पहिचान भनेको के हो?

 लिम्बुवान न्युज
                       

-कुमार लिङ्देन ‘मिराक’

प्रत्येक मानव समुदायको मनमस्तिस्क, आत्माभित्र ‘म पनि केही हुँ, मेरो छुट्टै परिचय छ, मेरो पनि इज्जत छ, मेरो पनि अस्तित्व छ, मेरो पनि माङगेना छ’ भन्ने आत्मा गौरव, आत्मा स्वाभिमान, आत्मा पहिचानको तरङग दौडिरहेको हुन्छ । मान्छेको मनभित्रको यो चेतना वा आत्मागौरवको तरंग कसरी सिर्जना भयो होला भनेर लामो लामो दार्शनिक बहसहरु भएका छन् । चेतना पहिले जन्म्यो कि भौतिक वस्तु पहिले भनेर अध्यात्मवाद र भौतिकवाद बीचमा लामो संघर्ष भएको छ । यी दुइवटै वादहरुले अस्तित्ववाद/पहिचानवादलाई मान्दैनन् तर संसार चाहिँ न अध्यात्मवाद न भौतिकवाद अनुसार चलेको छ, बरु संसार त अस्तित्ववाद÷पहिचानवाद अनुसार नै चलिरहेको छ ।
विश्वमा छलफल भइरहेको तीनवटा दर्शन (फिलोसोफी) वा वादहरुको बारेमा संक्षिप्त छलफल गरौं ः
१. अध्यात्मवाद – पुँजीवादी कांग्रेसी, राप्रपाहरुले मान्ने
२. भौतिकवाद – माक्र्सवाद – साम्यवाद – कम्युनिस्ट
३. सह–अस्तित्ववाद÷पहिचानवाद – पहिचानसहितको संघीयता पक्षधर – समानुपातिक र जातीय मुक्ति पक्षधर

१. अध्यात्मवाद ः
यो दर्शनले ईश्वरलाई प्रधान ठान्छ। यो ब्रह्माण्ड, यो संसारको सृष्टि ईश्वरले गरेका हुन् । जातजातिको रीति पनि ईश्वरले चलाएका हुन्। को कुन जातमा जन्मेको छ, त्यो ईश्वरले नै निर्धारण गरेका हुन्। भाग्य ठूलो कुरा हो, भाग्यले गर्दा नै कोही राजा वा शासक र कोही रैती हुन्छन। मानव चेतना भनेको ईश्वरले निर्माण गरिदिएको हुन्छ । शरीर भनेको भाँडा जस्तो मात्र हो त्यो चेतना ईश्वरले पठाई दिन्छ अनि मान्छे मरेपछि त्यो चेतना ईश्वरले नै लान्छ भन्ने दर्शन यो अध्यात्मवादले बोकेको हुन्छ । यही दर्शनबाट प्रभावित भएर राष्ट्रिय प्रजातन्त्र पार्टीकाहरु खुलेर राजाको पुनस्र्थापनाको लागि प्रयास गरिरहेका हुन्छन् । उनीहरुको बुझाइमा राजालाई ईश्वरले वा भाग्यले राजा बनाएको हो ।
यसरी नै पुँजीवादी कांग्रेसीहरु पनि यही कोटामा पर्छन्। भाग्यले गर्दा नै मान्छेहरु शासक भएका हुन् । भाग्यले गर्दा नै धनी र बाठो भएका हुन् अनि त्यही धनी बाठोले शासन गर्ने हो अरु सबै शासित हुन् भन्ने विचार बोकेकोले गर्दा नै कांग्रेसहरु पनि लिम्बुवान, खम्बुवान … दलित शिल्पीको पूर्ण मुक्तिको लागि बोल्दैनन् । राप्रप्रा, कांग्रेसीहरुको बुझाईमा ईश्वर वा भाग्यले नै दलित बनाएको हो, दलितहरुलाई बिभिन्न रोजगारी वा अवसरमा समेटने सम्म एउटा कुरा हो । तर, उनीहरुलाई ब्राह्मण जतिकै पूर्ण मान्छे बनाउन सकिंदैन भनेर सोच्छन् । यस अध्यात्मवादमा बिश्वास गर्ने वा राप्रपा, कांग्रेसहरुले कहिले पनि जातीय मुक्ति बारेमा स्पष्ट धारणा दिन नसक्नुको मुख्य कारण उनीहरु जुन धर्म मान्छन् त्यही धर्मको किताबमा मान्छेको पूर्वजन्मको कर्मको फलको कारणले गर्दा वा उनीहरुको भाग्यको कारणले मान्छे ठूलो सानो जातमा जन्मेको हो भनेर लेखिएको छ । एकजना बिश्वकर्मा वा परियारको भोट लिन सक्छन्, तर यी समुदायको पूर्णमुक्तिको बारेमा राप्रपा, कांग्रेसीहरु कहिले बोल्न सक्दैनन् । किनकि, साँच्चै बोल्नु प¥यो भने आफूले मानिरहेको धार्मिक पुस्तकको केही पानाहरु नै च्यातेर फ्याँक्नु पर्ने हुन्छ, जुन काम उनीहरु कहिले गर्नै सक्दैनन् । त्यसैले यी पार्टीहरुबाट दलित शिल्पीले कहिल्यै मुक्ति पाउन सक्दैनन् ।
यो अध्यात्म दर्शनमा बिश्वास गर्नेहरुले के बुझेका हुन्छन् भने चेतना ईश्वरले दिने हो । त्यो राम्रो चेतना चाहिँ ब्राह्मणलाई मात्र दिएको हुन्छ, अन्य आदिवासी र दलित शिल्पीहरुलाई त्यो चेतना नै दिएको हँुदैन । यो दर्शनमा बिश्वास गर्नेहरुले आफू ब्राह्मणबाहेक अरुलाई त मान्छे नै गन्दैनन् । अन्य समुदायहरु जस्तै आदिवासी, दलित शिल्पीहरुले पनि सोच्न सक्छन् । आफ्नो माटो, भाषा, संस्कृति, आफ्नो समुदायप्रति गहन कुराहरु सोच्न सक्छन् भनेर अध्यात्म पुँजीवादीहरुले कहिले सोचेका हुँदैनन् । हर मान्छेभित्र सोच्ने शक्ति हुन्छ, उनीहरुले पनि मुक्ति चाहिरहेका हुन्छन् होला भनेर यो अध्यात्म पुँजीवादीहरुले कहिले सोचेका हँुदैनन् । त्यसैले यस्तो विचारशुन्य, निर्दयी, मान्छेले मान्छेलाई बुझन नसक्ने, मान्छेले मान्छेलाई सम्मान गर्न नसक्ने, एउटा ठूलो समुदाय जातकै आधारमा अपमानित जिन्दगी बिताइरहेको छ र उक्त समुदायलाई हरहालतमा पूर्ण मानव बनाउनु पर्छ भनेर सोच्न नसक्ने, ढुङ्गाको