आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

 लिम्बुवान खबर
                       

उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन्

महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ ।

व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी भोलि (बिहीबार) बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि (शुक्रबार) बिहान व्रत सम्पन्न गर्नेछन् । सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, वरुणसागर, भार्गवसागरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन्

व्रत बस्नु अघिल्लो दिनमै (आज) बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेल सहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ ।

आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ । त्यसैगरी विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरु ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात केही खानेकुरा ओठमा लगाउनुपर्छ तर यसपल्ट ओंगठन खाने साइत छैन । यसपटक आज राति १० बजेभन्दा अगाडि नै व्रतीहरुले खानुपर्ने सबै खानेकुरा खाइसक्नुपर्छ र भोलि बिहान केही खाँदैनन् ।

प्रायः जसो महिलाले ओंगठनमा दही च्युरा खाने गरेको पाइन्छ । त्यसपछि शुरु हुन्छ कठिन उपवासको क्रम । आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष कठिन रहेको जलेश्वरका पण्डित कालिकान्त झा बताउँछन् ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक ध्रुव राय भन्छन्, “यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ ।’ पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ । (अनलाइन खबरबाट)

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...