
धनकुटा, १० असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल धनकुटा जिल्लाले आजबाट क्रियासिल कार्ड वितरण शुभारम्भ गरेको छ । मञ्चका प्रान्तीय उपमहासचिव चन्द्रसिं नेम्बाङले प्रान्तीय सचिवालय सदस्य कमलसिंह तिगेलालाई कार्ड वितरण गर्दै जिल्लाले क्रियासिल कार्ड वितरण शुभारम्भ गरेको हो ।

मञ्चको जिल्ला समिति कार्यालयमा भएको केन्द्र र जिल्लाका नेताहरुको भेलाले जिल्लाको सात वटै स्थानीय पालिकाहरुमा आगामी कार्तिक १५ गतेसम्ममा अधिवेशन सम्पन्न गर्दै क्रियासिल वितरण समेत गरिसक्ने जिल्लाका नेताहरुले प्रतिबद्धता जनाएका छन् । मञ्चको केन्द्रीय महाधिवेशन पूर्व नै कार्तिक मसान्तसम्ममा जिल्ला अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने जिल्ला अध्यक्ष कविर लिम्बुले बताए ।

आजको भेलामा मञ्चका प्रान्तीय उपमहासचिव चन्द्रसिंह नेम्बाङ, उपमहासचिव तथा संचारविभाग प्रमुख दिल कुमार लावती, सचिवालय सदस्य सजन याक्खा, कमलसिं तिगेला, प्रान्तीय सदस्य गुरुप्रसाद लिम्बुको उपस्थिति रहेको थियो । आजको भेला जिल्ला अध्यक्ष कविर लिम्बुको सभाध्यक्षतामा भएको थियो ।

यसैगरी आजको उक्त भेलामा मञ्चको विधान, घोषणापत्र र दर्शनलाई आत्मासाथ गर्दै चौविसे गाउँपालिकाका सामाजिक व्यक्तित्व विनोद चेम्जोङ् लिम्बुवानमा प्रवेश गरेका छन् । नवप्रवेशी नेम्बाङलाइ प्रान्तीय उपमहासचिव लावतीले पार्टीको साधारण सदस्यता प्रदान गर्दै मञ्चमा स्वागत गरेका थिए ।