केवलकार भन्ने भाष्य बनाईयो । विमानस्थल चार महिना पनि चल्दैन । बाटो बिग्रिएको छ । व्यापारीको स्वार्थ पूरा गर्नको लागि केवलकार केवलकार भनिएको छ । बन्दुकको गोली लागेर उपचार गराई रहनुभएको छ, तीन जनाले । उनीहरुको स्वास्थ्य लाभको कामना गर्दछु ।’
धर्मिक स्थलमा सशस्त्र प्रहरी बल राख्ने दुनियाँको कहाँ हुन्छ भन्दै उनले प्रश्न गरे । उनले भने, ‘पाथीभरामा केवलकार पुग्यो भने कति अपवित्र होला ? दुर्लभ पशुपन्छीलाई कति असहज भएको होला केवलकारले पाथीभराको विकास होईन, विनास गर्छ । तिर्थाटन स्थलको रुपमा होईन क्रिडास्थल र मनोरञ्जन स्थलको रुपमा विकास गर्छ । पाथीभराको मौलिकता जोगाउनुपर्छ । पवित्रता जोगाउनुपर्छ । केवलकार पुग्यो भने थोरै मात्रैलाई फाइदा हुन्छ । अधिकांशलाई नोक्शानी हुन्छ । पाथीभराको महिमा, गौरव जस्तो छ, त्यस्तै हुनुपर्छ ।’
स्थानीय सरोकारवाला तथा समाजसेवी सलमानथलाङले विकासको नाममा पाथीभराको सभ्यता मास्ने गरि सह्य हुनै नसक्ने सुरुवात भएको भन्दै यथाशिघ्र परियोजना बन्दगर्न चेतावनी दिए । उनले भने, ‘हामीचुपलागेर बस्दैनौं । अहिले पनि पाथीभरामा केवलकार बन्नहुँदैन भन्ने ९९ प्रतिशतको धारणा छ । केवलकार बन्नुहुँदैन भन्ने नै आवाज छ । एक जना व्यापारीले र राज्यले दमन गरेर यदि केवलकार बनाईयो भने भोलित्यहाँ द्धन्द्ध निम्तिन सक्छ । चन्द्र ढकालजी तपाईं जिम्मा लिनुहुन्छ ? विकासको नाममा नौटंकी नगर्नुहोस।’
किराँत याक्थुङ चुम्लुङ काठमाडौंका अध्यक्षतथा समाजसेवी डम्बर बहादुर तुम्बाहाङ्फे मुक्कुम्लुङ मुन्धुम भित्र परेको उल्लेख गर्दै पाथीभरा सबैको धर्मस्थल भएको सम्झाए। उनले भने, ‘मुक्कुम्लुङ त लिम्बुको त शीर हो । त्यहाँ बदमासी भयो भने लिम्बुले छोड्दैन । कोठेवारी जस्तो विकास गर्न मिल्दैन् । त्यहाँ कुनै पनि हालतमा केवलकार बन्नुहुँदैन् । यदि त्यहाँ भोलि ज्यान तल माथि भयो भने ताप्लेजुङको सांसदले जिम्मा लिनुपर्छ।’
अधिवक्ता थाईन्द्र आङबोहाङले पाथीभरामा स्थानीयको अधिकार रहने भन्दै स्थानीयहरुको स्विकृति बिना कुनै संरचना बनाउन र भत्काउन नमिल्ने टिप्पणी गरे । उनले भने, ‘संविधानको धारा २६ ले धार्मिक स्वतन्त्रता दिएको छ । केवलकार निर्माण कार्य खारेज हुनुपर्छ । धार्मिक सम्पदा बचाउनुपर्छ ।’
गायिका झुमा लिम्बुले विकासको नाममा सभ्यता मास्ने कुरा स्विकार्य नहुने र मनपरी गर्न नपाउने बताईन् । उनले भन्नि–‘त्यो ठाउँ त हाम्रो पुस्ताले बचाएको हो। मनपरी गर्न मिल्दैन् । व्यापारीको काँधमा राखेर आफ्नो स्वार्थ पूरा गर्ने काम नगर्नुहोस । चन्द्र ढकाल भनेको व्यापारी हो । त्यो क्षेत्रको सांसदले बुझ्नुपर्छ, माटोको माया लाग्छ भने लाज लाग्दो राजनीति नगर्नुहोस् ।’
अधिवक्ता हरिचन्द्र भट्टराईले ताप्लेजुङमा अहिले राज्यले गरेको व्यवहार मानवअधिकारको हिसाबले गलत भएको टिप्पणी गरे । उनले भने,‘राज्य त्यसै भाग्न पाउँदैन् । पाथीभरा भनेको हाम्रो सभ्यता हो । धरोहर हो । यसमाथि कसैले धावा बोल्नु हुँदैन् । जनताको भावना विपरितका परियोजना ब्याक हुनुपर्छ । विकासको अधिकार भन्दापनि मानवअधिकार पहिले हुन्छ । जनतामाथि राज्यले साङ्घातिक हमला र बुट बजाउन पाउँदैन ।’
