
लिम्बुवानखबर, २६ भदौं । संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा छिमेकी एक जना युवक पक्राउ परेका छन् । सोमबार एकैपरिवारका ६ जनाको हत्या गरेको आरोपमा आज (शनिबार) बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ति पक्राउ परेका युवक मृतक तेज बहादुर कार्कीको नातामा भतिजो पर्ने बुझिएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाको अनुसार पक्राउ परेका आरोपी कार्कीलाई आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ यद्यपी उनको पूरै परिचय भने खुलाएको छैन ।
आरोपी कार्कीको मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि समेत खाइरहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शंकाको घेरामा थिए । साथै, उनको घरभित्र रगत लागेको सर्ट पनि भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अब आरोपी कार्कीले लगाएको सर्टको रगत र मृतकको डिएनए परीक्षणपछि मात्र आरोपीलाई सार्वजनिक गरिने प्रहरीले जनाएको छ । संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको हुँदा हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने बताए ।
प्रहरी स्रोतका अनुसार हत्यामा एक व्यक्तिको मात्रै संलग्नता पाइएको छ । सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या भएको स्रोतको दाबी छ ।
छ दिन अघि गत सोमबार मादी–१ खोलगाउँका एकै परिवारका ६ जनाको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमान कार्कीका श्रीमर्ती ८४ वर्षीय पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी श्रीमती कमला कार्की, नातिनीबुहारी ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय पनाति विपिन कार्की र ५ वर्षीय पनातिनी गोमा कार्कीको हत्या भएको थियो ।