काठमाडौं, १४ असार । कोरोना महामारीका कारण अस्तव्यस्त रहेको खेलक्षेत्र विस्तारै सक्रिय बन्दै गएको छ । यस्तै सहिद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगिता असोजको पहिलो साताबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार यस वर्षको ’ए’ डिभिजन लिग असोज ३ गतेबाट सुरु गर्ने बताएको हो ।
एन्फाले ‘ए’ डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको मिति तय गरेको हो । यस्तै एन्फाले लिगका लागि जुलाई ३० बाट खेलाडी दर्ता खुला हुने समेत जनाएको छ ।
एन्फाले प्रतियोगिता असोजमा सुरु हुने मिति घोषणा गरेपनि सकिने मिति खुलाएको छैन । एन्फाको क्यालेन्डर अनुसार ’ए’ डिभिजन लिग भदौ देखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ । तर, एन्फाले यस सिजनको शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ ।
एन्फाले कोरोना महामारीको कारण अघिल्लो वर्ष ‘ए’ डिभिजन लिग फूटबल आयोजना गरेको थिएन ।