
झापा ,१४ जेठ । किरात राई यायोक्खा (किराया) झापा जिल्लाको आयोजनामा यहि जेठ २१ गते जिल्लास्तरिय साकेला हुने भएको छ । झापाको साकेला सिली कार्यक्रमलाई औपचारिक रुपमा यसवर्ष पनि कमल ४ र ५ को संगमस्थल साकेला चौक सितापुरी उत्तर साकेला थानमा भव्य रुपले समापन हुने भएको छ ।
विगत बर्षमा झै साकेला उभौलीको अवसरमा बैशाख पूर्णिमाको दिन देखि सुरु गरी झापा जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रम भई जिल्ला स्तरीय समापन भने सोहीस्थानमा हुँदै आएको छ ।
उक्त सिलीमा झापाका सबै पालिका तथा वडा समितिहरुको साकेला सिली प्रदर्शन साथै इलाम, मोरङ र भारत बाघडोग्राबाट समेत साकेला टोली सहित कार्यक्रममा सहभागि हुने किराया झापा जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए । विगत वर्षहरुमा ३० देखि ३५ वटा साकेला सिली टोलीको सहभागिता रहदै आएको छ । कोरोनाका कारण दुई बर्ष कार्यक्रमलाई असर गरेता पनि यस पटक केहि साकेला टोली बढ्ने अनुमान गरिएको छ ।
विभिन्न ९ वटा उपसमितिहरु गठन
कार्यक्रमलाई व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न ९ वटा उपसमितिहरु बनाइएको छ । कार्यक्रम मूल आयोजक समिति, स्वयवसेवक परिचालन, अतिथि सत्कार, मेला व्यवस्थापन उपसमिति लगायतको उपसमितिहरु गठन गरिएको अध्यक्ष राईले बताए । कार्यक्रममा साकेला सिली प्रदर्शन, विभिन्न विद्यामा अग्रज सफल व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम साथै मनोरञ्जनका खेल तामासाहरु समेत मेलामा रहने बताइएको छ ।
साकेला सिली प्रतिको बढ्दो मोहलाई मध्यनजर गर्दै यस पटक कार्यक्रम व्यवस्थापनमा समेत ध्यान दिइएको किराया जिल्ला सदस्य सुशिल राईले बताए । करिब ६ देखि ८ हजार मानिसहरुले कार्यक्रमलाई अवलोकन गर्ने राईले बताए ।