मुन्धुमी मिथक नाटक ‘सिमिक्वा’को आज अन्तिम मञ्चन हुँदै

 लिम्बुवान न्युज
                       


दमक, ३२ असार । दमकस्थित कदम थिएटरमा असार २७ गते देखि प्रदर्शन हुँदै भईरहेको किरात धर्मग्रन्थ मुन्धुममा वर्णित सिमिक्वा (सिबिउ) चरीको पुराकथामा आधारित नाटक ‘सिमिक्वा’ को आज अन्तिम मञ्चन हुँदैछ ।
ढुङ्गे युगमा एक जंगलको ओडारमा वृद्धा आमा र किशोरी छोरी जीवनयापन गरिरहेका हुन्छन्। साँझ–बिहानको गर्जो टार्न आमा च्याउ र कन्दमूल खोज्न जंगल जान्छिन्। सिमिक्वा (छोरी) चञ्चले छिन्। बाँसको धिरीमा पानी जोहो गर्नु, वनमा ऐंसेलु लगायतका फलफूल टिपी खानु सिमिक्वाको दैनिकी हुन्छ ।


एकदिन सिमिक्वाले आमालाई दिनहुँ च्याउ खाँदा दिक्क लागेको सुनाउँछिन् । छोरीको खुशीका निम्ति आमा गिठ्ठा‚ भ्याकुर खोज्न जंगल जान्छिन् । साँझमा घर फर्किन्छिन् । थकान र तिर्खाले लखतरान भएकी उनले छोरीलाई पानी माग्छिन् । यहीवेला उनको आँखा अघिल्लो दिन जम्मा गरेको च्याउमा पर्छ । च्याउ अघिल्लो दिनभन्दा धेरै नै कम देख्छिन् । त्यसैले च्याउ राम्रो हेरचाह नगरेकाले चरा, मुसाले खाएको भनी उनले छोरीलाई गाली गर्छिन् ।
सिमिक्वाले आफ्नो गल्ती नभएको बताउँछिन् । छोरी मुखमुखै लागेको देखेर आमा क्रुद्ध हुन्छिन् र सिमिक्वालाई एकदुई लपेटा हान्छिन्, सराप्छिन् । सिमिक्वाको माङगेन्ना (शिर) ढल्छ । उनी रुन्छिन्, कराउँछिन् र अन्त्यमा घर छाडेर जान्छिन् ।
भोलिपल्ट सिमिक्वाका निम्ति आमाले गिठ्ठा भ्याकुर खोजेर ल्याइदिन्छिन् तर छोरी घरमा हुँदिनन्। यही वेला च्याउ हराएको नभई घामले सुकेर थोरै भएको उनले थाहा पाउँछिन् । सिमिक्वा निर्दोष भएको थाहा पाएपछि पश्चातापले जल्छिन् । छोरी खोज्दै जंगल, भीर, पाखा र खोला किनार चहार्छिन् । यसै क्रममा खोलाले बगाएर आमाको निधन हुन्छ ।
मृत्युपछि उनको आत्मा सिमिक्वा चरीको रूप लिएर छोरीलाई खोज्दै हिँड्छ । आज पनि सिमिक्वा चरी कराएमा अपशकुन हुने किरात लिम्बू समुदायमा विश्वास छ। नाटकमा ढुङ्गे युगको सेटिङमा आमाछोरीको प्रेम र वियोगको कथालाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरेका छन्‚ निर्देशकद्वय वनेमविक्रम फागो र चेतन आङथुपोले । तङसिङ र येबाको उपस्थिति गराएर पुराकथा र संस्कृतिको सम्बन्ध स्थापित गर्ने प्रयास गरेका छन् । नाटक लिम्बू भाषामा छ ।
नाटकमा नयाँ कलाकार मीना नेम्बाङ र पासाङ ल्हामु शेर्पाको अभिनय तारिफ योग्य छ। यसका साथै वनेमविक्रम फागो, मनकुमार योङहाङ, शिखर लाम्गादे र सविरन लाम्गादेको सशक्त अभिनयले नाटकलाई जीवन्त बनाएको छ। लिम्बू समुदायमा प्रचलित हाम्लक्वा (कसैको मृत्यु हुँदा शोक व्यक्त गर्दै लय तानेर रुने) लाई पृष्ठभूमि संगीतका रूपमा प्रस्तुत गरिएको छ। जसले नाटकको दुःखान्तक परिवेशलाई जीवन्त बनाइराखेको छ।
नाटकको कथा संकलन शिवकुमार श्रेष्ठ र नाट्य रूपान्तरण सुमन लिङ्देनले गरेका हुन्। सिमिक्वाको भाषा अनुवाद डिल्ली मुसाहाङ अम्याङसाको र वेषभूषा राजकुमार आङदेम्बेको रहेको छ ।
नाटक सिमिक्वाको आज अन्तिम प्रदर्शन हुने प्रस्तोता चुलाचुली रङ्गमञ्चले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...