मुटु लिएर बाँचेका अध्यात्म पुँजीवादी राप्रपा, कांग्रेस समुदायमा रहेर पहिचानको, जातीय मुक्तिको परिकल्पना गर्नु नै बेकार छ । यो दर्शनमा रहेर दलितहरुले जातीय मुक्ति र आदिवासीहरुले पहिचान पाउन सक्दैनन् । यस दर्शनमा रहेर राजनीति गरिरहेका आफूलाई उदारवादी सम्झने केही होलान् उनीहरुले केही सुधारका कार्य गर्न चाहन्छन् होला, तर मुक्ति भन्ने कुरा सुधारले मात्र पुग्दैन, पूर्ण परिवर्तन वा क्रान्ति नै हुनुपर्छ। त्यस बेला यस दर्शनका उदारवादी हुँ भन्ने नेतालाई उसकै अध्यात्म पुँजीवादले रोक्छ र उसले केही गर्न सक्दैन । त्यसैले यस दर्शनमा झुण्डिएर समय बिताउनु भन्दा समयमा नै नयाँ बाटो, नयाँ दर्शन रोज्नु उपयुक्त हुनेछ ।
अनि यस दर्शनमा मान्छेहरुलाई अलमलाएर राख्ने ठूलो हतियार चाहिँ पुनर्जन्मको कथा – यस जन्ममा दलित भएर जन्मिए पनि शान्त भएर बस, ब्राह्मणको सेवा गर तब अर्को जन्ममा ब्राह्मण भएर जन्मिहाल्नेछौ नि । नआत्तिनु, धैर्य गर्नु, ब्राह्मणको सेवा गर्नु । यो दर्शनले यसरी मान्छेहरुलाई धैर्य गर्न सिकाउँछ र उत्पीडित समुदायलाई क्रान्तिमा जान रोक्छ । यसरी ठूलो समुदाय पुनर्जन्मको कुरामा अलमलिएर क्रान्ति गर्दैन र दलित नै भएर बस्दछ । जब ठूलो समुदायले दलित भएर बस्ने मौन स्वीकृति दिएपछि अध्यात्म पुँजीवादीहरु आफूलाई कथित उच्च वा ब्राह्मण भएको घोषणा गर्छन्। यसरी नै कथित उच्च जातिहरुले आफ्नो राजनैतिक, आर्थिक, धार्मिक, भाषिक ब्यापार सफल पारिरहेका छन् ।
यसरी यो अध्यात्म पुँजीवादी दर्शनबाट जातीय मुक्ति, पहिचानको मुक्ति सम्भव छैन । पुनर्जन्मको आशामा अलमलिनु बेकार छ । बरु जे जति क्रान्ति, आन्दोलन गर्नु छ, यही जीवनमा गर्नुपर्छ भनेर नयाँ बाटो रोज्नु नै सबै भन्दा बुद्धिमानी हुनेछ ।

२. भौतिकवाद – माक्र्सवाद – साम्यवाद – कम्युनिस्ट दर्शन ः
अध्यात्म पुँजीवादको बिरुद्धमा आएको र आफूलाई क्रान्तिकारी दर्शन सम्झने यो भौतिकवाद – माक्र्सवाद – साम्यवाद – कम्युनिस्टवादले पुँजीवादले दिएको विश्व दृष्टिकोण भन्दा फरक वा ठीक उल्टो विचार र दृष्टिकोण दिएको छ। यो दुईवटा वादहरुबीचमा विश्वमा धेरै भन्दा धेरै टक्कर परेको छ, टक्कर परिरहेको छ । यो दुईवटा विचारमध्ये एउटाले अर्कोलाई सिध्याउन नेपालको पहाडहरु भन्दा थुप्रो चाङ लाग्ने गरी विश्वमा पुस्तकहरु नै लेखिएका छन् । विश्वको सबै भन्दा खतरनाक हातहतियारहरु यही दुई विचारबीच टक्कर हुने क्रममा एकले अर्कोलाई सिध्याउनको लागि बिकास भयो। विश्वका करोडौं मान्छेहरु यही दुईवटा विचारको द्वन्द्वमा मारिएका छन् । के छ त कम्युनिस्ट सिद्धान्तमा जसले एक जमानामा विश्वको करोडौं मान्छेलाई आन्दोलित ग¥यो ? नेपालमा अन्तिम पटककै लागि भए पनि लाखौं जनताहरु कम्युनिस्ट विचारले दिएको ललिपपमा भुलिए, आखिर के छ त कम्युनिस्ट विचारभित्र? कसरी सत्तामुखी मखुण्डोधारीहरुले टाउको लुकाउने ठाउँ पाउँछन् यो कम्युनिस्ट विचारभित्र, अनि कसरी पहिचानको खास शत्रु हो कम्युनिस्ट विचार । यस बारेमा छलफल बहस गर्नु समय सान्दर्भिक हुनेछ ।
कम्युनिस्टहरुले भन्छन् – यो संसारमा ईश्वर, धर्म, भाग्य, जातपात, धनी गरीब (बर्ग), भाषा, लिपि, इतिहास, पहिचान, देश देशको सिमानाहरु,
निजी सम्पत्ति र परिवार भन्ने केही हँुदैनन्, यी सबै वाहियात हो । यी सबै विषयहरुको अन्त्य पछि विश्वमा एक प्रकारको टेन्सन फ्री वातावरण बन्छ त्यसलाई साम्यवाद भनिन्छ – यो नै कम्युनिस्टहरुको खास दर्शन हो । मान्छेको चेतना ईश्वरले दिएको होइन, आत्मा अमर हुँदैन, शरीर सँगै आत्मा मर्छ, मान्छे ईश्वरले बनाएको होइन, ढुङ्गा, माटो, पानी, प्रकाश वा तत्वहरुबाट मानिस बनेको हो, गरीबको खुन चुसेर धनी भएका हुन्, जातीय अधिकार दिएर जातीय मुक्ति गर्ने होइन कि जात भन्ने नै हटाउनु पर्छ, पहिचान र एतिहासिक पृष्ठभूमिको आधारमा स्वायत्त प्रान्त दिने होइन बरु संसारमा यो राज्य भन्ने सिस्टम नै उन्मुलन गर्नुपर्छ भन्ने नै कम्युनिस्ट विचारका मुलभूत कुराहरु हुन् ।
कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले आफ्नो कुनै पनि कार्यक्रम शुरु गर्न अघि ‘अब हामी मानिस अन्तर्राष्ट्रिय जाति हुनेछौं’ भन्ने इन्टरनेशल गीत गाउँदछन् । यसको अर्थ किन चाहियो हामीलाई मातृभाषा, किन चाहियो हामीलाई लिम्बुवान, तमुवान, तामाङसालिङ, … किन चाहियो दलित शिल्पी प्रान्त …? जब नेपाल, इन्डिया, चीन, जर्मन, जापान, अमेरिका नै एकदिन एउटै देश हुनेछ, संसारमा रहेको सबै देशको सिमानाहरु नै बिलय हुनेछ भने किन चाहियो खशान, मगरात, थरुहट भनेर कम्युनिस्ट नेताहरुले हामी आदिवासी, दलित शिल्पीहरुको दिमाग भुटेर आफ्नो राजनैतिक ब्यापार अघि बढाइरहेका छन् । अनि हाम्रो आदिवासी, मधेशी, दलित शिल्पीले सोच्छ – साँच्चै विश्व नै एकदिन एउटै देश हुनेछ भने र सारा मान्छेहरु नै इन्टरनेशल जाति हुने भए किन हामीलाई हाम्रो मातृभाषा, किन हामीलाई हाम्रो ऐतिहासिक प्रान्त चाहियो? यसरी कम्युनिस्ट ब्राह्मण नेताहरुले वि.सं. २०२५ सालदेखि २०४६ सालबीचको हाम्रो आदिवासी, मधेशी, खस, दलित शिल्पी युवाहरुको दिमाग भुटेर हामीलाई खतम गरे नि। त्यो सबै भन्दा महत्वपूर्ण काल जहँ विश्व स्तरमा विचारहरु (ideology) निर्माण भइरहेका थिए । त्यही कालको हाम्रा युवाहरुको दिमाग भुटेकोले त्यसको मार अहिले हामी खेप्दैछौं। त्यो समयमा दिमाग भुटिएर देब्रे भएका हाम्रा आदिवासी, खश, मधेशी, दलित शिल्पी समुदायहरुको उल्टो अगुवाहरु जो अहिले तिनै ब्राह्मण कम्युनिस्टहरुले दिएको छोइछिटो खाएर पहिचानको आन्दोलनको सबै भन्दा बाधक भइरहेका छन् ।
अध्यात्म पुँजीवादीहरुले ईश्वर हुन्छ हुन्छ भनेर उनीहरुको पुस्तक पढाउँदा पढाउँदा गरे त्यसपछि कम्युनिस्टहरुले ईश्वर हँुदैन हँुदैन भनेर फेरि माक्र्स, लेनिन, माओका पुस्तकहरु घोकाउन थाले । हामी मान्छेहरुले चाहिँ त्यही ईश्वर हुन्छ र ईश्वर हुँदैनको किताब पढ्दैमा हाम्रो जिन्दगी गयो । दुई बिरोधी ठूला कथाहरुको पुस्तक पढ्दैमा मान्छेको यो महत्वपूर्ण समय बित्यो। ईश्वर हुन्छ र हुँदैनको संघर्षमा मान्छेले आफ्नो दुःख सुख, आफ्नो रहर ईच्छा, आफ्नो सपनाहरुको कथा, कहानी कसैलाई सुनाउन पाएन । कथित ठूला कथाहरु पढ्दा पढ्दा मान्छेको मन दुखाउने साना कथाहरु ओझेल परे, ओझेल पारियो । तर, मान्छेलाई त्यही सानो कथाले सताई रह्यो – ताप्लेजुङको लिम्बु, भोजपुरको राई, सिन्धुपाल्चोकको तामाङ विद्यार्थीले मातृभाषा र स्कुलको भाषा नमिलेर पढाइ छोड्यो । पढाइ छोडेपछि उसले सरकारी जागिर पाएन, अनि स्थायी आयस्रोत भएन र घर परिवार बिराम हुँदा घरखेत बेच्नु प¥यो र त्यो आदिवासीको छोराछोरी हेर्दाहेर्दै सुकुम्वासी सर्वहारा भयो । उता तुलसा बिश्वकर्मा गाउँको निम्नमाध्यमिक विद्यालय सकेर माध्यमिक विद्यालय पढ्न जाँदा कोठा भाडामा लिएर बसेर पढ्नुपर्ने भयो। तुलसा भनिञ्जेल सबैले उनलाई कोठा भाडामा दिए, तर तुलसा बिश्वकर्मा भनेर आफ्नो नाम पुरै भनिसक्दा उनलाई कसैले पनि कोठा दिएनन् अनि मावि पढ्ने आफ्नो रहरलाई त्यही तिलाञ्जली दिएर रुँदै घर फर्किन् । भोलि लोकसेवा आयोग पास गरेर सिंहदरबारमा कुनै मन्त्रालयको सचिव हुने हैसियत भएकी तुलसा आफ्नो नाम पछिको थरको कारणले नै निमाविबाट अघि बढ्न सकिनन् । अनि अर्को वर्षमा डाँडापारीको आफ्नै समुदायको केटासँग विवाह भयो । त्यत्रो सम्भावना बोकेकी तुलसा बिश्वकर्मा अभाव, पीडाको कारणले २५ वर्षको उमेरमा ५५ वर्षको झैं देखिन थालिन् । यस्ता साना साना कथाहरुले आदिवासी, दलितहरुलाई घोचिरह्यो, तर हाम्रा यी साना कथाहरु कसैले वास्ता गरेनन् । यस्तो सानो कुरामा अलमलिनु हँुदैन, राष्ट्र अन्तर्राष्ट्रको बारेमा सोच्नु पर्छ । समुद्र नभए पनि पानीजहाजको बारेमा सोच्नु पर्छ । एउटा आलु पनि निकास बन्द भइरहेको अवस्थामा पनि रेल ल्याउने कुरा सोच्नु पर्छ भनेर हामीलाई अर्ती दिए र हाम्रो सानो सानो कथाहरुलाई उनीहरुको ठूलो कथाको पुस्तकले किच्ने प्रयास गरे ।
कथाको अर्को पाटो पनि थियो – चाहे राप्रपा होस्, चाहे कांग्रेस होस्, चाहे एमाले – माओ होस् जुनसुकै पार्टीको भए पनि बिनिता खनालहरुलाई न त सोनाम तामाङ र नुनाम लिम्बुलाई जस्तो भाषाको समस्या थियो, न त नाम पछिको थरकै कारणले कहिँ कोठा नपाउने तुलसा बिश्वकर्मा जस्तो समस्या थियो। बिनिताहरु निस्फ्रिकी अघि बढिरहेका हुन्थे । कथाभित्रका यी कथाहरुलाई हामीले सम्झाउने प्रयास ग¥यौं, भन्ने, लेख्ने, बुझाउने प्रयास गर्यौं, तर हाम्रा यी दुखाईहरुलाई कसैले सुनेनन् । उनीहरु त पुँजीवाद, कम्युनिज्म, समाजवाद के केको बारेमा आ–आफ्नो आयातित पुस्तकहरुलाई टक्कर गराउँदै बौद्धिक आनन्द लिंदै बसे ।
के कम्युनिस्टले भने जस्तो विश्वमा राज्यहरु बिलायो त ? के कम्युनिस्टले भने जस्तो विश्वका मान्छेहरु अन्तर्राष्ट्रिय जाति भए त? के नेपालको कम्युनिस्टहरु चीन र उत्तर कोरिया जाँदा भीषा र पासपोर्ट चाहिँदैन हो ?
