लिम्बुवानखबर । नेकपा एमालेबाट अलग भई नयाँ पार्टी दर्ता गरेका माधव नेपालको समूहलाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । नेपाल नेतृत्वले गनठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले दलको मान्यता पाएको हो ।
नेकपा एमालेमा २ कार्यकाल महासचिव भएका एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई आयोगले बुधबार दल दर्ताको प्रमाणपत्र दिएको छ ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश संसोधन गर्दै संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न पाउने अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् भने केन्द्रीय सदस्य भास्कर काफ्ले र रविन कोइराला सनाखतका लागि निर्वाचन आयोगमा उपस्थिति भएका थिएनन् ।
एमाले केन्द्रीय कमिटी २०३ जनामा हाल १९१ जना बहाल भएको हुँदा सोही बमोजिम दल दर्तागर्न केन्द्रीय कमिटीको २० प्रतिशत पुगेको नेता राजेन्द्र पाण्डेले बताए । त्यसमध्ये ५६ जना उपस्थित भएर सनाखत ग¥यौं, ‘नेता पाण्डेले भने, ‘त्यसअनुसार निर्वाचन आयोगले हामीलाई दलको प्रमाणपत्र दिएको छ ।’
यस्तै ३० जना संघीय संसदले नेकपा एकीकृत समाजवादी रोजेको नेता पाण्डेले जानकारी दिए । आयोगको अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ ।
२३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित एमालेमा माधवकुमार नेपाल समूहले लगातार समानान्तर गतिविधि गर्दै आएको थियो । यद्यपी यो समूहमा रहेका १० स्थायी कमिटीसहित केही केन्द्रीय सदस्य र संघीय संसदको एउटा पक्ष भने संस्थापन पक्ष मै रहने भएको छ ।
