
तेह्रथुम, २६ वैशाख । वडा अध्यक्षमा आफु निर्वाचित भए सरकारी सेवा सुविधा नलिने म्याङलुङ नगरपालिका वडा नम्बर ८ का अध्यक्षका उम्मेदवार लोक बहादुर सम्बाहाम्फेले घोषणा गरेका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका सम्बाहाम्फेले वैशाख ३० गते हुने निर्वाचनमा म्याङलुङ नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा निर्वाचित भए कुनै पनि प्रकारको सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।
स्थानिय सरकार संचालन गर्ने राज्यको नीति निर्देशनमा रहेर वडाको विकासमा कुनै कसर बाकी नराख्ने तथा ऐनले तोकेका र घोषणा गरेका कुनै पनि सेवा सुविधा नलिने सम्बाहाम्फेले बताउनु भयो ।
म्याङलुङ नगरपालिकामा १० वटा वडा मध्ये वडा नम्बर ८ मा बैशाख ३० गते हुने निर्वाचनमा मञ्चमा वडाध्यक्ष पदका लागि लोक बहादुर सम्बाहाम्फे सहित नेकपा एमालेबाट सुनिल सम्बाहाम्फे र नेपाली कांग्रेसबाट उत्तम कुमार सम्बाहाम्फे गरी ३ जनाको उम्मेदवारी रहेको छ । उनीहरु हालैमात्र पुरानो पार्टीबाट आफ्नो पहिचान र अस्तित्व स्थापित नहुँने भन्दै परित्याग गरि मञ्चमा प्रवेश गरेका हुन् ।