लेनिनको नेतृत्वमा सन् १९१७ मा रुसमा र सन् १९४९ मा चीनमा कम्युनिस्ट राज्यहरु स्थापना भए । कम्युनिस्ट सिद्धान्त अनुसार बिस्तारै यी देशहरु बिलय हुनुपर्ने हो । सबैको लागि खुल्ला नभए पनि संसारका कम्युनिस्टहरुको लागि खुल्ला हुनुपर्ने हो । तर, ब्यवहारमा त्यस्तो भएन – यी कम्युनिस्ट देशहरु त अणुबमसहित झन शक्तिशाली राज्यको रुपमा पो बिकसित भयो । राज्यको सिमानाहरु खुल्ला हुन्छन् होला भनेको त सिमानाहरुमा झन् शक्तिशाली सेनाहरु राखेर राज्यलाई अझ मजबुत बनाइयो। नेपालमा पनि धेरै पल्ट कम्युनिस्टहरु प्रधानमन्त्री भए, कम्युनिस्टले त राज्य कमजोर बनाउने नीति ल्याउनु पर्ने हो, तर राज्यलाई अझ शक्तिशाली बनाउँदै लगेका छन्। राज्यलाई कमजोर बनाउँछन्, तब निजी सम्पत्तिको रक्षा हुँदैन। अनि निजी सम्पत्ति नभए पछि परिवार बिखण्डन हुन्छ, तब तेरो मेरो केही हँुदैन अनि साम्यवाद आउँछ भनेर हाम्रा २०२५ सालदेखि २०४६ सालसम्मको केही बुझन चाहने युवाहरुलाई कम्युनिस्टको ओखती खुवाएर लिम्बुवान, खम्बुवान, मगरात, नेवाः, शेर्पा, तामाङसालिङ बिर्सन लगाएका थिए। तर, साम्यवाद वा कम्युनिस्ट शासनसम्म पुग्न सबै भन्दा बाधक रहेको निजी सम्पत्ति ध्वस्त गर्छन् होला भनेको त तिनै ब्राह्मण कम्युनिस्ट नेताहरु नै अर्बौं भ्रष्टाचार गरेर निजी सम्पत्ति जोडिरहेका छन् । नयाँ कम्युनिस्ट भाषा (language) आविस्कार गर्छन् होला भनेको त हिजो आदिवासीको जिब्रो काटेर पृथ्वीनारायण, राणा र महेन्द्रले बिकास गरेको यही पर्वते भाषालाई नै पो कम्युनिस्टहरुले अझ सशक्त रुपमा राष्ट्रभाषा भनेर घोषणा गर्छन् है । घटनाक्रमले कम्युनिस्टहरु सबै भन्दा ठूलो सैद्धान्तिक जोकरमा परिणत भइरहेका छन् ।
यस परिस्थितिमा स्वभाविक रुपमा बहस उठ्छ नै – ब्राह्मण पुँजीवादी वा ब्राह्मण कम्युनिस्टहरुको पहुँच रहेको केन्द्रीय सिंहदरबारीया राज्य बिगठन नहुने बरु अझ शक्तिशाली हँुदै जाने अनि अरुलाई चाहिँ ‘हामी अन्तर्राष्ट्रिय जाति हौं। एक दिन देशको सिमानाहरु नै हराउनेछन् । किन चाहियो लिम्बुवान प्रान्त … खशान प्रान्त … दलित शिल्पी प्रान्त …’ भनेर अलमलाउने हो भने कम्युनिस्टहरुले दिमाग भुटि दिएको देब्रे पुस्ताले त मान्छ होला तर अहिले पहिचानको युगमा जन्मेको नयाँ पुस्ताले मान्दैन । पहिचानवादी पुस्ताले प्रष्ट भन्छ – जसरी तिमीहरुको पहुँच पुग्ने केन्द्रीय सिंहदरबार राज्यलाई शक्तिशाली बनाउँदै लगेका छौं र हाम्रो ऐतिहासिक प्रान्तहरुलाई गुमनाम बनाउने प्रयास गरिरहेका छौं, यो अन्याय सहन सकिंदैन । तिम्रो राज्य हुन्छ भने हाम्रो पनि १०+१ प्रान्त हुन्छ, तिम्रो कम्युनिस्ट सिद्धान्त सम्पूर्ण रुपमा फेल भइसकेको छ ।
यसरी कम्युनिस्ट सिद्धान्त सम्पूर्ण रुपमा फेल भैसकेको छ। तैपनि किन ब्राह्मण नेताहरुले कम्युनिस्ट सिद्धान्तलाई बोक्रा मात्र भए पनि पक्रिरहेका छन् त? किनकि, उनीहरु सत्तामा बसिरहन चाहन्छन् । त्यसको लागि बहुदलमा पार्टी चाहिन्छ। यो कम्युनिस्टको सिद्धान्त चाहिँ कहिले लागु नहुने, तर बिशेष गरेर आदिवासी, दलित, खश, मधेशीहरुलाई उल्लु बनाउन सजिलो हुने भएकोले ब्राह्मण नेताहरुले यो कम्युनिस्ट नाम गरेको पार्टी पक्रिरहेका छन् ।
कम्युनिस्टहरुले जाति–पाति हटाउँछौ भने – जाति र पाति छुटाउने रीत म मान्दै मान्दिन भनेर ठूलो ठूलो गीत गाए। भूमिगत कालमा यी सबै कम्युनिस्ट नेताहरुको तीन वा चार अक्षरको कम्युनिस्ट नाम हुन्थ्यो – प्रचण्ड, सञ्जय, अभिमन्यु, श्रादुल … आदि। तर, जब यिनीहरुले भूमिगत अवस्थामा आफ्नो स्पेस बनाएर खुल्ला राजनीतिमा आए तब यिनीहरु सबै जना ओली, दाहाल, खनाल, नेपाल, भण्डारी आदिमा पुनः रुपान्तरण भए। हुन पनि कम्युनिस्ट विचारले जात वा थरलाई कसरी हटाउन सकोस्, जबकि Karl Marx को थरबाट Marxism (माक्र्सवाद) रहन गयो, र Mao Zedong को थरबाट Maoism (माओवाद – चिनियाँमा थर पहिले आउँछ) रहयो। यस्तो अवस्थामा कम्युनिस्टले जातपात हटाउँछ भनेर सोच्नु जति उल्लु कुरा केही हँुदैन। कम्युनिस्टले कहिल्यै जात वा जातीय समस्या हटाउन सक्दैन। कति सजिलै प्रचण्ड दाहाल भए, कति सजिलै सञ्जय ओली भए र कति सजिलै