काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छन् । आज (बिहीबार) राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषदको सिफारिसमा उनले शपथसम्बन्धी अध्यादेश २०७८ जारी गरेकी हुन् ।
नेपालमा हालसम्म शपथसम्बन्धी संघीय कानुन बनेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३१ गते प्रधानमन्त्री पदको शपथ लिँदा राष्ट्रपतिले वाचन गरेको शब्द वाचन नगरी ‘त्यो पर्दैन’ भनेपछि विवाद उत्पन्न भएको थियो ।
कानुन व्यवसायीहरुले राष्ट्रपतिले गराएको शपथको कानुनी हैसियतमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारसँग लिखित जवाफ मागेको छ ।
यस्तै आजै राष्ट्रपति भण्डारीले अर्को अध्यादेश कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ पनि जारी गरेकी छन् ।