पूर्व मिस नेपाल माल्भिका सुब्बाले मुन्धुम आफूहरुको सभ्यता भएको र आफूहरु प्रकृतिपूजक भएको भन्दै मुक्कुमलुङमा केवलकार बनाउन नहुने धारणा राखिन् । उनले भनिन्, ‘हामी त प्रकृतिपूजकहौं। रुख, बोटबिरुवा हो पुज्छौंख (मुक्कुम्लुङ हाम्रो पवित्र स्थल हो । विकास कस्तो हो ? संस्कृति मास्न मिल्छ ? हामी केवलकार चाहँदैनौ ं। बरु त्यहाँबाटो बनाउ । ताप्लेजुङमा बाटो बनाईदिनुहोस । शिक्षा बनाउनु होस । अझैपनि गरिबी छ । हाम्रो कला, संस्कृति मासिनेडर छ । केवलकार बन्नुहुँदैन।’
यस्तै, निर्देशक नवीन सुब्बाले ताप्लेजुङमा केवलकार बनाउन नहुने धारणा राखे । उनले भने,‘अहिले जे काम भैरहेको छ, हाम्रो शीर टेक्ने काम भैरहेको छ विकासको नाममा हाम्रो आस्था प्रभावित भएको छ । हाम्रो लागि त केवलकार बन्नु भनेको हिन्दु धर्म मान्नेहरुलाई गाईको मासु खाउ भने सरह हो । विकासको नाममा धरोहर भत्काउन हुँदैन् । विकासले समाज फुटाउने कुरा स्विकार्य हुँदैन। बरु, जोड्ने कुरा हुनुपर्छ । सरकारको अहिलेको व्यवहारले राष्ट्रलाई द्वन्द्वमा धकेलिरहेको छ । केवलकार बनिनु हुँदैन् । त्यसबाट सेना, प्रहरी, सशस्त्र निकालिनु पर्छ । ताप्लेजुङलाई शान्त रुपमा रहन दिनुपर्छ ।’
वातावरण संरक्षणविद् बाबुकृष्ण कार्कीले जनतालाई दिएको सम्पत्तिमा राज्य जानु भनेको गलत भएको टिप्पणी गरे । सर्वोच्च अदालतले समेत निरंकुक्ष, आरक्षण क्षेत्रमा सडक, केवलकार लैजान मिल्दैन भनेको कुरा उनले स्मरण गराए । उनले भने,‘यो केवलकार खारेजीको फैसला हो । केवलकार मिसनमा व्यापारीलाई बोकेर नेपाली सेना हिँडेको छैन । मौलाकालिकामा ८ किलोमिटरसम्म सालको रुख काटिएको छ । यिनीहरुले भोलि पाथीभरालाई नांगो बनाउनेछन् । केवलकार आयो भने डिजास्टर हुन्छ । मैले त केवलकार बनाउने कुरालाई एटम बम भनेको छुु ।’
वरिष्ठ पत्रकार भवानी बरालले अहिले माफियाको काँधमा चढेर मान्छेले गलत काम गरिरहेको टिप्पणी गरेका छन् । उनले भने,‘ती मान्छेले पैसा बाहेक केही देख्दैनन् । आस्था र विश्वासमाथि प्रहार गर्नु गलत हो । केवलकार देखिसकेका छौं । केवलकार बनाउँदा समृद्धि आउँछ भन्ने कुरा हावा कुरा हो । माफियाले आफू मोटाउनको लागिमात्रै केवलकार भनेको हो । ताप्लेजङको विकासमा कुनै असर गर्दैन् । व्यक्ति पोस्ने काम हो । एकमात्रै सुत्र केवलकार खारेजी हुनुपर्छ।’
राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले समेत केवलकार निर्माण गर्न नहुने आफ्नो धारणा राखेका थिए । केवलकार निर्माणले त्यहाँको सम्पदा मासिन्ने साथै त्यहाँका आदिमकाल देखि बस्दै आएका रैथाने याक्थुङ लगायत जातीहरुको सभ्यता समाप्त हुने खतरा औलाए ।
कार्यक्रम सञ्चालक पत्रकार विश्व लिम्बुले पनि पाथीभरामा केवलकार बनाउने कुरा मान्य नभएको भन्दै ऐक्यबद्धता जनाए । उनले ‘क बाट केवलकार, ख बाट खारेज, सरकार छातीमा गोली ठोकेर हाम्रो अस्तित्वलाई ढाल्न सक्दैनौं’ भन्ने नारासहित यही माघ २१ गते सोमबार दिउँसो १२ः३० बजे माइतीघर मण्डलमा कार्यक्रम राखिएको भन्दै भेला हुन आग्रह गरे ।
संरक्षण समितिले जारी गरेकाे विज्ञप्ति हेर्नुहाेस्ः