श्रादुल भण्डारी भए। जेहोस्, यिनीहरुले नामको पछि जात, थर हटाउन नसक्ने रहेछन्। पुँजीवादी कांग्रेसले जात भनेको देउताले बनाएको भन्ने, अनि क्रान्तिकारी कम्युनिस्टले पनि जात हटाउन नसक्ने, जबकि यहाँ तुलसा भनिञ्जेल ठीकै हुने तर तुलसा बिश्वकर्मा भने पछि जातीय विभेद शुरु हुने वा प्रकाश भनिन्जेल ठीकै हुने तर प्रकाश लिम्बु, प्रकाश थारु भने पछि विभेद शुरु हुने। यसरी कसैले पनि जात हटाउन नसक्ने अनि त्यही जातको आधारमा विभेद सहिरहनु पर्ने, हो यही अवस्थामा अब पुँजीवाद र कम्युनिस्ट यी दुवै विचारबाट जातीय मुक्ति र पहिचान मुक्ति कुनै हालतमा पनि सम्भव छैन र नयाँ बाटो कोर्न जरुरी छ भनेर नै पहिचान सह–अस्तित्ववादको जन्म भएको हो।

३. सह–अस्तित्ववाद वा पहिचानवादी धार ः
अध्यात्म पुँजीवादले भन्छ – ईश्वरको कृपामा राजा महाराजाहरुले इतिहास र देशहरु निर्माण गर्छन्। तर, यही विचारलाई प्रतिवाद गर्दै भौतिकवादी कम्युनिस्टहरुले भन्छन् ईश्वर, राजा र इतिहास पनि केही होइन । यसरी यी दुईवटै विचारहरुले मान्छेलाई महत्व दिंदैन । पहिलोले ईश्वरलाई सबथोक मान्छ, दोस्रोले धर्म, इतिहास यी सबथोक भत्किएर शुन्य वा साम्यमा पुग्नुपर्छ भन्छ। त्यसैले गहिरिएर हेर्ने हो भने यी दुबै वादले मान्छेलाई महत्व दिंदैन । ईश्वर नमानेको भनेर पनि विश्वमा लाखौं मारिए र कम्युनिस्ट नमानेको भनेर पनि विश्वमा लाखौं मान्छे मारिए ।
भन्नेहरुले भन्छन् – विश्वमा पुँजीवाद र साम्यवाद दुईवटामात्र वाद छ रे । तर सह–अस्तित्वावाद वा पहिचानवादको आँखाले हेर्दा यी दुईवटै वादहरुले विश्वमा काम गरिरहेको देखिंदैन ।
अध्यात्म पुँजीवादले भने अनुसार ईश्वर र पुँजी नै सर्वेसर्वा हुने हो भने विश्वका सबै मान्छेहरुको एउटै धर्म हुनुपर्ने हो, कम्तिमा पनि धर्मको नाममा हुने काटमारलाई रोक्नुपर्ने हो । सबै ईश्वरको सन्तान भए विश्वमा एउटै मात्र देश हुनुपर्ने हो। पुँजी नै सबै चीज हो भने कम्तिमा विश्वको पुँजीपतिहरुको एउटै देश हुनुपर्ने हो । तर, ब्यवहारमा त्यस्तो देखिएको छैन् । आज धर्मको नाममा नै सबै भन्दा धेरै मान्छेहरु एक आपसमा मारिन्छन्, पुँजी पुँजीबीचको द्वन्द्वले नै ठूला युद्धहरु भएका छन्, भइरहेका छन् । यसरी नै विश्वमा कम्युनिस्ट शासनपछि राज्य सकिन्थ्यो भन्थे । तर, झन शक्तिशाली हुँदै गइरहेका छन् । चीनका रुसका राष्ट्रपतिहरु सगौरव भाषण गर्छन् – हाम्रो देश चीनको भूमि रुसको भूमि रक्षा गर्न सक्षम छ। कहाँ इन्टरनेशनल जाति हुने कम्युनिस्टहरु आफ्नो देशको भूमि रक्षाको कुरा गर्छन् । नेपालमा नै पनि जिन्दगीभर इन्टरनेशनल जातिको गीत गएकाहरु फेक राष्ट्रवादको कुरामा जनतालाई अलअल्याएर चुनाव जित्छन् । नत्र कम्युनिस्ट र राष्ट्रवाद त आगो र पानी जत्तिकै फरक र विपरित विषय हो । कम्युनिस्टहरुले ‘बर्गीय समाजमा बर्गीय प्रेम मात्र न्यानो र चोखो हुन्छ …’ भनेर घाँटी फुट्ने गरी गीत गाए तर एउटा कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार हँुदा अर्को कम्युनिस्ट पार्टीलाई एकपल्ट पनि वार्तामा नबोलाई प्रतिबन्ध लगाएर गोलीले भुट्न थाले ।
यसरी एउटै ईश्वर मान्ने मान्छेहरु बीच पनि मेल नहुनु, पुँजी पुँजीबीच मारामार हुनु, बर्ग बर्गबीच गोली हानाहान हुनुले स्पष्ट सन्देश दिएको छ – विश्वमा पुँजीवाद र कम्युनिस्टवाद दुवैले अलिकति पनि काम गरेको छैन। यो दुईवटै वाद फेल भइसकेको छ – नत्र वादले जस्तोसुकै समस्याको पनि परिभाषा गर्न सक्नुपर्छ – ईश्वर मान्ने दुईवटा धर्म बीचमा किन लडाईं? पुँजी मान्ने दुई पुँजी बीचमा किन लडाईं? त्यही माक्र्स, लेनिनको चेलाहरु दुई कम्युनिस्ट पार्टीबीचमा किन लडाई? यस्तो गम्भीर कुराहरु पुँजीवाद र साम्यवादले विश्लेषण नै गर्न सक्दैन । यो दुईवटा वाद फेल भइसकेपछि तेस्रो वाद वा सह–अस्तित्ववाद/पहिचानवादको छलफल, बहस अहिलेको विश्वमा तीब्र भएको छ। सह–अस्तित्ववाद/पहिचानवादले मात्र अहिले विश्वमा भइरहेको घटनाहरुलाई विश्लेषण गर्न सक्छ ।
