ललितपुर, ३२ असार । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ ।
सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएको हो ।
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको थियो । सोही बमोजिम संसदीय दलको बैठकबाट आज समर्थन फिर्ताको औपचारिक निर्णय गरिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
यस अघि नै नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
गत वर्ष ३१ असारमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदा नेपाली कांग्रेस, नेकपा एमाले सहित ७ राजनीतिक दलका १८८ जनाले सरकारलाइ समर्थन दिएकाे थियो । यो भनेको प्रतिनिधि सभाको दुई तिहाइ हो ।
यसलाई देखाएर प्रधानमन्त्री ओलीले आफूसँग खरानीको डल्लो नभएर प्रतिनिधि सभाको दुई तिहाइ रहेको बताउने गरेका थिए । तर ५ सांसद रहेको जसपा नेपाल र ४ सांसद रहेको नाउपा बाहिरिएसँगै प्रतिनिधि सभाको दुई तिहाइ गुमेको हाे ।
राष्ट्रिय सभामा त सत्तारुढ दलहरू अब अल्पमतमै पर्ने भएकाे छ । ३ सांसद रहेको जसपा नेपालको साथ नपाउँदा यसअघि नै राष्ट्रिय सभामा सत्तारुढ अल्पमतमा परेको थियो ।
५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेससँग १६ र एमालेसँग ११ सिट मात्र छ । सरकारमा रहेको अर्को दल लोसपासँग एक सिट छ । यो संख्या जोड्दा २८ मात्र हुन्छ ।
तर विपक्षमा भने बहुमत जुटेको छ । माओवादीसँग १७, एकीकृत समाजवादीसँग ८, जसपा नेपालसँग ३ र राष्ट्रिय जनमोर्चासँग एक सिट छ । राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले पनि एकीकृत समाजवादीमा प्रवेश गर्ने निर्णय गरेका छन् ।