काठमाडौं ,२२ असार। हरेक १० बर्षमा हुने राष्ट्रिय जनगणना ८ असार २०७८ मा सम्पन्न हुनुपर्नेमा आगामी १ असोजदेखि १५ गते सम्म हुने गरी प्रस्ताव गरिएको छ । केन्द्रीय तथ्यांक विभागले जनगणना सम्पन्न हुनुपर्ने गरी तोकिएको समयभन्दा धेरै पर सार्न नहुने गरी जनगणनाको मूलगणना १ असोजदेखि १५ असोजसम्म गर्न प्रस्ताव गरेको हो ।
केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणनाको मिति तोक्ने काम मन्त्रिपरिषद्ले गर्नेछ । ‘सम्भवतः एक साता भित्र नयाँ मिति घोषणा हुन्छ,’ उनले भने । उनका अनुसार विगतमा वर्षायाम शुरु नभएको अवस्थामा जेठ अन्तिमसातादेखि असार पहिलोसाता भित्र नेपालमा जनगणना हुँदै आएको छ ।
यसरी हुने जनगणनाका दौरान नेपालको सबै भूभागमा गणक पुग्न सहज हुन्छ । तर, यो पटक कोरोना भाइरसको महामारीका कारण तोकिएको समयमा जनगणना हुन सकेन । सोहीकारण जनगणना अनिश्चित कालका लागि बन्द गरिएको थियो ।
तर, विभागले भने महामारी केही कम भएको भन्दै साउनबाटै तयारी थाल्ने बताएको छ । मूल गणना १ असोजबाट थालेर १५ दिनसम्म चलाउने तयारीका साथै सरकारले एक साता भित्रै मिति तोक्ने विभागले जनाएको छ ।
मिति तोकेपछि गणक भर्ना गरिनेः
३९ हजार भन्दा बढी गणकले घरघर पुगेर जनगणना गर्छन् । यो काम १५ दिनमा सकिसक्नु पर्छ । सरकारले जनगणनाको मिति तोक्नासाथ विभागले गणक भर्नाको काम समेत पुरा गर्ने छ । त्यसअगाडि सुपरभाइजरसहितका विभिन्न तहका कर्मचारीलाई तालिम दिने र आवश्यक सामग्री पु¥याउने काम भने यसअघि नै सकिएको छ ।
जनगणना यसअघि २५ जेठबाट शुरु गरी ८ असारमा सक्ने लक्ष्य थियो । तर, वैशाखको पहिलो साताबाटै कोरोना भाइरसको महामारी फैलिएपछि जनगणना अभियान रोकिएको थियो ।
जनगणना असोज भित्र सक्ने तयारी शुरु गर्दै विभागले गणकलाई पहिलो प्राथमिकतामा खोप लगाउनु पर्ने जनाएको छ । यसो गरेमा गणक र घरपरिवारमा जोखिम कम हुने विभागको भनाइ रहेको छ ।
नेपालमा वि.सं १९६८ सालबाट जनगणना शुरु भएको हो । हालसम्म दुई पल्ट रोकिएको छ । पहिलो पल्ट २००७ सालको क्रान्तिले २००८ सालको जनगणना रोकिएको थियो ।
कोरोना महामारीका कारण अहिले दोस्रो पटक प्रभावित भएको हो । यद्यपी सालको अन्तिम अंक ‘८’ कायम नै रहँदा हरेक १०÷१० वर्षको आवधिक तथ्यांकमा फरक नपर्ने भएकाले यो वर्षभित्रै जनगणना सक्ने विभागको जोडबल रहेको छ ।