
मोरङ्। मोरङको मिक्लाजुङ ५ सोल्टी खोलामा बनेको पुल साढे ३ वर्षमा पनि नबनेपछि अलपत्र परेको छ । सो पुलको लागि आएको सरकारी बजेट उपभोक्ता समितिले कागजपत्र मिलाएर सकेपछि पुल अलपत्र बनेको हो ।
पटकपटक गरी १ करोड २० लाख रुपैयाँ खर्च गरी सकेको सोल्टी खोलाको आरसीसी पुलले उत्तर–पूर्वी मोरङको साविकको जाँते ३ को धानखेतीसँग सोही गाउँका गुप्ती र खोलीटारलाई जोड्छ ।

प्रदेश सरकार गठन भएको वर्ष दिन नबित्दै प्रदेश सांसद कुलप्रसाद साम्वाको अगुवाइमा तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पुलको शिलान्यास गरेका थिए । स्थानीय तीन वटा सामूदायिक वन र गाउँपालिकाको साझेदारीमा निर्माण गर्ने तय भएको पुलका लागि प्रारम्भिक चरणमा गाउँपालिकाका प्राविधिकले ७० लाख रुपियाँ खर्च हुने अनुमान गरेका थिए ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार गाउँपालिकाले ३० लाख र ५ नं. वडा कार्यलयबाट ५ लाख विनियोजन गर्ने कार्यक्रम तय भएपछि पुल निर्माण सुरु भएको हो । त्यसैगरी वरडाँडा सामूदायिक वनले १० लाख रुपियाँ, गौमति सामूदायिक वनले १० लाख र धानखेती सामूदायिक वनले ५ लाख रुपियाँ पुल निर्माणका लागि बिनियोजन गरेका थिए ।
पुल निर्माणमा नपुग रकम गाउँपालिकाले थप्ने योजना अनुसार पुल निर्माण कार्यक्रम प्रारम्भ भएको थियो । तर, शिलान्यासका क्रममा मन्त्री आङ्बोले ५० लाख रुपियाँ प्रदेश सरकारले दिने घोषणा भएपछि स्थानीयवासी पुल बन्नेमा आशावादी थिए । सोही क्षेत्रका प्रदेश सदस्य साम्बाले सो रकम आउने प्रतिबद्धता समेत जनाएका थिए ।
अहिले पुल निर्माण हुन थालेको साडे ३ वर्ष भयो । यो तीन बर्षमा ३ जना उपभोक्ता समितिको अध्यक्ष बने यद्यपी पुल बन्न सकेको छैन । शिलान्यासको बेला स्थानीय टेकबहादुर राई उपभोक्ता समितिको अध्यक्ष बने त्यसको दुई महिना पछि अर्का अध्यक्ष बुद्धिमान श्रेष्ठ बने । उनको पालामा खोलाको दुई तर्फ पिल्लर लगाएर ८८ लाख रुपैयाँ खर्च भएको बताए । प्रदेशसरकारबाट पनि २८ लाख रुपियाँ मात्र प्राप्त भएको उनले बताए । अध्यक्ष श्रेष्ठले भने– सचिवले जे जेमा हस्ताक्षर गर भने मैले त्यसैगरे । मलाई भन्दा धेरै कुरा सचिवलाई थाहा छ । सचिव शंकर बजगाईलाई पटकपटक फोन गर्दा समेत सम्पर्कमा आएन चाहेका छैनन् । अहिले समितिको अध्यक्षमा भिमप्रसाद गौतम रहेका छन् ।
त्यस क्षेत्रका सरोकारवालाहरुले पुल निर्माणमा अनियमितता गर्नेहरुलाई तत्काल कानुनी दायरा ल्याउन सम्बन्धित निकायमा पहल गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले पुल निर्माणमा अतियमितता भयो भनेर भनीरहँदा पनि सरकार मौन रहेको आरोप लगाएका छन् ।
पालिका अध्यक्ष आचार्य भने– इन्जिनीयरले दुई तर्फको पिल्लरको दुरी ७० फिट भन्दा लामो भएको अवस्थामा बीचमा अर्को पिल्लर नराखी ढलाई हाल्न नसकिने बताएपछि निर्माण कार्य रोकिएको हो । सुरुको इष्टमेटमा बीचमा पिल्लर थिएन, पछि बीचमा पिल्लर नराखी पुल ढलाई गर्न नसकिने भएपछि अध्यक्ष स्वयम् अनभिज्ञ छन् ।

यतिबेला सोल्टी खोलामा बनेको छ सेल्फी पुल
पुल नबनेपछि यति बेला सेल्फी पुल बनेको छ । जङ्गलबाट अजङ्गका दुई वटा ४८ इन्ज गोलाईका सालका रुख ढालेर दुईपट्टिका पिल्लरमा तेर्साइएको छ । ७० फिट लम्बाईको पुलमा तेर्साइएका तिनै रुख माथि ९ फिट लम्बाई र डेढ ईन्च बाक्ला सालका तखती लगाएर पुल निर्माण गरिएको छ । टेम्पो, मोटरसाइकल सम्म गुड्न सक्ने पुलको बीचमा अर्को झण्डै ५० इन्ज गोलाई भएको सालको रुख ठड्याएर पिल्लर बनाइएको छ । पुलको दुबै तर्फ काठकै बेरा लगाएर रङ्ग रोगन समेत गरिएको छ । स्थानीयले अहिले त्यो पुललाई सेल्फी पुल भन्न थालेका छन् ।
ठाडा रुख काट्ने विरुद्ध मुद्दा चलाउँछौं – डिभिजनल बन अधिकृत साह
पुल आवश्यकता एउटा कुरा हो । झट्ट हेर्दा कसैले पनि त्यहाँ पुल नबनोस भन्दैन । वर्खायाममा धन्न पुल बन्यो भन्ने धेरै छन् । तर मानवीय सम्वेदना देखाएर सालका हरिया रुख ढालेर पुल बनाउनु किमार्थ राम्रो काम होइन । सरकारी बजेटको हिसाब छैन । आर्थिक अनियमितता गर्नेहरू खुलेआम हिडिरहेका छन । उनीहरूलाई कानुनी कठघरामा ल्याउनुको साटो धन्न काठको भए नि पुल बनाए भनेर बचाउ गर्न खोजेको देखिन्छ ।
बन ऐन अनुसार अनुसार लढापडा र सुख्खा खडा बाहेक अरु रुख काट्ने अधिकार कसैलाई हुँदैन । मोरङका प्रमुख डिभिजनल बन अधिकृत अनिरुद्रप्रसाद साहले तत्काल अनुसन्धान गरेर दोषी माथि मुद्दा दायर गर्ने बताएका छन् । शाहले कुनै पनि वन पैदावर कटान, छपान र बिक्री गर्न डिभिजनल वनको स्वीकृति चाहिने बताए ।