काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान संसोधन गर्दै केन्द्रीय समिति २९९ जनाको बनाउने निर्णय गरेको छ । त्यसैगरी आज बसेको स्थायी समितिको बैठकमा महिला ३५ प्रतिशत र दलित १५ प्रतिशत अनिवार्य गर्ने समेत सहमति भएको छ ।
उक्त बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी पास गरेको अन्तरिम विधानअनुसार केन्द्रीय समितिदेखि सबै समितिमा यो तत्काल लागू हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार संशोधित विधानमा केन्द्रीय कमिटीदेखि वडा सम्मका सवै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य व्यवस्था गर्ने निर्णय स्थायी समिति बैठकले गरेको हो ।
त्यस्तै माओवादी केन्द्रको केन्द्रीय कमिटीमा उत्पीडित दलितबाट १५ प्रतिशत सदस्य पुर्याइनेछ । त्यसैगरी युवालाई २० प्रतिशत अनिवार्य गर्ने समेत बताइएको छ । यसरी नै समितिको पदाधिकारीमा एक महिला अनिवार्य समेत गर्ने बताएको छ ।
साथै प्रदेश, जिल्ला र पालिका कमिटीमा त्यहाँ रहेको जनसंख्याको प्रतिशतमा २ प्रतिशत थपेर अनिवार्य प्रतिनिधित्व गराइने जनाइएको छ ।
२९९ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टिम बन्नेछ ।
बैठकले पार्टी समिति वा नेतृत्व निर्माण प्रक्रिया के हुन्छ ? निर्वाचन, पार्टी कार्यकर्ताको मूल्यांकनलाई कसरी जोड्ने ? कार्यकारी पदमा उमेर हद राख्ने कि नराख्ने ? बहस खुला गरेको छ ।