घरभाडा प्रकरणकी सुनार बिरुद्ध नाराबाजी गर्दै आरोपीतलाई शिक्षामन्त्रीले आफ्नै गाडीमा लिएर गए

 लिम्बुवान न्युज
                       

काठमाडाैं। छुवाछुत आरोपमा समातिएकी सरस्वती प्रधानलाई लिन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आज झण्डावाला गाडी लिएर महानगरीय प्रहरी वृत सिंहदरबार पुगे । सञ्चारकर्मी रुपा सुनारले आफूलाई दलित भएकै कारण घरमा कोठा नदिएको भन्दै उजुरी हालेपछि पक्राउ परेकी प्रधान तीन दिनदेखि हिरासतमा थिइन् । तर, प्रमाण नपुगेको भन्दै सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छोड्न भनेपछि उनी रिहा हुँदै थिइन् । उनै सरस्वतीलाई लिन मन्त्री श्रेष्ठ सरकारी गाडी लिएर शानका साथ प्रहरी कार्यालय पुगेका हुन् ।

प्रहरी कार्यालयअगाडि भीडभाड थियो । थुनामुक्त भएकी घरबेटी अनि उनलाई छुटाउन पुगेका शिक्षामन्त्रीको टोली निस्कनासाथ बाहिर भेला भएकाहरूले होहल्ला गर्दै पीडित युवतीविरुद्ध नै नाराबाजी गरे । साइसाइ सुइसुई पार्दै घरबेटीका समर्थकले खुसीयाली मनाए भने शिक्षामन्त्री पनि ठूलै जित मिलेजस्तै हात हल्लाउँदै बाहिरिए । र, सँगसँगै मन्त्रीकै गाडीमा चढेर घरतिर लागिन् आरोपित घरबेटी सरस्वती ।

उनीहरू गाडी चड्नासाथ घरबेटीको समर्थनमा मानिसहरूले हुटिङ गरे । उनीहरू यतिमै रोकिएनन्, ‘रुपा सुनार मुर्दावाद ! रुपा सुनारलाई कारबाही गर’ जस्ता नारा पनि लगाए । यी सबै दृश्यलाई बहालवाला मन्त्रीले मुकदर्शक बनेर हेरे । यसरी मन्त्री स्वयंले छुवाछुत आरोप लागेकी घरबेटीलाई आफ्नो झण्डावाला गाडीमा राखेर घरसम्म पु¥याइदिए ।

महानगरीय प्रहरी वृत सिंहदरबारका अनुसार हिरासतमा लिइएको तीन दिन पुगिसकेकाले शिक्षामन्त्री नआए पनि घरबेटी छुट्ने थिइन् । त्यसमाथि सरकारी वकिल कार्यलयको आदेशअनुसार हाजिरी जमानीमै छोड्ने तयारी प्रहरीको थियो ।

’मन्त्रीज्यू नआउँदा पनि प्रक्रियाअनुसार हाजिरी जमानीमा घरबेटी छुट्थिन्’, महानगरीय प्रहरी वृतका एक अधिकारीले शिलापत्रसँग भने, ‘किन आउनुभएको हो हामीलाई जानकारी भएन । उहाँ आउँदा सामान्य भीड र होहल्ला भएको थियो ।’

घटनालाई लिएर मन्त्री नै छुवाछुतको पक्षधर देखिएको भन्दै सामाजिक संजालमा आलोचना भइरहेको छ । ट्विटरमा विशाल भट्टले शिक्षामन्त्रीले नस्लवादी चरित्र देखाएको टिप्पणी गरेका छन् । ‘शिक्षामन्त्री श्रेष्ठको दबाबमा जातीय छुवाछुत गर्ने घरबेटी थुनामुक्त भइछिन् । समय आएपछि सबैले नस्लवादी चरित्र देखाउने रैछन्’, उनले लेखेका छन् ।

त्यस्तै निर्मल प्रसाईं लेख्छन्, ‘आरोपितलाई मालाले स्वागत गरेको धेरै देखिएको थियो, आजकल मन्त्री आफैँ जेलदेखि घरसम्म पु¥याउन जान लागे । कति फुर्सदिला, कति लाज गुमाएका ?’

नवीन तिवारीले फेसबुकमा लेखेका छन्– विभेद गरेको आरोपितलाई मुलुकको शिक्षामन्त्रीले छुटाएर आफ्नै गाडीमा हालेर लैजान्छ । मेरो समाजको सक्कली रूपको उदाहरण यही हो । (शिलापत्रबाट)

 

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...