
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार) साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा त्रृटिपूर्ण भई संविधानको धारा उल्लेख गर्न छुटेकोमा देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए । सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो ।
त्यसपश्चत पुनः राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् । देउवा यो सँगै पाँचौ पटक प्रधानमन्त्री बनेका हुन् । यसअघि उनी चारपटक प्रधानमन्त्री भईसकेका छन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । देउवाले आफ्नो दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट २–२ जना मन्त्री नियुक्त गरेका छन् ।
कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री बनेका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा (प्रभाकर) अर्थ मन्त्री बनेका छन् भने पम्फा भुसाललाई ऊर्जामन्त्रीको जिम्मेवारी दिएका छन् ।
नवनियुक्त चारैजना मन्त्रीले आजै नै पद तथा गोपनीयताको शपथ लिएका छन् । जसपा उपेन्द्र पक्षले भने थप छलफल गरेर मात्र सरकारमा सहभागी हुने जनाएको छ । कसलाई मन्त्रीमण्डलमा पठाउने टुंगो लाग्न बाँकी रहेको स्रोतले बताएको छ ।