
संखुवासभा , २४ जेठ । किरात याक्थुङ चुम्लुङ, सभापोखरीको आयोजनामा यहीँ जेठ २० गतेदेखि २५ गतेसम्म ‘केलाङ प्रशिक्षण तालिम–२०७९’ बाह्रबिसे बजारमा सञ्चालन भइरहेको छ ।
लिम्बू जातिको विशिष्ट सांस्कृतिक नृत्य केलाङ जसलाई खस भाषामा च्याब्रुङ नाच भन्ने गरिन्छ, यस नृत्यको संरक्षणका लागि कियाचु, सभापोखरीले आफ्नो गाउँपालिकाका ६० भन्दा धेरै लिम्बू युवायुवतीहरुलाई एक दिनमा तिन चरणबाट प्रशिक्षण दिइरहेको छ ।

लिम्बू आख्यान अनुसार धान नाचको उत्पत्ति आदिम कृषि युगमा पाकेको धानलाई चराबाट जोगाउन तथा परालबाट धान छुट्याउनका लागि खलामा नाचिने सामूहिक नाचको विशिष्ट स्वरुप नै आजको धान नाच हो भनिन्छ । केलाङ नृत्यमा नृत्य, वादन र गायन समेत गरिन्छ । यस प्रशिक्षणबाट आधुनिक समयका लिम्बू युवाहरूलाइ आफ्नो संस्कृति जोगाउन सहयोग मिल्ने अपेक्षा राखेको कियाचु अध्यक्ष मदन सेरेङ मादेनले बताए ।
संखुवासभाको यस क्षेत्रमा आवाद सेरेङ मादेन, हाङगाम, सावाँ र स्थानीय वनेमहरु केलाङ प्रशिक्षणमा उत्साहित भएर भाग लिइरहेको मुख्य प्रशिक्षकको रुपमा कियाचु केन्द्रीय सचिव तथा वरिष्ठ गायक÷कलाकार यासेली योङहाङले जानकारी दिएका छन् ।