कोरिया जान पाउनु पर्ने माग ट्वीटरको टेन्डिङमा

 लिम्बुवान न्युज
                       

काठमाडाैं/ रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि अड्किएका युवाहरूले सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारलाई ध्यानाकर्षण अभियान चलाएका छन् ।

कोरियाले अन्य मुलुकबाट इपिएस प्रणालीअन्तर्गत श्रमिकहरू लिइसक्दा पनि नेपालबाट भने सरकारले समन्वय नगर्दा आफूहरू जान नपाएको भन्दै उनीहरूले प्रधानमन्त्री केपी ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई मेन्सन गर्दै ट्वीटमार्फत ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले प्रधानमन्त्री ओली र रिमाललाई मेन्सन गर्दै ‘जस्टिस फर इपिएस पासर’ लेखेर ट्वीट गरेका हुन्। अहिले उनीहरूको ट्वीट #justiceForEPSpassers नेपालको ट्वीटर ट्रेन्डिङमा छ ।

विगत १५ महिनादेखि कोरिया रोजगारीको बाटो बन्द हुँदा भाषा परीक्षा पास गरी सम्पूर्ण प्रक्रिया पूरा गरेका दस हजार युवाको रोजगारी संकटमा परेको छ। तर यसमा सरकारले कुनै चासो नदेखाएपछि आफूहरूले द्वीटरमार्फत ध्यानाकर्षण गराएको उनीहरूले बताएका छन् ।

‘न देशमा अवसर छ। हामीले त्यत्रो मेहनत गरेर मुश्किलले पाएको अवसर गुम्दै गर्दा पनि सरकार चुपचाप छ। उच्चस्तरीय छलफल र समन्वय नहुँदा दस हजारको रोजगारी अन्योलमा परेको छ,’ कोरिया रोजगारीमा जान सबै प्रक्रिया पूरा गरेर बसेका अजय सोडारीले सेतोपाटीसँग भने ।

कोरियाले इपिएस प्रणाली अन्तर्गत अन्य मुलुकबाट निश्चित स्वास्थ्य मापदण्ड पालना गरी श्रमिकहरू लगिरहेको भए पनि नेपालसँग भने कूटनीतिक पहल नहुँदा आफूहरूको रोजगारी संकटमा परेको उनको भनाइ छ ।

कोरिया रोजगारीको बाटो तत्काल खुला गर्न माग गर्दै युवाहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलकुमार श्रीवास्तवलाई मंगलबार ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । नेपाल सरकार तथा कोरिया सरकारले तोकेका सबै मापदण्ड पूरा गरी जतिसुकै खर्च लागे पनि आफैं बेहोर्न तयार रहेको उनीहरूले बताएका छन् ।

यसअघि पनि उनीहरूले कोरिया रोजगारीको बाटो खुला गर्न माग गर्दै सरकारलाई पटक–पटक ध्यानाकर्षण गराएका थिए। तर यस विषयमा टुंगो लाग्न सकेको छैन। त्यसो हुँदा भाषा परीक्षा पास गरेर सबै प्रक्रिया पूरा भई रोजगारदाताबाट श्रम सम्झौता आइसकेका तथा बिदामा फर्किएर यतै अड्किएका दस हजारभन्दा बढीको रोजगारी अन्योलमा परेको छ। कोरोना महामारीकै बीच रोस्टरमा रहेका धेरैको म्यादसमेत गुज्रिसकेको छ।

इपिएस प्रणाली अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरको दुई वर्षसम्म रोस्टरमा नाम रहन्छ। यो दुई वर्षसम्म रोजगारदाताको छनोटमा पर्न नसकेको खण्डमा कोरिया रोजगारीमा प्रवेश गर्न पाइँदैन । कोरिया प्रवेशका लागि पुनः भाषा तथा सीप परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। त्यसपछि रोजगारदाताको छनोटमा पर्न सकियो भने मात्रै प्रवेश गर्न पाइन्छ । (सेतोपाटीबाट)

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...