‘हर मान्छेभित्र अस्तित्व भन्ने चीज हुन्छ । मान्छेलाई जुझारु, संघर्षशील, भावुक, दयालु, क्रुर, कल्पनाशील, आकाङ्क्षी, महत्वकांक्षी, आपुङ्गी, सहकार्य गर्ने स्वभाव यी सबै कुरा मान्छेभित्रको अस्तित्वको कारण नै हो। ईश्वरले त सबैलाई मिलाउनै खोज्छ होला यदि ईश्वर छन् भने, तर मान्छेभित्रको अस्तित्वको कारणले गर्दा मान्छे कहिले मिल्ने पक्षमा छैनन् अनि मान्छेले आ–आफ्नो अस्तिव बचाउन अर्को ईश्वर नै खडा गरेर ईश्वरलाई नै काबु पारिदिन्छ। नयाँ ईश्वर नै खडा गर्न सक्ने मान्छेले बिभिन्न धर्महरु सिर्जना गर्न सक्ने भइ नै हाल्यो । यसरी नै कार्ल माक्र्सले विश्वका मजदुर सर्वहारा एक होउ भनेकै थिए, कम्तिमा पनि मेरो (माक्र्सको) किताब पढ्नेहरु एक होउ भनेकै थिए होलान् । तर, मान्छेभित्रको अस्तित्वको कारणले गर्दा कम्युनिस्टहरुबीच पनि केही न केही फुर्को फुदो झुण्डाएर एक भन्दा अर्को अलग देखाउने चलन नै छ।
विश्वमा एक हुनुपर्ने सर्वहारा कम्युनिस्ट जति धेरै चिरा परेको राजनैतिक दलहरु अरु छैनन् होला। त्यसकारण ईश्वरले जे भने पनि कार्ल माक्र्सले जे भने पनि मान्छे टेर्नेवाला छैन। ईश्वर र माक्र्सलाई त मान्छेले आफ्नो स्वार्थको लागि टुप्पीमा समातेर घुमाइदिइरहेको छ। त्यसैले अस्तित्ववादले भन्छ – मान्छे मुख्य कुरा हो, मान्छेलाई बेवास्ता गरियो भने मान्छेले अर्को ईश्वर, अर्को माक्र्स, अर्को नेता जन्माइदिन सक्छ। तर, अहिले सम्मको दार्शनिक बहसमा मान्छेलाई सधैं किनारामा राखियो, मान्छेलाई महत्व दिइएन, यो गलत थियो। हरेक दार्शनिक बहसको केन्द्रमा मान्छे हुनुपर्छ – मान्छेको दुखाई, भावना, ईच्छा, चाहना, मान्छेको सानो सानो रहर ईच्छाको बारेमा छलफल हुनुपर्छ । मान्छेको मनभित्र रहेको ‘म केही हुँ, मेरो पनि आफ्नै इज्जत अस्तित्व छ, म सोच्न सक्छु, म कल्पना गर्न सक्छु, म आफ्नो बारेमा आफै निर्णय गर्न सक्छु, मभित्र पनि माङगेना छ’ भन्ने मान्छेभित्रको गतिशील तत्वलाई बुझनु र सम्मान गर्नुपर्छ। अन्तिम अवस्थामा मान्छेले ईश्वर, माक्र्स सबै बिर्सन्छ – एउटा ठूलो धार्मिक व्यक्ति बिरामी भएर सिकिस्त भयो भने र अर्को धर्मको मान्छेको मृगौला प्रत्यारोपण गर्दा मात्र निको हुने भयो भने उक्त धार्मिक व्यक्तिले भन्छ – हुन्छ, म बाँच्छु भने उसको मृगौला भए पनि हुन्छ, तर अलिक छिटो चाहिँ लगाई देउ न । यसरी नै जब अर्को देशले कम्युनिस्ट देशको सिमानामा आक्रमण गर्छ त्यसबेला त्यो कम्युनिस्ट देशको सिपाहीले माक्र्स सम्झदैन, किनकि माक्र्सले त मानव एकदिन अन्तर्राष्ट्रिय जाति हुन्छ भनेको छ, सिमाना रक्षाको लागि लड भनेको छैन। त्यसबेला त्यो कम्युनिस्ट सिपाहीले माक्र्सलाई होइन त्यो पिता पुर्खालाई सम्झन्छ जसले त्यो भूमिमा उसको भाषा, लिपि सिर्जना गरेर अनेक कठिनाइको बाबजुद पनि त्यो भूमि बचाइदिएको हुन्छ, हो त्यही पुर्खालाई सम्झेर त्यो कम्युनिस्ट सेना आफ्नो देश रक्षाको लागि लड्छ। यसरी मान्छेले अन्तिममा सबै दर्शन बिर्सेर आफूलाई केन्द्रमा राखेर हेर्छ ।
देवताको ठूलो मन्दिर, चर्चभित्र बसेर मान्छेहरु कसरी आफ्नो देवतालाई बचाउने भनेर छलफल गरिरहेका हुन्छन्, तर त्यही बेला ठूलो भूकम्प गयो भने ती मान्छेहरु नजिकैको आफ्नो देवताको मूर्ती वा महत्वपूर्ण वस्तु जोगाउन होइन आफू जोगिनको लागि दौडेर खुला ठाउँमा निस्कन्छन्। यसरी मान्छे आफ्नो अस्तित्व बारेमा सधै चिन्तित र सचेत हुन्छ, अरु भन्दा कसरी फरक र राम्रो देखिने भनेर मान्छेले सधै कोशिष गरिरहेको हुन्छ। त्यही क्रममा मान्छेले नै बिभिन्न ईश्वर र बिभिन्न दार्शनिकहरु जन्माएर खेल खेलाउँछ । हो, मान्छेभित्रको यही तत्व – अस्तित्व – जो दयालु पनि छ जो स्वार्थी पनि छ । यही अस्तित्व भन्ने तत्वले बिभिन्न धर्म, बिभिन्न देश भएको हो। मान्छे रहिञ्जेलसम्म यो अस्तित्व मर्ने छैन। आफ्नो अस्तित्व अरुमा लाद्नको लागि कहिले माक्र्सको टोपी लगाउँछ कहिले ईश्वरको जामा भिर्छ, नत्र माक्र्स जस्तो खाना खान नपाइ नपाइ मर्ने दार्शनिकले त लिम्बु भाषालाई, तामाङ भाषालाई लोकसेवा आयोगको भाषा नबनाउनु त भनेको थिएन होला नि? यहाँ कोहीहरु आदिवासीको भाषा सिध्याएर आफ्नो अस्तिव अरुमा लाद्न खोजिरहेका थिए। उनीहरुको यो खराब योजनालाई लुकाउने ठाउँ माक्र्सवादमा भेटे। नत्र देवता जस्तो दयालु भनिएको स्रष्टाले आफ्नै सन्तानलाई दलित बनाएर अपमानपूर्ण जीवन जिउन बाध्य पक्कै गर्दैनथे होला । त्यसैले यो संसारमा जति पनि धार्मिक, राजनैतिक, दार्शनिक खेलहरु छन् यो सबै मान्छेले आफ्नो अस्तित्व अरुमा थोपर्नुको लागि रचेको खेल हो ।
