
दमक/ झापाको शिवसताक्षी १० दोमुखाबाट लागुऔषध कारोबारमा संलग्न दमकका दुई जनासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार अपरान्ह करिब ४ बजे गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ईलाम माई ८ का २५ बर्षिय सुजेन्द्र राई, झापा कन्काई ३ का ४३ बर्षिय बेनु प्रसाद चिमरिया सोही ठाउँका ३२ बर्षिय हेम नारायण चौधरीलाई ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ १७ ग्रामसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ८८ हजार ५००, दुई थान मोबाइल तथा मे ५ प ५९९८ , प्रदेश १ –०१–०१३ प २५५८ र मे ४ प १६९५ नम्बरका मोटरसाइकलहरु समेत फेला पारेको छ ।
उनीहरुमाथि थप अनुसन्धानका क्रममा दमक १० का २८ बर्षिय सुजन राई र २५ बर्षिय सुरज तामाङलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राई र तामाङलाई माईधारबाट को ६ प ६९४८ नम्बरको मोटरसाइकल रोकेर बसेको अवस्थामा पक्राउ गरेको जनाइएको छ । दोमुखा र माइधारमा भेटिएका ति दुई समुहका बीचमा लागुऔषध कारोबारका लागि सम्पर्क रहेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाई छ । उनीहरु पाँचै जनालाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर आइतबार झापा जिल्ला अदालतबाट १० दिनको म्याद थप आदेश लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।