यहाँ सबै मान्छेले स्पष्ट भन्नुपर्छ – यहाँ हर मान्छेभित्र अस्तित्व छ। सबै मान्छे स्वार्थी छौं । सबै त्यागेको साधु सन्त सर्वहारा भनिएकाहरु झन् धेरै स्वार्थी छौं । किनकि स्वार्थ नभए सबै त्यागेको साधुहरु जुन धर्मको कार्यक्रममा जानुपर्ने नि तर त्यही सबै त्यागेको साधु चाहिँ आफ्नो धर्मभन्दा अरुमा जाँदैन। आफ्नो धर्म वा आफ्नो सोचाइलाई व्यापक बनाउनलाई नै उ सबै त्यागेर साधु भएको हो । त्यसैले सबै त्यागेको भन्नेहरु नै सबै भन्दा स्वार्थी र कट्टर हुन्छन् । सर्वहारा भनेको त केही निजी सम्पत्ति नभएको हो नि । उसले त जसले राम्रो कार्यक्रम ल्याउँछ त्यो पार्टीलाई सघाउनु पर्ने हो तर त्यही सर्वहारा चाहिँ सबै भन्दा कट्टर भएर पार्टीमा लाग्छ। उसले अंगालेको पार्टीले देश ध्वस्त गरिसक्दा पनि उ त्यही पार्टीमा झुण्डिरहेको हुन्छ । त्यो उभित्रको अस्तित्वले गर्दा त्यसो भएको हो। त्यसैले संसारमा सबै स्वार्थी छन् । पर्वतेमा हामी सबै स्वार्थी छौं भन्दा नराम्रो जस्तो सुनिन्छ, तर यसैलाई अंग्रेजीमा वा कुटनीतिक भाषामा हर देश, हर मान्छे, हर समूहको आ–आफ्नो ष्लतभचभकतक (स्वार्थ) हुन्छ भन्दा अलिक राम्रो जस्तो लाग्छ ।
सबै भन्दा पहिले संसारका जति पनि हामी मान्छेहरु छौं हामी सबैमा आ–आफ्नो अस्तित्व छ। आ–आफ्नो स्वार्थ छ, आ–आफ्नो interest (चासो) छ भनेर सहर्ष स्वीकार गरौं । म त सबै त्यागेको माक्र्सवादी पो त, म त सबै त्यागेको धार्मिक पो त, म त सबैको नेता पो त मेरो केही स्वार्थ छैन भनेर ढोंगी नहोउ, ढोंगी नबनौं। हामी सबैको अस्तित्व छ, स्वार्थ छ, चासो छ, हाम्रा यी अस्तित्व स्वार्थ चासोहरु एक आपसमा लडाईं गरिरहेका हुन्छन्। यी स्वार्थहरु एक आपसमा झगडा गरिरहेका हुन्छन् । सबै भन्दा पहिले हामी सबैको अस्तित्व, स्वार्थ, चासोहरु हुन्छन भनेर स्वीकार गरौं । यसरी नै ती अस्तित्व, स्वार्थ, चासोहरु एक आपसमा संघर्ष गरिरहेका छन् भनेर पनि स्वीकार गरौं र सबै भन्दा महत्वपूर्ण कुरा ती एक आपसका अस्तित्व, स्वार्थ, चासोहरुलाई सकेसम्म सहमति, सम्झौता, सहकार्य गरेर सबैको अस्तित्वहरु अटाउने ‘सह–अस्तित्व’ कायम हुने संविधानहरु निर्माण गरौं। यो बुझाई, यो प्रक्रिया नै ‘संघीय सह–अस्तित्ववाद’ पहिचानवादी विचारधारा हो ।
पहिचान (Identity) भनेको यस्तो चीज हो, जसलाई करोडौं टुक्रा बनाउँदा पनि त्यो त्यही नै रहन्छ। जस्तै सुनलाई करोडौं टुक्रा बनाउँदा पनि त्यो सुन नै हुन्छ । तर, पानीलाई करोडौं टुक्रा बनायो भने त्यो हाइड्रोजन र अक्सिजनमा परिणत हुन्छ। तामाङलाई विश्लेषण गरियो भने त्यहाँ बिभिन्न पार्टी मान्ने, बिभिन्न धर्म मान्ने, पार्टी र धर्मबारे फरक विचार राख्ने भनौं न बहुविचारको तामाङहरु पाइन्छन्। तर जुनसुकै धर्म, पार्टी मान्ने तामाङहरुले साझा रुपमा तामाङ भाषालाई प्रयोग गर्छन्, अनि तामाङ भाषालाई जति विश्लेषण गरे पनि त्यो तामाङ भाषा नै रहन्छ र अझ विशेषण गर्दै जाँदा तामाङ भाषाले आफ्नो उत्पत्तिस्थल तामाङसालिङ भूमिबारे चासो राख्न थाल्छ। तामाङ भाषा र तामाङसालिङ भूमिको सवालमा सबै तामाङहरु एकमत हुन्छन्, यो दुईवटा चीजमा कुनै तामाङले पनि विवाद गर्न सक्दैन। किनकि, यो तामाङ भाषा र तामाङसालिङ भूमि भनेको आधुनिक धर्म र आधुनिक राजनैतिक विचारहरु जन्मन भन्दा धेरै पहिले विकसित भएका विषयहरु हुन् ।
पहिचान (Identity) भनेको कुनै पनि समुदाय एकमत हुने विषय, जुन विषय हिजोआजको आधुनिक धर्म, आधुनिक राजनैतिक वाद, आधुनिक राज्य उत्पत्ति हुनु भन्दा धेरै पहिले बिकसित भएको हुन्छ। जुन विषयको सम्झनामा उक्त समुदायको प्रत्येक सदस्य गर्व गर्छ र उक्त विषयलाई आफ्नो जीवनको अभिन्न अंग सम्झन्छ। जुन विषयको सम्झनाले उक्त समुदायलाई सकारात्मक तरिकाले अघि बढन प्रेरणा दिन्छ। जुन विषयमा उक्त समुदायका सदस्यहरुले आफ्नो अस्तित्व, आफ्नो जीवन, आफ्नो interest देख्छन्, हो त्यो गौरवशाली विषय नै पहिचान (Identity) हो। अहिले नेपालको सन्दर्भमा लिम्बु भाषा र लिम्बुवान प्रान्त, खम्बु भाषा र खम्बुवान प्रान्त, शेर्पा भाषा र शेर्पा प्रान्त, तामाङ भाषा र तामाङसालिङ प्रान्त, नेवार भाषा र नेवाः प्रान्त, तमु भाषा र तमुवान प्रान्त, मगर भाषा र मगरात प्रान्त, खश भाषा र खशान प्रान्त, थारु भाषा र थरुहट प्रान्त, मधेशी भाषाहरु र मधेश प्रान्त, दलित शिल्पीहरुको लागि दलित शिल्पी गैर भौगोलिक प्रान्त, धिमाल भाषा र धिमाल स्वायत्त क्षेत्र, याक्खा भाषा र याक्खा स्वायत्त क्षेत्र, लेप्चा भाषा र लेप्चा स्वायत्त क्षेत्र … आदि नै पहिचानको मुख्य कडी हो ।

पहिचानवादीहरुले सशक्तरुपमा उठाइरहेका मागहरु ः
१. नेपालको भू–राजनीतिसँग पटक्कै मेल नखाने पुँजीवादी, साम्यवादी चिन्तनबाट देशलाई मुक्त गर्दै नेपालको माटो, नेपालको सामाजिक बनावटसँग मेल खाने ‘संघीय सह–अस्तित्ववाद, संघीय सामुदायिक समाजवाद, संघीय इको–इकोनोमी’ जस्ता समय सापेक्ष राजनैतिक आर्थिक दर्शनहरु देशमा लागु गरियोस् ।
२. संविधानको धारा २७४ लाई संशोधन गरी ७ प्रदेशको ठाउँमा पहिचानयुक्त एवं अधिकार सम्पन्न १०+१ प्रान्तहरु निर्माण गरियोस् । उक्त १०+१ प्रान्तभित्र सिमान्तकृत आदिवासीहरुको बिशेष स्वायत्त क्षेत्रहरुको व्यवस्था गरियोस् ।
३. राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गरियोस् ।
४. खसहरुलाई आदिवासीमा सूचिकृत गर, खशहरुको मस्टो संस्कृतिलाई मान्यता देउ, खस–आर्य क्लस्टरलाई खश र आर्य भनेर दुई वटा क्लस्टर निर्माण गर र १६.५% खशहरुको भाग १२% आर्यहरुले खाइरहेको बर्तमान संविधान संशोधन गर, खशान प्रान्त घोषणा गर ।
५. पुँजीवाद र साम्यवाद दुबैले दलित शिल्पीलाई कुनै मुक्ति दिन नसक्ने प्रष्ट भइसक्यो। यी दुईवटै वादहरुले दलित शिल्पी लगायत अन्य समुदायको जात थर हटाउन नसक्ने प्रमाणित नै भयो। कसैले जात थर हटाउन नसक्ने तर दलित शिल्पीहरुले त्यही जात थरको आधारमा नै कल्पना गर्न नसकिने अमानवीय अपमान ब्यहोर्न पर्ने हो भने सह–अस्तित्ववाद अनुसार अब दलित शिल्पीलाई पनि जातकै आधारमा दलित शिल्पी गैरभौगोलिक प्रान्तको व्यवस्था गरियोस् ।
अब, दलित शिल्पीले गणितको महत्वपूर्ण नियम, माइनस (–) ह माइनस (–) = + को सूत्र लागु गर्नेछन्। यो समाज, यो सत्ताले दलित शिल्पीहरुलाई जातकै आधारमा यति सारो अपमान गर्छन् भने अब यो देशको १३.५% दलित शिल्पीहरुले जातकै आधारमा गैरभौगोलिक प्रान्त जोडदार माग गर्छन्। अनि मात्र + को वातावरण आउँछ ।
६. प्रस्तावित १०+१ प्रान्तहरुमा र यी प्रान्तहरुभित्रको बिशेष स्वायत्त क्षेत्रहरुमा कार्य गर्ने सरकारी कर्मचारीको लागि सम्बधित मातृभाषामा अनिवार्य लोकसेवा आयोगको परीक्षा दिन पाउने ब्यवस्था गर ।
७. आइएलओ १६९ अनुसार जल, जमिन, जंगलजस्ता प्राकृतिक स्रोत साधनमा सम्बन्धित ठाउँको आदिवासीहरुको अग्राधिकार कायम गर।
८. केन्द्र र प्रदेशको चुनावमा मात्र होइन स्थानीय तहको चुनावमा पनि अनिवार्य समानुपातिक सिद्धान्त लागु गर ।
९. पहाडको सामाजिक, राजनैतिक, आर्थिक जीवनको हत्या गर्ने गरी (killing of mountainous villages) ५, ६ वटा गाबिसहरुलाई मिश्रण गरेर एउटै गाबिस बनाउने पुनर्संरचना तत्काल खारेज गर, पहाडहरुलाई मरुभूमि/मानवरहित निर्जन भूमि बनाउने कांग्रेस, एमाले, माओवादीको षडयन्त्र खारेज गर, पहाडहरुको हत्यारा (killers of the mountains) कांग्रेस र कम्युनिस्टहरुलाई दण्ड देउ ।
१०. प्रदेश/प्रान्त सरकारलाई कमजोर बनाउने सम्पूर्ण षडयन्त्रहरु बन्द गर ।
११. प्रदेशको नामाकरणहरु पहिचानको आधारमा गर। कुनै प्रदेशमा जबर्जस्ती नाम राख्ने तर कुनै प्रदेशमा आउने १० वर्षसम्म नाम राख्न नसक्ने अवस्था आयो भने यो देश कहिले साम्य नहुने द्वन्द्वमा फस्नेछ । प्रदेश नं. १ को ऐतिहासिक लिम्बुवान, खम्बुवानलाई सिध्याएर कोशी, सगरमाथा बनाउने नाम राख्ने हो भने यो कुनै हालतमा मान्य हुने छैन ।

(लेखक :-संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष हुन्)

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...